After header

हरफन मौलाको पाण्डुलिपी

  • कुमार नगरकोटी

 

फेब्रुअरी २१, २०१३ ।

थमाइदिएर गएको छ दीपक सापकोटाले एउटा फ्रेस पाण्डुलिपी ।

पाण्डुलिपीको पोस्टमार्टम रिपोर्ट तयार पार्नुछ । तर, गलत कुरा के भै’राछ भने भूमिका लेख्ने क्लेप्टोमेनिक कला मजस्तो अनाडिसित हन्ड्रेड पर्सेन्ट छैन ।

मलाई थाहा छ अरूको पाण्डुलिपीमा आँखा गाढ्नु भनेको एक प्रकारले अनैतिक उद्यम हो । अरू कसैकी गर्लफ्रेन्डलाई लोभी नजरले हेर्नु अवश्य पनि पाप कर्म हो । तर दीपक सापकोटा एक हरफन मौला जोगी हो । मलाई पाप कर्म गर्न उक्साउने ऊ नै हो । उसले भनेको थियो :

‘नगरकोटी सर ! मेरो किताबमा तपाईंको ग्लामरस–राइटिङको दुई/चार अक्षर कुँदी पाउँ । यो मेरो सुदीर्घ रहर हो । लामो समयदेखिको तामसिक ईच्छा हो ।’

हरफन मौलालाई धेरै सम्झाएँ । यो सुदीर्घ रहर होइन ब्रदर, बरू ताँइ न तुईको रहर हो । तामसिक ईच्छा होइन मोरा,  बरु तोरीलाहुरे ईच्छा हो । भनेको थिएँ :

–‘तपाईंको अप्रकाशित गर्लफ्रेन्डलाई मैले आँखा लगाउन मिल्दैन । यो अश्लिल योजना मात्रै नभई अपवित्र कर्मको इन्टेरियर डिजाइन पनि हो । यस्तो अधार्मिक प्लस पाप कर्म गर्नबाट मेरो कल्याण गर्नुस् ।’

तर हरफन मौला मान्दैन । उसको डरमर्दो कथन छ :

‘नगरकोटी आखिर कौनसा ‘पहुँचे हुए पुण्यात्मा’ हो र ! अलिकति पाप कर्म गर्दैमा के नै पो फरक पर्ला र !’

कुरा सही हो शायद । अरूको किताबमा भूमिका लेख्ने स्वाँठहरू पापी नै त हुन् । म पापी हुँ ।

०००

फेब्रुअरी २३, २०१३ ।

‘ब्रेकिङ न्युज के छ ?’ हरफन मौलालाई म यदाकदा सोध्ने गर्छु सेल–फोनमा ।

ऊ प्राय : अफबिट लोकेसनहरूमा आफूलाई ‘लोकेट’ गरिरहेको हुन्थ्यो । कहिले ऊ खोकनाको तोरीको काँचो तेल गन्हाउने बस्तीमा हुन्थ्यो । कहिले आर्यघाटको रिपब्लिक आकाशमा उडिरहने धुँवामा आफ्नो भट्किएको आत्मा खोजी बस्थ्यो । कहिले ठमेल–स्ट्रिटमा भेटिने नक्चर्नल–नगरबधुहरूसित सिग्रेट ‘शेयर’ गरिरहेको हुन्थ्यो ।

अखबारमा उसको आफ्नो कोलमको नाम थियो : लोकेसन । म ती पढ्थे शनिबारको अपरान्ह ।

आज शनिबार । मेरो व्यस्त आत्माले छुट्टि मनाउने दिन । पाण्डुलिपी पढिरहेको छु । अपरान्हको अध्ययनलाई म प्रायः ‘सियस्ता रिडिङ’ भन्न  रुचाउँछु ।

सियस्ता मलाई औधी मनपर्छ । निद्रा/अनिद्राबीचको अद्भूत क्षणमा जब तपाईं आफ्नो आंशिक अस्तित्वबाट क्षणिक गयल भइदिनुहुन्छ त्यो क्षण बडो अद्भूत हुने गर्छ । अझ तपाईंको हातमा कसैले थमाइदिएको पाण्डुलिपी होस् !

हरफन मौलाका यी सम्पूर्ण टेक्स्टहरू अनौपचारिक लेखनका पोट्रेट हुन् । उसको लेखन विशुद्ध Raw-Writing हुन् । फुलबुट्टा भरेर लेखिने, शृङ्गार–शब्दहरूद्वारा विन्यासित हुने साहित्यलाई म Lipstick-Literature भन्न रुचाउँछु । हरफन मौलाको लेखनमा ती छैनन् । बडा राम्रो कुरा ! औपचारिक गन्थनहरू छैनन् । अझ राम्रो ।

म आफ्नो सियस्ता रिडिङ पाठकसित शेयर गर्न चाहन्छु :

–म सोच्छु, यस बन्दीगृहका आँगनमा कपुरको रूखको गाढा छायामुनि बसेर बिपी केही चिन्तन र केही लेखन गर्थे । गणेशमान पारिलो घाम ताप्थे । दिवानसिंह कपडा धुन्थे । योगेन्द्रमान टोपी मिलाउँथे र रामनारायण मिश्र आफ्नो धोती खुइलिएको देख्थे र गाउँको चिरपरिचित धोबीको अनुहारको चिन्ता गर्थे । प्रेमराज आङ्दम्बे हतियार उठाइहाल्न पाए हुन्थ्यो भन्ने कल्पना गर्थे ।

(बात मार्न खोजिरहेको इतिहास)

पुस्तकभरि एउटा हरफन मौला जोगी डुलिहिँड्छ । उसको झोलामा मिनरल–वाटरको बोतल छ । कलमहरू/……हरू छन् । सूर्य चुरोटको बट्टा छ । र, छ डायरी । यो उत्तरआधुनिक जोगी बुर्जुवा संसारको Hedonistic जीवन–शैलीबाट वाक्क/दिक्क छ ।

सन् सत्तरीको दशकमा, चरम भौतिक विलासिताबाट मोहभङ्ग भई हिँडेको कुनै अमेरिकी ठिटोजस्तो, भियतनाम युद्धको त्रासदी,  विसंगतिबाट आजित भई अमेरिका छाडी ‘पूर्व’को आध्यात्मिक लोकेसनतिर बरालिन हिँड्ने, झो“छे, Freak-street तिर,  ठमेल,  बौद्ध,  स्वयम्भुतिर गाँजा खाई दिमागमा बाइबलका पवित्र–सुत्रहरूको सट्टा गिन्सवर्गको Howl बोकि हिँड्ने यायावरजस्तो देखिन्छ यो हरफन मौला उर्फ तथाकथित दीपक सापकोटा जो राज्य चलाउने ‘जल्लाद’हरूसित भयङ्कर रिसाएको छ ।

हरफन मौला देवकोटाको ‘भूत–बंगला’मा छिरेपछि खङरङ्ग भएको छ । काठमान्डुका दारु–महलमा ‘हरियो पर्दा’ खुसुक्क सारि कसैलाई ‘मे आइ कम इन’ नभनी छिरेको छ र मदिराको साइकेडेलिक मात या उन्माद्मा स्पिरिचुअल्ली छिल्लिएको छ । कहिले ‘टायर बलिरहने अभिशप्त सडक’मा चुपचाप ट्वाँ परेर टोलाएको छ  कहिले समय–घर (घन्टाघर) छेउछाउ, शिरीषको स्केलेटन वृक्षमुनि उभिँदै देशको समय किन यसरी चौपट हुँदै गएको छ भनि चिन्तित भएको छ ।

म आफ्नो सियस्ता रिडिङ पाठकसित शेयर गर्न चाहन्छु :

–तेस्रोलिंगी जूनकिरीजस्ता लाग्छन्, साँझ परेपछि मात्रै उनीहरूको चमक देखिन्छ । परीजस्तै पहिरनमा छन् तर शरीरको प्राकृतिक उज्यालो हराएका जूनकिरी । प्राकृतिक सिर्जनाको मुहान बन्द भएपछि त्यसबाट आउने वासना, सौन्दर्य र उपयोगिता सबै कृत्रिम हुन्छ, त्यसैले परम्पराले उनीहरूलाई नाम दिएको छ– ‘हिजडा’ । यो अपमानजनक शब्द यहाँ उल्लेख गर्नुपर्दा म दुःखी छु ।

(उज्यालो हराएका जूनकिरी)

– साँझ परेपछि वाक्कलाग्दो मेकअपमा सजिएर रोजीरोटीको खोजीमा शरीरको सौदा गर्न निक्लिएकी नगरबधू र रत्नपार्क उस्तै लाग्छ हिजोआज । हरेकपटक बिरक्तिएको छु म, यहाँभित्र छिर्दा ।

(बृहत माछाबजार)

–एक नागरिकका हैसियतले म जीवित राजनीतिक केन्द्र संविधानसभा भवनको कथा लेख्न चाहन्थेँ । कथा सफलताको, मुलुकको उन्नत राजनीतिक प्रबन्ध र विकासका नयाँ सम्भावनाका ढोकाको । तर, माफ गर्नुहोला ! जेठ १४ गते मध्यरातको एक निमेषको घोषणाले मेरो सुन्दर कथा चकनाचुर भयो । त्यसको ठाउँमा अर्को भद्दा कथा सुरु भयो । संविधानसभा भवनलाई आफ्नो जिन्दगी फिक्सनझैं लाग्छ होला ।

(बानेश्वर चोकको शोकगाथा)

–जिन्दगीको एउटा अकाट्य सत्य हेर्दै छु, आर्यघाटमा । आजै, भोलि वा अरू कुनै बेला, म पनि यसरी नै यहाँ ल्याइनसक्छु । मेरो अन्तिम बिदाइका लागि को–को आउलान् ? जोसुकै आऊन् । आई डन्ट गिभ् अ ड्याम ।

(क्रन्दन र धुँवामा पुरिएको आर्यघाट)

०००

जिन्दगीमा एक्ज्याक्ट ‘लोकेसन’को महत्व ठुलो छ ।

हरफन मौला सही ‘लोकेसन’मा पुगेको छ । उसले छनौट गरेका विविध इलाकाहरूमा बसोबास गर्ने पात्रहरूको कथा हो यो किताब । ऊ फगत एक न्यारेटर हो जसलाई आफ्नो कथा सुनाउनु छ । उसलाई आफूले, आफ्नो समाजले, समयले भोगेको विसंगति, त्रासदी, विद्रुपता सुनाउनु छ । राज्यमा हालीमुहाली गर्ने ‘जल्लाद’हरूको नपुंसकता अथवा वीर्य–विनाशका कथा आफ्ना पाठकलाई सुनाउनु छ ।

पाठकहरूलाई उसले आफ्ना ‘लोकेसन’हरूमा पुर्याएको छ र ती इलाकामा बसोबास गर्ने मानिसहरूको जीवनको राम–कथा सुनाएको छ । ती ‘लोकेसन’हरूको केलाइडोस्कोपिक वर्णन गरेर आफ्नो टेक्स्ट, पाठलाई पाठक–मैत्री बनाएको छ । ती टेक्स्टका Textural Existence लाई आफ्नो Raw-Writing मार्फत् हरफन मौलाले बोधगम्य बनाएको छ ।

अब त, साँझ परेको छ ।

मेरो Siesta रिडिङ् एक बसाइमा सिद्धिएको छ । आजको दिनलाई मैले ‘पाण्डुलिपी–दिवस’ भनि सम्बोधन गर्नु पर्ने भो ! यो कुनै गहन साहित्यको किताब होइन । तर पनि बेला/कुबेला हरफन मौलाको यो Non-Fiction ले किक् दिन्छ । ती किक् प्लस पन्च रमाइला छन् ।

मलाई यस्तो खालको Punk-Literature पनि त मन पर्छ ।

वास्तवमा, केहि कालदेखि म Non-Fiction गल्लीहरूमा, उपत्यकाहरूमा, वन/उपवनहरूमा डुली हिँड्न थालेको छु । मेरो आफ्नै ‘फिक्सन–गल्ली’मा कुमार नगरकोटी भेटिन छाडेको छ । मोहन मैनालीको ‘उपल्लो थलो’ तिर बरालिन हिँडे । गोविन्द वर्तमानको ‘हरियो साइकल’ चढि, पाइडल मार्दै नै लाङटाङ् पुगेँ । त्यसैगरि अराजकतावादी हुँदै रिचर्ड जे.एफ.डेको नन्–फिक्सन GRAMSCI  IS DEAD नामक मोटो किताब झोलामा बोकि ग्राम्स्कीको चिहान खोज्न हिँडे । त्यसपछि त हरफन मौलाको यो गैर आख्यान पाण्डुलिपी आइहाल्यो । आख्यानहरूसित हदैसम्मको झोंक चल्न थालेपछि म गैर–Fictional  बन्ने गर्छु…

०००

फ्रेब्रुअरी २५, २०१३ ।

मध्यरातको कुबेला छ ।

कन्जुस विद्युत प्राधिकरणले बत्ती छाडेको छैन । एउटा किङ् साइज्ड क्यान्डलको मुनि ओत लागेको छु । सुनील पोखरेलको प्रेतात्मा छेवैमा छ, निदाउन सकिरा’छैन । मिस्टर पोखरेलसितै कुनै दिन बहरामपुर पुगेको हरफन मौलाले मलाई एउटा नवाबको किंवदन्ती सुनाउँछ :

मुर्सिद कुली खाँकी छोरीलाई मुटुको रोग थियो । उनी नबाँच्ने अवस्थामा थिइन् । एकजना वैद्यले नबाब मुर्सिद कुली खाँलाई भने, ‘एक हजार जना मान्छेको मुटु छोरीलाई खान दियौ भने तिम्री छोरी बाँच्छिन् ।’ त्यसपछि मुर्सिदावादमा एक हजार मान्छे मारिए । नवाबकी छोरी बाँचिन् ।

बुढ्यौली लागेपछि नबाब मुर्सिद कुली खाँलाई आफ्नो समाधिछेउ मस्जिद बनाउन रहर लाग्यो । मस्जिद बनाउने जिम्मा फरास खाँलाई दिए उनले । फरास खाँ हिन्दू धर्मावलम्बीको अत्यन्त डाह गर्थे । त्यसैले फरासले त्यस क्षेत्रका हिन्दू मन्दिरहरू भत्काए । कुनै पनि मन्दिर फरासको नजरबाट बचेन । मन्दिरहरूको सामग्री प्रयोग गरेर १७२३–२४ मा मस्जिद बन्यो ।

तर, जीवनको अन्त्यमा मुर्सिद कुली खाँलाई एक हजार मान्छेको हत्या अपराध आङ्खनो थाप्लोमा भएको कुराले निकै पिरोल्यो । त्यसमाथि, सबै मन्दिर भत्काएर मस्जिद बनाएको कुराले उनी पश्चात्तापमा जल्न थाले । प्रायश्चितका लागि उनले मस्जिदको भर्याङ्मुनि आफ्नो समाधिस्थल बनाउने इच्छा गरे । उनको भित्री इच्छा थियो, जमिनमुनि समाधिस्थ आफ्नो शरीरमाथि हजारौ“ भलाद्मी मान्छेले कुल्चेर हिँडून् । इच्छाअनुसार, मृत्युपछि उनको शवलाई भर्याङ्मुनि नै राखियो ।

(बहरामपुरमा गुरुकुलको बह)

 

मृतकका अन्तिम इच्छाहरूबारे म कहिलेकाहीँ घोत्लिने गर्छु । मनुष्यको Death-wish बारे म उत्सुक रहने गर्छु । त्यसलाई म ‘मृत्युको अन्तरिम ईच्छा’ भन्न मन पराउँछु । Death-wish ले, मान्छेले आफू बाँचेको अस्तित्वको सारांश खिच्छ । प्रिय कथाकार सआदत हसन मन्टोको अन्तिम इच्छा थियो : म मरेपछि मेरो मुखमा मदिराको अन्तिम बूँद चढाइयोस् । प्रिय कवियित्रि क्रिस्टिना रोजेट्टीको अन्तिम ईच्छा थियो :

–म मरेपछि,

मेरो चिहानमाथि

कुनै गुलाफको बोट नउम्रियोस्

यी मैले रुचाएका केहि ‘सेलेक्टेड अन्तिम ईच्छा’का मेटाफर हुन् । केहि अन्तिम ईच्छहरूमा निहीत मेटाफरहरू ज्यादै प्रेरणादायी प्लस अद्भूत हुने गर्छन् । मुर्सिद कुली खाँको अन्तिम ईच्छा बडो मानवीय छ । एउटा नवाब चाहन्छ, जमिनमुनि समाधिस्त आफ्नो शरीरमाथि हजारौं भलाद्मी मान्छेले कुल्चिएर हिँडुन् । हामीकहाँ उपलब्ध कुर्सीलम्पट नबाव (राजनीतिक दलका नेता) हरूको अन्तिम ईच्छाबारे यस्तो मेटाफर शायदै लेखिएलान् । ती नवाब त बरु ताल परे यसो भन्लान् : ‘म मरेपछि मेरो भब्य सालिक बनाउनु । सालिकछेवै प्रधानमन्त्रीको खाली कुर्सी पनि बनाइराख्नु । उभिइरहँदा थाकिन्छ । बस्नु पनि त पर्छ । बस्नको निम्ति प्रधानमन्त्रीको कुर्सी नै चाहिन्छ ।’

हरफन मौलाको यो मुर्सिद कुली खाँको कथाले/प्रसंगले मलाई बेबिलोनतिर पुर्यायो । अलेकजेन्ड्रिया पुर्यायो । अलेकजन्डर द ग्रेटको याद दिलायो ।

सोक्रेटसको जिनियस चेलो थियो प्लेटो । (यो ‘प्लेटो’को कुरा गर्दा किन म सधैं सफा प्लेट सम्झन्छु ? प्लेटमा सजाएर राखिएका फ्राइड ‘मःम’का डल्ला सम्झन्छु ?) प्लेटोको जिनियस चेलो थियो अरिसटोटल । अरिसटोटलको पनि टोटल चेलो थियो अलेकजन्डर । अलेकजन्डर उर्फ सिकन्दर बादशाह विश्व सम्राट बन्न हिँड्यो । पृथ्वीको आधाभन्दा बढी Hemisphere को ऊ सम्राट बन्यो । म ती बादशाहलाई ‘फुच्चे सम्राट’ भन्न रुचाउँछु ।

विश्व सम्राट बन्न हिँडेको बादशाहलाई आफ्नै मनको Hemisphere बारे कुनै ज्ञान थिएन । त्यो ज्ञान उसलाई दिलाइदियो नदी किनारमा बस्ने एउटा नग्न साधुले । डायोजिनस नाम गरेको त्यो नग्न फकिर मलार्ई सोक्रेटस/प्लेटो/अरिसटोटलभन्दा बढी ‘जिनियस’ लाग्ने गर्छ । त्यही जिनियस फकिर डायोजिनसको संगतले गर्दा नै त अलेकजन्डरले आफ्नो Death बिछ्यौनामा आफ्नो अन्तिम ईच्छाको घोषणा गरको थियो । अल्पायुमै मर्नुअघि त्यो ‘फुच्चे सम्राट’ले महान् अन्तिम इच्छा व्यक्त गरेको थियो :

–‘म मरेपछि मेरो कफिन–बक्समा ढक्कन नलगाउनु । कफिनबाट मेरा दुबै खाली हात झुण्डियुन् । मेरो नाङ्गो लाशलाई संसारले चियाएर हेरोस् । संसारले देखोस्–विश्वविजेता बन्न हिँडेको चक्रवर्ती सम्राट पनि अन्तत : खाली, रित्तो हात यो संसारबाट बिदा भयो ।’

हरफन मौलाको अन्तिम इच्छा के हो मलाई थाहा छैन । तर यो पाण्डुलिपी (पाण्डुलिपी असलमा एक कुरुप झुसिलकिरो हो र किताबचाहिँ सुन्दर पुतली) को अन्तिम इच्छाबारे मोटामोटी रूपमा म केही भन्न सक्छु । त्यो भन्न सक्ने मसित केहि विश्वसनीय आधारहरू छन् ।

हरफन मौलाको यो पाण्डुलिपीको अन्तिम ईच्छा हो :

–‘म मरेपछि (अर्थात् किताबमा मेटामफोर्सिस भैसकेपछि) मेरो आत्मा कुनै असल पाठकको हृदयको समाधिस्थलमा बसोबास गरोस् ।’

हृदयको समाधिस्थल ! त्यो पनि पाठकको ! कुनै पनि पाण्डुलिपीको यस्तो सदिच्छा बडो सुन्दर मेटाफर हो । वास्तवमा, किताबको आत्मा पाठकको हृदयको समाधि छेउछाउ नै त बसोबास गर्छन् ।

भलाद्मीहरू भन्नेछन् : किताबको पनि कहिँ आत्मा हुन्छ ? ह्वाट ननसेन्स !

म भन्छु : हरेक किताबको आत्मा अवश्य हुन्छ । प्रत्येक पुस्तकको मौलिक व्यक्तित्व हुन्छ । चार्म एवं ब्युटि हुन्छ । आफ्नै मौलिक मुहार हुन्छ । तिनै आत्माको सौन्दर्यद्वारा नै हामी, जो आफूलाई असल पाठक भन्छौं, युगौंदेखि मोहित छौं ।

पुन : दोहोर्याउँछु : हरेक किताबको आत्मा हुन्छ । हरफन मौलाको यो किताबको आत्माको आवाज एउटा असल पाठकले अवश्य सुन्नेछ । त्यो आत्माको Roaring–अनुगुन्जन उसको हृदयको समाधि छेउछाउ गुञ्जिनेछ ।

०००

फेब्रुअरी २८,२०१३ ।–

सेलफोनको स्क्रिनमा हरफन मौला देखा पर्यो । सोध्छु :

–हेलो मैला ! के छ ब्रेकिङ न्युज ?

–नगरकोटी सर ! म पिता बनेँ । हिजो छोरीको जन्म भयो ।

मौला वास्तवमा भाग्यमानी रै’छ । उता पुत्रि जन्म्यो । यता पुत्र (पुस्तक) जन्मदैछ ।

यो नवजात–पितालाई म बधाई दिन्छु । शिशु मात्रै होइन, कहिलेकाहीँ नवजात पिताको पनि जन्म हुने गर्छ । संसारमा असम्भव नै के छ र ! आफ्ना सन्तान (पुत्रि प्लस पुस्तक) हरूसितै हरफन मौला पुन : एकपटक हुर्कंदै जानेछ । आफ्ना स–साना सन्तान, रचनाहरूसितै हुर्कनु भनेको संसारको कुनै पनि पिताका निम्ति एक दुर्लभ अनुभव हो । अनुभूति हो ।

अल द बेस्ट ! ओ हरफन मौला ! ओ नवजात पिता !

एक पटक पढ्नुहोस