After header

तिमालमा रास्वपाको चुनावी तयारी तीव्र, वडा सदस्यदेखि पालिका अध्यक्षसम्मका आकांक्षी एकै ठाउँमा

काभ्रे । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिमाल गाउँपालिका कमिटीले वडा सदस्य, वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्षसम्मका आकांक्षीहरू सहभागी गराउँदै चुनावी तयारीसम्बन्धी भेला सम्पन्न गरेको छ ।
आगामी निर्वाचनमा तिमाल गाउँपालिकाका सबै वडा तथा पालिकामा पार्टीको जित सुनिश्चित गर्ने उद्देश्यसहित आयोजित भेलामा उम्मेदवारका आकांक्षीहरूले आफ्नो धारणा राख्दै पार्टीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेलामा स्थानीय तहमा पार्टीको संगठन विस्तार, उम्मेदवार छनोट, आपसी एकता र चुनावी रणनीतिका विषयमा छलफल भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा काभ्रे जिल्ला संगठन उपप्रमुख कुमार अधिकारीले आगामी निर्वाचनमा पार्टीबाट जोसुकै उम्मेदवार बने पनि आफूले काँधमा बोकेर हिँड्ने प्रतिबद्धता व्यक्त गरे । उनले व्यक्तिगत आकांक्षा र स्वार्थभन्दा पार्टीको जित महत्वपूर्ण रहेको उल्लेख गर्दै वडा सदस्यदेखि वडा अध्यक्ष र पालिका प्रमुखसम्म रास्वपाका उम्मेदवार विजयी गराउन सबै एकजुट हुनुपर्ने बताए ।

‘उम्मेदवार को बन्छ भन्नेभन्दा पनि पार्टीले जित्नुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । तिमालमा जो उम्मेदवार बने पनि म उसलाई काँधमा बोकेर हिँड्न तयार छु,’ अधिकारीले भने, ‘आगामी निर्वाचनमा वडा–वडादेखि पालिकासम्म रास्वपाको जित हुनुपर्छ । त्यसका लागि अहिलेदेखि नै एकताबद्ध भएर लाग्न आवश्यक छ ।’ त्यसैगरी, तिमाल गाउँपालिका सभापति सूर्य लामाले पार्टीभित्र व्यक्तिगत महत्वाकांक्षा, गुटगत सोच र अनावश्यक विवादलाई स्थान दिन नहुने धारणा राखे ।

आफू कुनै निश्चित वाद वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र जनताको हितमा काम गर्न तयार रहेको बताउँदै उनले सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन आग्रह गरे । भेलामा सहभागी वडा सदस्य, वडा अध्यक्ष तथा पालिका प्रमुखका आकांक्षीहरूले समेत आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन आफूहरू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनीहरूले तिमालको विकास, सुशासन, पारदर्शिता, जनताको सेवा र स्थानीय समस्याको समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।भेलाले उम्मेदवारको आकांक्षा राख्ने सबैलाई समेट्दै संगठनलाई एकताबद्ध बनाउने र आगामी निर्वाचनका लागि गाउँपालिकाका सबै वडामा पार्टीको उपस्थिति मजबुत बनाउने सन्देश दिएको छ ।आकांक्षीहरूबीच देखिन सक्ने प्रतिस्पर्धालाई आपसी विवादमा परिणत हुन नदिई पार्टीको निर्णयलाई स्वीकार गर्दै साझा लक्ष्यका साथ अघि बढ्नुपर्नेमा भेलामा विशेष जोड दिइएको थियो ।

एक पटक पढ्नुहोस