निरन्तर कवितामा साधनारत कवि शान्ति प्रियवन्दनाको भर्खरै ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ कविता संग्रह प्रकाशित भएको छ । जसले उत्तम काव्य पुरस्कार प्राप्त गर्न सफल पनि भयो । उनै कवि शान्ति प्रियवन्दनासँग मिडिया दर्पणले गरेको कविता वार्ता यहाँ प्रस्तुत छ :
१) ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ कविता संग्रह लिएर पाठकमाझ आउनुभयो । जसले उत्तम काव्य पुरस्कार प्राप्त गर्न सफल पनि भयो । कतिको उत्साहित हुनुहुन्छ ?
मेरो पहिलो कृति ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ ले उत्तम काव्य पुरस्कार प्राप्त गर्दै गर्दा अत्यन्त खुशी लागेको छ । सर्जकलाई आफ्नो सिर्जनाले पुरस्कार प्राप्त गर्दा खुशी लाग्नु स्वाभाविक हो । उत्साही पनि छु प्राप्त पुरस्कारले हौसला बढाएको छ । पहिलो कृतिले पुरस्कार प्राप्त गर्दै गर्दा खुशी सँगसँगै चुनौती पनि थपिएको भने मैंले महसुस गरेको छु ।
२) कवितामा अचेल उही शैली, उही भाव, उही सन्दर्भ दोहोरिइरहेकाछन् भन्छन्, तपाईंले यसलाई कसरी लिइरहनु भएको छ ?
सर्जकहरु दुरदर्शी हुनुपर्छ भन्ने कुरामा म पनि विश्वास गर्छु तर मलाई लाग्छ सर्जकले आफू बाँचेको समय लेख्ने हो । आफू बाँचेको समयमा आफूले भोगेका घटनाहरु सिर्जना मार्फत प्रस्तुत हुन्छन् । देशको सामाजिक, आर्थिक, राजनितिक घटनाक्रमहरुमा भोगेका घटनाहरुलाई नै सर्जकले साहित्यको विविध विधा मार्फत प्रस्तुत गर्ने गर्दछन् । लगभग हामी सर्जकहरुले बाँचेको समाज एउटै हो । भोगेको राजनैतिक व्यवस्था पनि एउटै हो । देशमा छिट्टो छिट्टो राजनैतिक व्यवस्थामा परिवर्तन आएको छ तर जनताको जीवन स्तरमा परिवर्तन आउन सकेको छैन । हुनेखानेहरुको जीवनस्तर झनझन राम्रो हुँदै गइरहेको छ भने हुँदा खानेहरुको जीवनस्तर झनझन दयनिय हुँदै गइरहेको छ । सर्जकहरु राजनीतिक व्यवस्थामा परिवर्तन आए जस्तै जनताको सामाजिक, आर्थिक व्यवस्थामा पनि परिवर्तन आवस् भन्ने चाहन्छन् तसर्थ तपाईले भने जस्तै कवितामा अचेल उही शैली, उही भाव, उही सन्दर्भ दोहोरिइरहेकाछन् भन्नुको पछाडि पीडा एउटै भएकोले आवाज उस्तै निस्केको हो भन्न सकिन्छ ।
३) लामो समयको अन्तरालमा कविता संग्रह लिएर आउनु भयो । तपाईंको कविता संग्रह ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ अहिलेको समयमा निकै चर्चा बटुलिरहेको छ । नेपालमा कविता लेखेर मात्रै साहित्य क्षेत्रमा टिकिरहन सकिन्छ भन्ने लाग्छ ?
साहित्यले सामाजिक परिवर्तनमा उल्लेखनिय भूमिका खेल्दछ भन्ने मलाई लाग्दछ । कविता लेखेर साहित्यमा टिकिरहन अवस्य सकिन्छ तर ती कविताहरु ती व्यक्तिहरु समक्ष पनि पुग्न जरुरी छ जसको बारेमा या जसको लागि प्रस्तुत कविता लेखिएको हुन्छ ।
४) कविताको क्षेत्रमा के गर्न पाएँ हुन्थ्यो भन्ने लाग्छ ? अझै पनि केको कमी देख्नु भएको छ ?
कविताको क्षेत्रमा धेरै ठूलो कुरा गर्नु पाए हुन्थ्यो भन्नु भन्दा पनि सबैभन्दा पहिले कविताका पाठकहरु या स्रोताहरु बढाउन र कविता कृति किनेर पढ्ने र किनेर सुन्ने बानीको विकास गराउन सके हुन्थ्यो भन्ने लाग्छ ।
५) तपाईंको कवितामा पाठकले खोजेझैं नयाँ के के पाउन सकिन्छ ?
कविताका पाठकहरु आ-आफ्नै हुन्छन् । मेरा कविताका पाठकहरु पनि छन् । कवितामा मैंले धेरैको आँखामा पर्न नसकेको साना-साना विषयहरुलाई उठान गरेको छु । ती विषयवस्तुहरु कतिपय मेरो आफ्नै भोगाइका हुन् भने कतिपय विषयवस्तुहरु मैंले प्रत्यक्ष देखेका र भोगेका र अनुभव गरेकाछन् । मेरो कवितासङ्ग्रहमा विषयको विविधता छ ।
६) कोरोनाकाल पछि साहित्यको बजार बिस्तारै सेलाउँदै गएको भन्नेछ, तपाईंलाई कस्तो लाग्छ ? यतिबेला आख्यानले समेत बजार नपाइरहेकाबेला कवितासँग कतिको आश गर्न सकिन्छ ?
कोरोनाकाल पछि साहित्यको बजार बिस्तारै सेलाउँदै गएको सत्य हो तर आजभोली विस्तारै फस्टाउन थालेको छ भन्ने मलाई लाग्छ । बजार तपाईँले भने जस्तो आख्यानको पछाडी कुदिरहेको छ त्यो मैंले पनि देखेकोछु । सङ्ख्यामा कमी होला तर कविताका पनि पाठक छन् । एउटा कविताले समेत गतिलो आख्यान बोकेको हुन्छ तसर्थ बजारको पछाडी लागेर कवितालाई कम आङ्कलन भने गर्नु हुँदैन ।
७) आर्थिक मन्दीले विश्व चपेटामा परेकोबेला नेपालमा अबको समयमा पठनसंस्कृतिलाई संरक्षण गर्दै अघि बढाउनका लागि केके कदम चाल्नुपर्छ जस्तो लाग्छ ?
सबैभन्दा पहिले लेखक तथा पाठकहरु बजारको पछी लाग्नु भएन । लेखकले सिर्जना गर्दै गर्दा बजारमा के बिक्छ भन्नु भन्दा पनि कसरी मौलिकता प्रदान गर्दै गुणस्तर सिर्जना बजार मार्फत पाठक समक्ष पुर्याउन सकिन्छ भन्ने कुरामा सचेत हुन सक्नु पर्छ । त्यस्तै गरेर पाठकले पनि गुणात्मक कृतिहरुको छनोट गर्न सक्नुपर्छ । पठन संस्कृतिको लागि अनुवाद संस्कृतिको पनि उतिकै विकास हुन जरुरी छ जसले गर्दा विश्ववजारका उत्कृष्ठ सिर्जनाहरु सम्म नेपाली पाठक तथा सर्जकको पहुँच पुग्न सक्दछ ।
८) तपाईंले भर्खरै उत्तम काव्य पुरस्कार हात पार्नु भएको छ, यसरी पुरस्कृत हुँदा र नेपाली कविताको उही पूरातन अवस्थामा तपाईंको अनुभवमा नेपाली कविताको अवस्था वा स्थान कस्तो देख्नुहुन्छ ?
नेपाली कविताको लेखन प्रारम्भ भक्ति गाथा, विर गाथा, स्तुति गाथाबाट सुरु भएको हो भनेर हामीले पढेका छौं । पूरातन कविताहरु व्यक्ति विशेषलाई खुशी पार्नको लागि लेखिन्थ्यो के अहिलेका कविताहरु पनि त्यस्तै छन् त ? म तपाईँलाई नै प्रश्न गर्छु । पुरातन भनेको आदिकालको, अतितको, प्राचिन या पुरानो भन्ने हुन्छ अहिलेका कविताहरु त्यस्ता छैनन् मलाई लाग्छ । अहिलेका कतिपय कविताहरुले व्यवस्था बदल्न सक्ने सामर्थ्य राख्दछ ।
९) ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ समाज प्रतिको यथार्थलाई सजिलैसँग व्यङ्ग गर्न सक्ने उम्दा कविताहरु रहेको कुरालाई नकार्न सकिन्न । समाज परिवर्तनको लागि ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ ले कतिको भूमिका खेल्न सक्ने विश्वास छ ?
मैले मेरा कविताहरुमा बर्ग विभेद, जातीय विभेद, लैङ्गीक विभेद लगायतका समाजमा व्याप्त विभिन्न किसिमका विभेदहरुको मुद्दा उठान गरेकोछु र ती मुद्दाहरुलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने कुराहरु पनि समावेश गरेको छु । मेरा कविाताहरु समाज परिवर्तको कोसेढुङ्गो नै सावित हुन्छन् म भन्दिन तर समाज परिवर्तनमा केही न केही भूमिका भने अवस्य खेल्छन् भन्ने मलाई विश्वास छ ।
१०) साहित्यमा लागेका नयाँ पुस्तालाई तपाईं के भन्न चाहनुहुन्छ ?
साहित्यमा लाग्ने नयाँ पुस्ताहरुले प्रतिभा, व्युत्पत्ति र अभ्यासमा ध्यान दिन सबैभन्दा बढी जरुरी छ । त्यो सँगसँगै आफू बाँचेको समय लेख्न सक्नु पर्छ र स्पष्ट विश्व दृष्टिकोण हुन जरुरी छ ।