After header

१ करोड ५३ लाखको लागतमा बनेको श्वेत गणेश माविको आठकोठे भवन उद्घाटन

जर्मनीस्थित नेपाल हिल्फे वाइल्डग्रीसको सहयोगमा जनहीत नेपालद्वारा निर्माण; एसईईमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयको शैक्षिक यात्रामा थप पूर्वाधार

काभ्रे । पनौती नगरपालिका–५ स्थित श्री श्वेत गणेश माध्यमिक विद्यालयमा निर्माण गरिएको आठकोठे विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ । जर्मनीस्थित नेपाल हिल्फे वाइल्डग्रीस ई.भी.को आर्थिक सहयोगमा जनहीत नेपालद्वारा निर्माण गरिएको उक्त भवन एक कार्यक्रमबीच पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र जर्मनीस्थित नेपालहिल्फे वाइल्डग्रीस ई.भी.का अध्यक्ष मानफ्रेड लिन्डनरले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गदै विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने उद्देश्यले निर्माण गरिएको भवनमा आठवटा कक्षाकोठासहित रिटेनिङ वाल, ग्राउण्ड तथा भ¥याङलगायतका आवश्यक संरचनासमेत निर्माण गरिएको छ । भवन निर्माणमा कुल १ करोड ५३ लाख ४२ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले विद्यालयको भौतिक पूर्वाधार विकास शिक्षाको गुणस्तर सुधारको महत्वपूर्ण आधार भएको बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भवन र कक्षाकोठा मात्र पर्याप्त नहुने उल्लेख गर्दै दक्ष शिक्षक, प्रभावकारी व्यवस्थापन र विद्यार्थीमैत्री सिकाइ वातावरण पनि उत्तिकै आवश्यक रहेको बताए ।

विदेशी संस्थाको सहयोगमा निर्माण भएको भवनलाई अधिकतम सदुपयोग गर्दै शैक्षिक उपलब्धि अझ उचाइमा पु¥याउन विद्यालय परिवारलाई नगर प्रमुख भण्डारीले आग्रह गरेका थिए ।जर्मनीस्थित नेपाल हिल्फे वाइल्डग्रीस ई.भी.का अध्यक्ष मानफ्रेड लिन्डनरले विद्यालय भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै शिक्षा नै समाज र देशको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताए ।

उनले बालबालिकाले सुरक्षित र सुविधासम्पन्न वातावरणमा अध्ययन गर्न पाउनुपर्ने उल्लेख गर्दै नेपालका सामुदायिक विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यले परियोजना अघि बढाइएको बताए । निर्माण सम्पन्न भवनले विद्यार्थीको अध्ययन वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वाससमेत व्यक्त गरीएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पनौती नगरपालिका वडा नं. ५ का अध्यक्ष विनोद खत्रीले भवन निर्माणमा सहयोग गर्ने नेपाल हिल्फे वाइल्डग्रीस ई.भी. र निर्माणको जिम्मेवारी पूरा गर्ने जनहीत नेपालप्रति आभार व्यक्त गरे । उनले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको भवनले विद्यार्थी, शिक्षक तथा समग्र विद्यालय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाई थियो ।

विद्यालयको शैक्षिक र भौतिक विकासलाई सँगसँगै अगाडि बढाउन आफूहरू प्रतिबद्ध रहेको उनले बताए । विद्यालयका प्रधानाध्यापक इन्द्रलाल मानन्धरले नयाँ भवन निर्माणसँगै विद्यार्थीलाई व्यवस्थित, सुरक्षित र सहज वातावरणमा पठनपाठन गराउने अवसर थपिएको बताए । उनले विद्यालयको शैक्षिक उपलब्धि सुधारमा पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सहयोगी संस्थाको योगदान विद्यालयका लागि दीर्घकालीन उपलब्धि भएको बताए ।

हाल विद्यालयमा करिब ४ सय विद्यार्थी अध्ययनरत छन् । शैक्षिक उपलब्धिका हिसाबले पनि विद्यालयले पनौतीनगरपालिकाभित्र आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ । एसईई २०८२ को परीक्षामा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये शतप्रतिशत नतिजा हासिल गर्ने एकमात्र विद्यालय श्वेत गणेश माध्यमिक विद्यालय बनेको थियो ।

उक्त परीक्षामा सहभागी भएका २२ जना विद्यार्थी नै उत्तीर्ण भएका थिए । भौतिक पूर्वाधारमा भएको थप विस्तार र शैक्षिक क्षेत्रमा हासिल गरेको सफलताले श्वेत गणेश माध्यमिक विद्यालयको शैक्षिक यात्रालाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । विद्यालय भवन निर्माणमा अन्तर्राष्ट्रिय सहयोग र स्थानीय तहको समन्वयले सामुदायिक शिक्षाको विकासमा सकारात्मक सन्देशसमेत दिएको छ ।

एक पटक पढ्नुहोस