सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि

सतोगुण, रजोगुण र तमोगुण । यी तीन गुणले हाम्रो चेतनाको तीन अवस्था जनाउँछ, जागृत अवस्था, सुप्तावस्था र स्वप्नावस्था । प्रश्न यो हो कि, अब यी तीन गुणलाई कसरी सन्तुलित राख्ने ?

रजोगुणको प्रधानता भएमा उत्तेजना, विचार, इच्छा, वासना बढ्छ । आशक्ति बढ्छ । हामी धेरै खुसी वा धेरै उदास रहन्छौं । यी सबै रजोगुणका लक्षण हुन् । जब तमोगुण प्रधान हुन्छ, तब हामी सुस्त, अल्छी र भ्रमको शिकार हुन्छौं ।

यसैगरी हाम्रो भोजनमा पनि तीन गुण विद्यमान हुन्छन् । र, हाम्रो मन पनि यही तीन गुणबाट प्रभावित र निर्देशित हुन्छ । फलतः हाम्रो आनीबानी, बोलीव्यवहार, आचरण वा प्रवृत्तिमा यी तीन गुण देखिन्छ ।

मान्छे मात्र होइन, पशु पनि यही तीन गुणबाट सञ्चालित हुन्छन् । यद्यपि उनीहरुमा कुनै असन्तुलन हुँदैन । न त तिनीहरुले आवश्यक्ताभन्दा बढी खान्छन्, न अधिक काम गर्छन्, न अधिक कामवासना देखाउँछन् । उनीहरुमा केही कुरा धेरै वा थोरै गर्ने स्वतन्त्रता पनि हुँदैन । जबकी मान्छेमा जे गर्न पनि स्वतन्त्रता हुन्छ । राम्रो गर्न वा खराब गर्न, धेरै गर्न वा कम गर्न । किनभने मान्छेसँग यो स्वतन्त्रतासँगै विवेक पनि हुन्छ । स्वतन्त्रता र विवेक दुबै मान्छेसँग हुन्छ ।

अत्याधिक वा आवश्यक्ताभन्दा बढी खानु हाम्रो स्वतन्त्रता हो । जबकी अधिक खानपानले पेटमा समस्या निम्त्याउँछ । शरीर सुस्त हुन्छ । हामी कुनैपनि काम छरितो ढंगले गर्न सक्दैनौं । शरीर जीर्ण र रोगी हुन्छ । तर, धेरै खाने स्वतन्त्रता हुँदाहुँदै पनि आफ्नो शरीरको आवश्यक्तालाई बोध गरेर कति खाने वा के खाने भन्ने कुरा हाम्रो विवेकले निर्धारण गर्छ । ठीक वा आवश्यक्ता अनुरुप भोजन गर्नु, सुपाच्य र ताजा भोजन गर्नु सत्वगुण भएका व्यक्तिहरुको प्रवृत्ति हो ।

धेरैजसो त हाम्रो मन पनि भूतकाल वा भविष्यमा अल्झिरहेको हुन्छ । जीवनमा प्रखर चेतना र सजगताको अनुभव प्रायः गर्न सकिरहेका हुँदैनन् ।

यस्तो सात्विक क्षण एकदमै दुर्लभ हुन्छ । त्यसैले हामीले जीवनमा प्रशन्नता र उमंग धेरै कम मात्रामा अनुभव गरिरहेका हुन्छौं । यसको लागि आवश्यक छ, साधना, ध्यान र मौनता । यी माध्यामबाट हामीले आफ्नो सत्वगुणलाई बढाउन सक्छौं ।

सामान्यत मान्छेले निद्राको अवस्थामा सपना देख्छन् । जबकी जागृत अवस्थामा पनि सपना देख्छन् । त्यसैगरी जब हाम्रो शरीर र वातावरणमा सतोगुणको प्रधानता हुन्छ तब हामी प्रफुल्ल, उमंगित, आनन्दित, सजग, बोधपूर्ण हुन्छौं ।

जब हामी सत्यको आडमा उभिन्छौं, रजोगुण र तमोगुण गौण हुनपुग्छन् । यसको प्रभाव कम हुन्छ ।

जब मान्छेमा सतोगुणको विकास हुन्छ, मान्छेमा आत्मकल्याण, कर्तव्य, अन्तरात्माबाट धर्मको इच्छा उत्पन्न हुन्छ । न्याय र अन्याय, सत्य र असत्य, ग्रहण गर्न योग्य र त्याग्न योग्य आदिको स्पष्ट भेद छुट्याउन सक्छन् । तत्व ज्ञान, धर्म विवेक, दूरदर्शिता, सरलता, नम्रता र सज्जनताले उनीहरुको दृष्टि हराभरा हुन्छ । अरुप्रति दया, करुण, मैत्री, उदारता, स्नेह, आत्मियता र सद्भाव व्यवहार गर्छन् । उनीहरु तप, साधना, स्वाध्याय, सत्संग, सेवा, दान आदिमा अग्रसर हुन्छन् ।

सात्विकताको अभिवृद्धि भएपछि उनमा अशाधारण शान्ति, सन्तोष, प्रशन्नता, प्रफुल्लता एवं आनन्द प्राप्त हुन्छ । उनको प्रत्येक विचार रक र्म पूण्यमय हुन्छ ।

एक पटक पढ्नुहोस