काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका अन्र्तगत दुई वटा वडाहरुलाई बालमैत्री वडा घोषण गरिएको छ । नमोबुद्ध नगरपालिकाको वडा नं ८ र ११ लाई एक कार्यक्रमको बिच बालमैत्री वडा घोषण गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै वडा ८ का अध्यक्ष शेरबहादुर तामाङ र ११ का अध्यक्ष कृष्णबहादुर तामाङलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुगमन गरेर चैत्र २४ गते वडा घोषणाका लागि स्वीकृति प्रदान गरेको थियो ।जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले दिगोपना कायम गर्न अनुरोध गर्दै सूचकहरु घट्ने खालका कुनै काम नगर्न सचेत हुनुपर्ने बताए । नगर प्रमुख कुनसाङ लामाले अन्य वडालाई पनि क्रमशः बालमैत्री घोषणा गर्दै लगिने बताए ।

बालमैत्री वडा घोषणा भएकोमा खुसी व्यक्त गर्दै नमोबुद्ध नगरपालिका वडा नम्बर ८ का अध्यक्ष शेर बहादुर तामाङ र ११ का अध्यक्ष कृष्णबहादुरले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।कार्यकममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका सचिव नगेन्द्र अधिकारी, नेकपा एमाले नगर कमिटी अध्यक्ष गणेश लामा, नमोबुद्ध नगरपालिका वडा नं १० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतले बालमैत्री वडा घोषणा र यसको दिगोपन लागि सबै सरोकारवालाको सहयोगको आवश्यकता औंल्याएका थिए ।

नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारादेवी सुनुवारले अन्य वडामा पनि सूचकहरू पूरा गर्न काम भइरहेको बताइन् । कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने बाल क्लव, विद्यालय, स्वास्थ्य स्वयंसेविका लगायतका सरोकारवालाहरूलाई सम्मान सहित प्रशंसापत्र प्रदान गरिएको थियो । अहिले सम्म नमोबुद्ध नगरपालिकाको ११ वटा वडा मध्ये तिनवटा वडा बालमैत्री वडा घोषण भएका छन् ।
