मान्छे जन्मजात खराब हुन्छ वा परिवन्धले ?

संसारमा मान्छेका लागि जेल (अहिले सुधारगृह भनिन्छ) बनेका छन् । मान्छेका लागि विभिन्न किसिमको सजायको व्यवस्था गरिएको छ । मान्छेका लागि कानुन र नियमहरु बनाइएका छन् । किन ?

कुनै जीवजन्तुको लागि न जेल छ, न कुनै कानुन–नियम । जबकी विवेकशिल भनिएका मान्छेका लागि किन जेल बनाउनु परेको ? किन कानुन बनाउनु परेको ? किनभने मान्छेले अनेक त्यस्ता कृत्य गर्छन्, जसले उनको परिवार, समाज र पुरा मानव समुदायलाई नै असर गरिरहेको हुन्छ । हत्या, बलात्कार, चोरी, ठगी, हिंसा जस्ता खराब कृत्य मान्छेले नै गर्छन् । त्यसैले यस्ता कृत्यहरु गर्नबाट सचेत गराउन कानुन बनाइएको छ, तह लगाउनका लागि आवश्यक दण्ड–सजायको व्यवस्था गरिएको छ, सुधारका लागि सुधारगृह बनाइएको छ । र, धेरै मान्छेले चोर, हत्यारा, अपराधी, बलत्कारी, ठग जस्ता उपनाम पाएका छन् । किन मान्छेहरु यसरी कुख्यात बन्न चाहन्छन् ? के कोही व्यक्ति आफुलाई चोर भनेको रुचाउँछन् ? हत्यारा भनेको पचाउँछन् ?

मान्छे जन्मजात खराब हुन्छन् वा परिवेश र परिस्थितीले उनीहरुलाई त्यस्तो बनाउँछ ?

भनिन्छ, मान्छेहरु जन्मजात खराब हुँदैनन् । तर, उनीहरुलाई हुर्काउने क्रममा, बढाउने क्रममा उनका परिवार, परिवेश र समाजले नै कुनै न कुनै रुपमा खराब बाटोतिर लाग्न बाध्य बनाइरहेका हुनसक्छ । कोही मान्छे खराब हुनुमा पहिलो जिम्मेवार त उनको घर परिवार नै हो । घर–परिवारले हुर्काउने क्रममा कुनै न कुनै त्रुटी गरेको हुनसक्छ । त्यसपछि उनको समाज पनि यसबाट अलग हुनसक्दैन । एउटा व्यक्ति असल बन्नु र खराब बन्नुमा धेरै हदसम्म समाज पनि जिम्मेवार हुन्छन् ।

कुनैपनि शिशुले जब आमाको कोखबाट जन्म लिन्छन्, उनीहरु खराब हुँदैनन् । उनीहरुले प्राकृतिक ढंगले नै बाँच्न खोजिरहेका हुन्छन् । उन्मुक्त खुसी, सन्तुलित सोंच, सौहाद्र्धपूर्ण व्यवहार अंगालिरहेका हुन्छन् । र, उनीहरुको झुकाव पनि सधै राम्रो वा असल गर्नेमा हुन्छ । बालबालिकाको सोंच र व्यवहारमाथि गरिएको विभिन्न प्रयोग र अध्ययनहरुले यो कुरा पुष्टि गरिसकेको छ ।

साना बालबालिकाहरु सधै असल कुरामै झुकाव राख्ने प्रवृत्तिका हुन्छन् । बिबिसीबाट प्रशासण हुने कार्यक्रम ‘बेबीज ः द्यर वन्डरफुल वल्र्ड’ मा बालबालिकाको नैतिकतालाई लिएर यस्तै एक अनुसन्धान गरिएको थियो । खेलको माध्यामबाट गराइएको उक्त अध्ययनको निचोड थियो, बच्चाहरु सधै असल कुराप्रति झुकाव राख्छन् । यो उनीहरुको प्राकृतिक गुण एवं स्वभाव हो । यसर्थ मान्छे जन्ममा सधै असल हुन्छन् ।

सन् २०१७ मा जापानको क्योटो विश्वविद्यालयले गरेको यस्तै अनुन्धानमा पनि बालबालिकाको झुकाव असर आरचणप्रति रहेको पाइएको थियो । त्यतिमात्र हैन, उक्त अनुसन्धानमा बालबालिकाको परोपकारलाई प्राथमिकता दिने गरेको पनि पाइएको थियो । हवार्ड विश्वविद्यालयले गरेको ‘विग मदर स्टडी’ले पनि यो कुरा पुष्टि गरेको छ ।

यस कुराले के पुष्टि गर्छ भने कुनैपनि मान्छे खराब हुनुमा उनका आमाबुवा, घर–परिवार र समग्र समाज जिम्मेवार छ । एउटा शिशु कसरी हुर्कदै जाने क्रममा खराब बाटो समात्न पुग्छन् । कुकृत्य गर्न उक्सिन्छन् । अपराधकर्ममा होमिन्छन् । अपराधी बन्छन् ।

एउटा व्यक्ति अपराधीसम्म बन्ने जुन चक्र छ, त्यसमा उनको माहौल, परिवेश, वातावरणको खास भूमिका रहन्छ । यसकारण कुनैपनि व्यक्तिप्रति कस्तो व्यवहार गर्ने, पारिवारिक मूल्य कसरी कायम राख्ने, सामाजिक व्यवहार कसरी सन्तुलित राख्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । परिवारको खराब संरचना, समाजको विभेदपूर्ण व्यवहार आदिले पनि धेरै अपराधी जन्माइरहेका छन् । तिरस्कार, अपहेलना, विभेद, अन्याय, अत्याचार, असमानता जस्ता असामाजिक व्यवहारले कतिपय व्यक्तिलाई खराब कर्ममा लाग्न बाध्य बनाइरहेको हुन्छ ।

समाजले जातपातको नाममा, गरिब धनीको नाममा, शिक्षित-अशिक्षितको नाममा, धर्म (आडम्बर)को नाममा, जुन खाडल बनाएको छ, त्यसले धेरै व्यक्तिलाई अपराधकर्ममा धकेलिरहेको छ । यसकारण कुनै व्यक्ति असल वा खराब बन्नुमा उक्त व्यक्ति हुर्किएको समाज पनि जवाफदेही हुनुपर्छ ।

एक पटक पढ्नुहोस