‘निर्माण क्षेत्र जुर्मुराए स्टिलको बजारमा तरङ्ग आउँछ’

२५ कात्तिक, काठमाडौं । कोभिड–१९ को महामारीका कारण निर्माण क्षेत्रमा सुस्तता छ । नेपालमा सिमेन्ट, छड जस्ता उत्पादनले बजार पाउन सकिरहेका छैनन् । तर, अब विस्तारै निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ ।

यस्तो अवस्थामा निर्माणसम्बद्ध उद्योग–व्यवसायले अर्थतन्त्रलाई चलायमान गराउन ठूलो भूमिका खेल्न सक्ने अनुमान सरकारको पनि छ । अहिले नेपालमा २५ भन्दा बढी स्टिल उद्योगहरु छन् । तर, प्रतिस्पर्धा भएकाले बजारमा नयाँ उद्योगलाई टिक्न सहज छैन । पुराना छड उद्योगहरु भने अहिले आफूहरुलाई बजारको ठूलो समस्या नरहेको बताइरहेका छन् ।नेपालका स्टिल उद्योग, तिनका उत्पादन, बजार, गुणस्तर, उद्योगीका समस्या र चुनौतीबारे हामीले अम्बे ग्रुपका स्टिलका अध्यक्ष तथा प्रवन्ध निर्देशक शोभाकर (हरि) न्यौपानेसँग कुराकानी गरेका छौं ।

लकडाउन खुलेपछि निर्माणका काम आंशिक रुपमा सुरु भएका छन् । अहिले नेपालका स्टिल उद्योगहरुले चुनौतीको सामना कसरी गर्दै छन् ?

कोरोना महामारीको असर नेपाली अर्थतन्त्रका सबै क्षेत्रमा छ । स्टिल उद्योगहरु अछुतो रहने कुरै भएन । हामी आफूलाई जोगाउने र सकेसम्म अवसर सिर्जना गरेर अर्थतन्त्रलाई योगदान दिने किसिमबाट अघि बढेका छौं ।

चैतदेखि लकडाउनमा बस्दा हामीले सरकारको नीति नियम माानेकै हो । केही समय उद्योग बन्द नै गर्यौं । कर पनि तिरेकै हौं । श्रमिकलाई व्यवस्थापन गरेकै हौं । अप्ठेरो अवस्थामा पनि सकेजति क्षमतामा उद्योग चलायौं । धेरै कठिनाइ भएपनि हामीले सरकारबाट ठूलो सहयोग पाएनौं । बैंकबाट एक–दुई महिनाको किस्ता सार्नेबाहेक अरु केही भएन ।अब नयाँ अवस्था अनुसार अघि बढ्दैछौं । विस्तारै आफ्नो उत्पादनलाई बढाउँदै लगेका छौं । गएको महिनामा हामीले कूल क्षमताको ५० देखि ६० प्रतिशतसम्म उत्पादन गर्‍यौं । त्यही अनुसार बिक्री पनि गर्‍यौं । अहिले विस्तारै माग पनि बढ्दै गएको छ ।

स्टिल र सिमेन्टजन्य समाग्रीहरुको बजार भनेको निर्माण क्षेत्र हो । निर्माण उद्योगले जति गति लिनसक्छ, हाम्रो उत्पादनको माग त्यसैअनुसार बढ्ने हो ।

लकडाउनको एक महिनाजति त उद्योग बन्द नै गरेका हौं । निर्माणको काम विस्तारै सुरु भएपछि माग हेरेर हामीले उत्पादन बढाउँदै लगेका छौं । लकडाउनको असर र महामारीको डर पनि अब विस्तारै कम हुँदै गएको छ ।

मंसिर आउँदैछ, वर्षा र मुख्य चाडबाड पनि सकिँदैछ । अब निर्माणको कामले गति लिन्छ भन्ने विश्वास छ । निर्माणको सिजनमा स्टिल उद्योगलाई महामारीले पारेको असर ‘रिकभर’ गर्न सकिन्छ भन्ने आशा छ ।

महाभूकम्पपछि नेपालमा निर्माणको काम तीव्र बन्दा स्टिल उद्योगले ठूलो लाभ पाए भन्ने छ । समग्रमा नेपाली स्टिल बजार कस्तो छ ?

स्टिल उत्पादनले राम्रो बजार पाउनेमा म आशावादी छु । अब राम्रै समय आउनेछ । केही समयमा कोभिड–१९को खोप पनि निस्केला । त्यसपछि त विश्व अर्थतन्त्रको स्वरुप नै फेरिएला ।

नेपालमा जसरी निर्माणको काम हुनुपर्ने हो, त्यसरी भएको छैन । अहिले धेरै परियोजनामा काम रोकिएको छ । सरकारले पनि आयोजनाहरुलाई थप समय दिएको छ । नयाँ परियोजनाहरु अन्योलमा छन् । स्थानीय र प्रदेश सरकारको बजेट पनि ‘होल्ड’ भएर बसेका छन् ।

परियोजनाहरुका साइट खुल्दा निर्माणसँग जोडिएका उद्योगहरुमा एउटा तरङ्ग आउँछ । अवस्था सहज भएर सबै काम एकैपटक खुल्ने भएकाले भविष्य राम्रो देख्छु । नेपालमा अहिले २५–२६ वटा स्टिल उद्योग छन् । सबैले आफ्नो क्षमताअनुसार उत्पादन गरे भने मागभन्दा आपूर्ति धेरै हुन्छ ।
बजारमा बिकेका छडको गुणस्तरमा उपभोक्ता सन्तुष्ट भएनन् भने त्यसको अर्थ छैन । बिक्रीको अर्थ बेचिसक्नु हैन । हामी हाम्रो उत्पादनलाई बजारमा ग्राहकले कसरी लिनुभयो भन्नेसम्मको विश्लेषण गर्छौं

महाभूकम्पपछि स्टिलको धेरै माग आइदियो । सबैतिर एकसाथ पुनर्निर्माणको काम हुँदा बजारले मागेजति दिनै नसकिने अवस्था थियो । त्यो अवस्थामा ५–७ वटा नयाँ उद्योग थपिए । त्यसले गर्दा बजारमा प्रतिस्पर्धा भयो । अम्बेले चाहिँ प्रतिस्पर्धाकै कारण बिक्री कम भएको अनुभव गरेको छैन । मूल्यमा भने लड्नु परेको छ । हामी स्वस्थ प्रतिस्पर्धाबाटै अघि बढेका छौं ।

गुणस्तरलाई अम्बेले कसरी प्रत्याभूत गरेको छ ?

नेपालमा जति पनि स्टिल उद्योग छन्, सबैको आ–आफ्नो उत्पादन प्रक्रिया छ । कति ठूला उद्योग छन्, कोही साना छन् । अम्बेले दैनिक १४ सय टन छड उत्पादन गर्छ । यो ठूलो ब्रान्ड बनिसकेको छ । ६–७ सय करोड लगानी भएको छ । यस्तो अवस्थामा गुणस्तरमा सम्झौता गर्ने कुरै हुँदैन ।

सावधानी अपनाउँदा अपनाउँदै पनि उत्पादनका क्रममा केही गल्ती हुन सक्छ । कहिलेकाँहि ‘प्रोसेसिङ इरर’ हुन सक्छ, तर त्यो नियतबस भएको हुँदैन । तर, सबैको हकमा यस्तै हुन्छ भनेर ठोकुवा गर्न सकिन्न । गुणस्तरमा ध्यान नदिनेले पनि बजारको प्रतिक्रियाअनुसार गर्नैपर्ने हुन्छ ।

हाम्रो रोलिङ मिल चौबिसैघण्टा चल्छ । स्टिलका उच्च गतिमा चल्ने मिल हुन्छन् । अम्बेले प्रत्येक घण्टा गुणस्तर जाँच गर्छ । हाम्रो उद्योगमै स्तरीय ल्याब छ । प्रोसेसिङमा कुनै गल्ती भएको रहेछ भने त्यो लटको छड बजारमा पठाउँदैनौं ।

बजारमा बिकेका छडको गुणस्तरमा उपभोक्ता सन्तुष्ट भएनन् भने त्यसको अर्थ छैन । बिक्रीको अर्थ बेचिसक्नु हैन । हामी हाम्रो उत्पादनलाई बजारमा ग्राहकले कसरी लिनुभयो भन्नेसम्मको विश्लेषण गर्छौं । भैरहवामा ४०० टनको स्टिल उद्योग चलाएका हामीले आज नेपालगञ्जमा एक हजार टनको अर्को उद्योग चलाउनुपर्ने अवस्था उपभोक्तालाई चित्त बुझाएरै आएको हो ।

छड उद्योगमा लगानी थपिँदै छन् । बजारमा प्रतिस्पर्धा बढ्दो छ, अम्बेका विशेष बजार रणनीतिहरु के छन् ?

हाम्रो भैरहवा प्लान्टको आधा उत्पादन त पश्चिम नेपालतिरै जान्थ्यो । काठमाडौंसहित देशका अन्य भागमा माग अनुसार छड पुर्याउन सकेका थिएनौं । त्यसैले नयाँ प्लान्ट लगायौं । नेपालगन्जको प्लान्टका लागि हिजो भैरहवाको प्लान्टले सिर्जना गरेको सहज बजार छ । प्लान्ट थपेपछि बजार विस्तार पनि गरेका छौं । हामीलाई बजारको समस्या छैन ।

बजारमा दुई हजार अनलाइन न्युज पोर्टल छन्, तर तपाईंहरु अनलाइनखबरको पाठक बढी छन् भन्नुहुन्छ । हामीलाई पनि उपभोक्ताले त्यस्तै विश्वास गर्नुभएको छ । अम्बे सुपरिचित ब्रान्ड पनि हो, गुणस्तर र स्तरीय डेलिभरी सिस्टम पनि छ । हामी ग्राहकप्रति जिम्मेवार पनि छौं ।

उद्योग थपिदा केही दबाव त हुन्छ, तर बजारमा अम्बे स्थापित छ । त्यसलाई कायम राख्ने आधारहरु पनि हामीसँग छन् । अहिले नै हामी क्षमताको ९० प्रतिशत हाराहारी उत्पादन गर्ने अवस्थामा पुगिसक्यौं ।

सबैले गुणस्तरको दाबी गरिरहेका हुन्छन्, ग्राहकले कसरी पत्याउने ?

हाम्रो छड राष्ट्रिय गौरवका थुप्रै आयोजनाहरुले विश्वासका साथ प्रयोग गरेका छन् । भेरी–बबई सिँचाइ आयोजनादेखि धरहरा, संसद भवन, गोदावरीमा निर्माणाधीन सभाहल लगायतमा हाम्रो स्टिल प्रयोग भएको छ । पुलसहितका ठूला आयोजनाहरुमा पनि हाम्रो उत्पादन प्रयोग भएको छ । यसले हामीलाई गुणस्तर कायम गर्न झकझकाइरहन्छ ।

फेरि ठूला आयोजनाहरुमा जथाभावी छड प्रयोग हुँदैन, पहिले गुणस्तर जाँच हुन्छ । ठूलो लगानी र सोच राखेर अघि बढेकाले हामीले गुणस्तरमा सम्झौता गर्ने सवालै आउँदैन ।

ग्राहकले भरपर्दो स्टिल कसरी चिन्ने र छान्ने ?

झट्ट हेर्दा सबै छड उस्तै देखिन्छन् । बाहिरी रुप हरेर गुणस्तरको भेउ पाइन्न । मूल कुरा छडको ‘डक्टिलिटी’ र ‘एलोंगेसन’ हो । छडमा यी चिज छ, छैन भन्ने पत्तो पाउन सजिलो पनि हुँदैन । त्यसैले ग्राहकले सकेसम्म परिचित ब्रान्ड रोज्नुपर्छ । जुन पायो त्यही ब्रान्ड उठाउँदा गुणस्तर कमजोर रहेछ भने भविष्यमा पछुताउनुपर्ने हुन्छ । म पूरा इमानका साथ भन्छु– अम्बे लिँदा ग्राहकले पछुताउनुपर्दैैन । एक–दुई रुपैयाँ सस्तो भनेर नाम नै नसुनेको ब्रान्डमा जानु उचित हुन्न ।

फेरि अम्बेको मूल्य पनि प्रतिस्पर्धी छ । ठूलो परिमाणमा उत्पादन गरेर नाफा बढाउने रणनीति हाम्रो छ । कसैले थोरै उत्पादन गरेर नाफा लिने रणनीति बनाएका हुन्छन् । हामी भने गुणस्तर कायम राखेर धेरै उत्पादन गर्ने, मूल्य सकेसम्म कम राख्ने र धेरै बिक्री गर्ने अनि नाफा निकाल्ने नीतिमा छौं । सबभन्दा महत्वपूर्ण कुरा, अम्बे गुणस्तरको प्रतीक हो ।
स्टिल उद्योगलाई बजारको समस्या छैन । र पनि, सरकारसँग विभिन्न माग राखिरहनुभएको हुन्छ, किन ?

मुख्य सवाल विद्युतको हो । हिजो लोडसेडिङ हुँदा मुस्किलले ८–१० घण्टा प्लान्ट चलाउन पाइन्थ्यो । २४ घण्टा उद्योग चलाउन पाउनु हाम्रो लागि दुर्गममा सडक पुग्दाको जस्तै खुसी हुने अवस्था थियो । यति हुँदा पनि विद्युत महसुल उद्योगमैत्री छैन ।

बिजुलीको मूल्य अरु देशको तुलनामा नेपालमा बढी छ । कच्चा पदार्थ आयातमा लगाइएको भन्सार दर पनि उच्च छ । त्यसलाई घटाए नेपाली छड विदेशी बजारमा पनि जान सक्छ । बिलेट, स्पन्ज आइरन लगायत स्टिल उद्योगका कच्चा पदार्थमा सरकारले प्रोत्साहनमुलक भन्सार दर तोक्नुपर्छ ।

सरकारलाई राजस्व हेर्नुपर्ने बाध्यता होला, तर भन्सार घटाउँदा उत्पादन लागत घट्छ । उत्पादन सस्तो भए बजारमा माग बढेर राजस्व अझ बढ्ने अवस्था आउँछ । भन्सार दर घटेको लाभ ब्यापारीले मात्र लिन्छन् भनेर सोच्न हुँदैन ।

साथै, नेपालमा फलाम खानीहरु पनि भेटिएका छन् । अब धौवादी लगायत खानीबाट फलाम उत्पादन गर्नुपर्छ । त्यसो भए फलाम आयातमा विदेशिरहेको रकम जोगिन्छ । हाम्रा स्टिल उद्योगहरु थप प्रतिस्पर्धी हुन्छन् । त्यस्तो वातावरण बन्यो भने भारतीय बजारमा पनि हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ ।

एक पटक पढ्नुहोस