‘बूढो समय’ कवितासंग्रह भर्खरै प्रकाशित गरेर चर्चा बटुलिरहेका कवि बाबुराम श्रेष्ठ सिन्धुलीमा संघर्ष गरिरहेका छन् । कवितामा लामो समयदेखि साधना गरिरहेका कवि श्रेष्ठको यस अघि ‘देश स्वप्न’ कवितासंग्रह प्रकाशित छ । उनै कवि बाबुराम श्रेष्ठ ‘यात्री’सँग मिडिया दर्पणले गरेको कविता वार्ता प्रस्तुत छ :
१) ‘बूढो समय’ कविता संग्रह लिएर पाठकमाझ आउनुभयो । कतिको उत्साहित हुनुहुन्छ ?
म एकदमै उत्साहित छु । मैले कविता कसैको उक्साहट र सस्तो लोक प्रियता र क्षणिकको लागि लेखेको होइन । भित्री हृदयदेखि बुझेर, छोएर लेखेको छु । पाठकहरु माझ कविता पुर्याउन पाउँदा धेरै नै उत्साहित छु । सबैतिरबाट माग भइरहेको छ ।
२) कवितामा अचेल उही शैली, उही भाव, उही सन्दर्भ दोहोरिइरहेकाछन् भन्छन्, तपाईंले यसलाई कसरी लिनु भएको छ ? र, तपाईंको कविता पनि उही शैलीमा छन् भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन ?
मलाइ त्यस्तो लाग्दैन तर केही दोहोरिनु स्वाभाविक हो किनकि हामी त्यहि समाजसँग उठबसमा छौं । जसरी हरेक व्यक्तिको अनुहार एउटै हुँदैन त्यसरी नै एउटा इमानदारीकासाथ लेख्ने कविहरु फरक स्वादका साथ कविता पस्किरहेका छन् । अहिले अछिल्लो पुस्ताका कविहरु राम गोपालआशुतोष, चन्द्र गुरुङ, मौन आवाज र जनक कार्कीका केही कविताले नयाँ शैली पकडेको छ । मलाई लाग्छ मेरो केही कविता नयाँ शैलीमा आएका छन् । त्यसलाई अत्मसाथ गर्न सक्नुपर्छ ।
३) मोफसलमा बसेर कविताको साधनामा लाग्नु भएको छ, तपाईंको बिचारमा दुरदराजमा बसेर कवितामा साधना गर्न कतिको सजिलो वा अप्ठ्यारो छ ?
समय परिवर्तनशिल छ । दुरदराजमा रहँदा केही अप्ठ्यारो हुनु स्वाभाविक हो, जस्तो साहित्यिक माहोल कम हुनु, नयाँ पुस्तक उपलब्ध नहुनु, साहित्यिक सर्कलका साथीहरुसँग अपरिचित हुनु । तर यतिमै अप्ठेरो छ म भन्दिन, किनकि अहिलेको युग सूचना, सञ्चार, प्रबिधिको युग हो । हामीले विभिन्न माध्यमबाट साहित्य पढ्न र बुझ्न पाएका छौं ।
४) कविताको क्षेत्रमा के गर्न पाएँ हुन्थ्यो भन्ने लाग्छ ? अझै पनि केको कमी देख्नु भएको छ ?
कविता व्यक्तिको भावनाहरु र समाजमा भएका घटनाहरुसँग नजिक रहेर अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो । कविताले धेरैभन्दा धेरै पाठकहरु जन्माउनु पर्छ । कविता पढ्ने पाठकको कमी छ । कविता कम बिक्छ । त्यसलेगर्दा पाठक बढाउनु, किनेर पढ्ने बानिको बिकास गराउनु र हाम्रो कविता अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन पाए हुन्थ्यो जस्तो लाग्छ ।
५) तपाईंको कवितामा पाठकले नयाँ के के पाउन सक्छन् ? तपाईं कवितामा कतिको इमान्दार हुनुहुन्छ जस्तो लाग्छ ?
मेरो कवितामा पाठकले विशेषत २०६३ सालदेखि हालसम्मको घटनाक्रमको अवस्थाहरु, व्यक्तिको जीवन जिउने कलासँग ठोकिएको अनुभवहरु र कविता लेखनमा नया शैली, मानिसका बढ्दो समस्याहरु र बिकृतिले शहरप्रतिको मोह भङ्ग भएको कारुणिक चित्रण, समसामयिक, सामाजिक , राजनीतिक, मायाप्रेम र अहिलेको जल्दोबल्दो समस्या र त्यस्ता समस्यामा निराश भै हाल्नु हुन्न भन्ने शन्देश र यस्तै जीवन जगतका यावत कुराहरू नयाँ ढङ्गमा आएको कुरा पाठकले पाउँछन् । मैले कविता २०६० सालदेखि नै लेख्दै आएको हुँ । मलाई सस्तो लोकप्रियता र क्षणिक फाइदा लिनु छैन । कविता लेखेर कति पाएँ कति गुमाएँ हर हिसाब नगरी स्वस्फूर्त लेखी संतुष्ट हुन्छु र कुनै अस्वस्थ प्रतिस्पर्धामा पनि छुइन त्यसलेगर्दा म कविता लेख्दा इमान्दार छु जस्तो लाग्छ।
६) कोरोनाकाल पछि साहित्यको बजार बिस्तारै सेलाउँदै गएको भन्नेछ, तपाईंलाई कस्तो लाग्छ ? यतिबेला आख्यानले समेत बजार नपाइरहेकाबेला कवितासँग कतिको आश गर्न सकिन्छ ?
साहित्यको बजार अहिले विभिन्न रुपमा छ। स्वाभाविक रुपमा जुन परम्परागत बजार छ यसमा कमी होला तर समग्र रुपमा साहित्यको बजार कमी छैन । पाठक बढ्दो छ। धेरैको ब्यस्त जिन्दगीले गर्दा छोटा कविता मन पराएका छन् । आख्यान जति बजार त छैन तर यो निरन्तर रुपमा बढ्दो क्रममा छ । म चाहिँ आशावादी छु कवितामा । अब कविता लेखेर पनि बाच्न सकिने अवस्था आउनेछ भन्ने आश गर्छु, जुन एक कविले आश गर्नु स्वभाविक पनि हो ।
७) आर्थिक मन्दीले विश्व चपेटामा परेकोबेला नेपालमा अबको समयमा पठनसंस्कृतिलाई संरक्षण गर्दै अघि बढाउनका लागि केके कदम चाल्नुपर्छ जस्तो लाग्छ ?
विशेषगरी पाठ्यक्रममा नै आधारित भएर पुस्तक आउने हुँदा र बालबालिकाहरुले पठन संस्कृतिको सुरुवात पनि पुस्तकबाट गर्ने हुनाले साहित्यलाई धेरैभन्दा धेरै पाठ्यक्रममा समाबेश गरिनुपर्छ।
समयसँगै अघि बढ्न हरेक ठाउँमा पुस्तकालय, इ–लाइब्रेरीको र विभिन्न साहित्यको एप्स विकास गर्ने व्यवस्था गरिनुपर्छ । साहित्यिक महोत्सव गरिनुपर्छ । साहित्य समाजको एना हुनाले राज्यले यसलाई संरक्षण गर्न आफ्नो कर्तब्य र दायित्वको रुपमा लिनुपर्छ । सर्जकलाई सम्मान र राष्ट्रको एउटा गहनाको रुपमा हेरिनु पर्छ।
८) तपाईंको अनुभवमा नेपाली कविताको अवस्था वा स्थान कस्तो देख्नुहुन्छ ? के अझैं पनि नेपाली कविताको स्तरलाई माप्न सकिरहेका छैनौ भन्ने लाग्छ ?
वास्तवमा अहिले नेपाली साहित्यको अवस्था राम्रो छ । मात्र हामीले साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सकेका छैनौ । मेरो बिचारमा चाहिँ हामीले कविताको स्तर नाप्न सकेका छौ तर हामी विभिन्न बादप्रतिबादमा लागेर एकले अर्काको खुट्टा तान्ने प्रवृतिले गर्दा हामी पछाडि परेका छौ। सही कुरालाई आत्मसात गर्न सक्नुपर्छ हामीले ।
९) ‘बूढो समय’ समाज प्रतिको यथार्थलाई सजिलैसँग व्यङ्ग गर्न खोजिएको कविता हो भन्ने कुरालाई नकार्न सकिन्न । समाज परिवर्तनको लागि ‘बूढो समय’ ले कतिको भूमिका खेल्न सक्ने विश्वास छ ?
कविताको शिर्षक बूढो समय भएपनि यसले बर्तमान समयलाई इङ्कित गरेको छ। हामी हाम्रो जीवन बिभिन्न तरिकाले ब्यतित गरिरहेका छौ । हामी चेतनशिल प्राणी हौ। हामीले सामाजिक, भौगोलिक, राजनीतिक र हरेक अवस्थाहरु बुझ्नुपर्छ । हामी अहिले धेरै निराश हुनुपर्ने स्थिति पनि छैन । समयसँगै हामी परिवर्तित हुँदै छौ । मेरो कविताले समयलाई बुझेर मानिसका यावत गतिविधिहरुको चित्रण र त्यसको प्रभावको विषयमा बोलेको छ । कतिपय कुरामा हामी सजग पनि हुनुपर्छ जुन समाज र देशको हितमा हुन्छ । यी यस्ता आम कुराहरू कवितामा समावेश भएको हुँदा मेरो कविताले पनि समाज परिवर्तन गर्न केही भुमिका खेल्नेछ भन्ने मलाई विश्वास छ ।
१०) साहित्यमा लागेका नयाँ पुस्तालाई तपाईं के भन्न चाहनुहुन्छ ?
सर्बप्रथम साहित्यमा लाग्नुभन्दा पहिले म को हु ? साहित्यमा लागेर के गर्न सक्छु । मेरो कर्तव्य के हुनेछ । म कतिको सन्तुष्ट हुन सक्छु भन्ने प्रश्नको ख्याल गर्नुपर्छ जस्तो लाग्छ । त्यसपछि साहित्यमा लागेका नयाँ पुस्तालाई म साहित्य कसैको लहड, सस्तो लोकप्रियताको लागि र अस्वस्थ प्रतिस्पर्धा गर्न नलेख्नुस भन्छु । साहित्य पढ्नुस बुझ्नुस । साहित्यमा लामो साधना र निरन्तता आवश्यक छ । बस इमानदारीकासाथ लेखिरहनुस् । त्यसको मुल्यांकन कुनै दिन हुनेछ भन्न चाहन्छु ।