After header

नमोबुद्धमा विद्यालय समायोजन र दरबन्दी मिलानको तयारी, तथ्यांकका आधारमा शैक्षिक सुधारको योजना बनाइँदै

विद्यार्थी संख्या, शिक्षक दरबन्दी, विद्यालयको भौगोलिक अवस्था र शैक्षिक उपलब्धतालाई मुख्य आधार बनाइने

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नगरभित्रका विद्यालयको वास्तविक अवस्था, विद्यार्थी संख्या, शिक्षक उपलब्धता, विद्यालय सञ्चालनको अवस्था र भौगोलिक अवस्थालाई विश्लेषण गरी आवश्यकताका आधारमा शैक्षिक व्यवस्थापन सुधार गर्ने उद्देश्यले नगरपालिकाले सरोकारवालाहरूसँग बृहत् छलफल तथा अन्तरक्रिया गरेको छ ।

छलफलमा शिक्षा शाखा प्रमुख रामबहादुर तामाङले नगरभित्रका विद्यालयहरूको अवस्था, शिक्षक दरबन्दी, विद्यार्थी संख्या, विद्यालय सञ्चालन तथा शैक्षिक व्यवस्थापनका विभिन्न पक्षबारे प्रस्तुतीकरण गरेका थिए । उनले विद्यालय समायोजन र दरबन्दी मिलान गर्दा कुनै एउटा पक्षलाई मात्र आधार बनाउन नहुने भन्दै विद्यालयको समग्र अवस्था अध्ययन गरेर निर्णयमा पुग्नुपर्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेका थिए ।

तामाङको प्रस्तुतीकरणमा विद्यालयको वर्तमान अवस्था पहिचान, विद्यार्थी संख्याको विश्लेषण, शिक्षक दरबन्दीको उपलब्धता र आवश्यकताबीचको अन्तर, विद्यालय सञ्चालनको अवस्था, भौगोलिक दूरी तथा विद्यार्थीको पहुँचलगायत विषयलाई आधार बनाएर योजना निर्माण गर्नुपर्ने विषय समेटिएको थियो । विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको अवस्था, उपलब्ध शिक्षक दरबन्दीको उपयोग, विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन तथा विद्यालय सञ्चालनको प्रभावकारितालाई समेत विश्लेषण गर्नुपर्ने उनको प्रस्तुति रहेको थियो ।

विद्यालय समायोजनको निर्णय गर्दा विद्यालयको नाम वा विद्यार्थी संख्यालाई मात्रै आधार बनाउन नहुने विषय पनि महत्वपूर्ण देखिएको छ । विशेषगरी विद्यालय रहेको स्थान, विद्यार्थीलाई विद्यालयसम्म पुग्न लाग्ने दूरी, यातायात तथा पैदल पहुँच, भौगोलिक विकटता, स्थानीय बस्तीको अवस्था र बालबालिकाको नियमित पठनपाठनमा पर्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने देखिन्छ । विद्यालय समायोजनपछि विद्यार्थीको पढाइ प्रभावित हुने अवस्था आउन नदिन वैकल्पिक व्यवस्थापन, विद्यालयको तहगत अवस्था र उपलब्ध भौतिक पूर्वाधारको समेत अध्ययन आवश्यक हुन्छ ।

त्यस्तै शिक्षक दरबन्दी मिलान गर्दा विद्यालयमा रहेका शिक्षकको संख्या मात्रै नभई विद्यार्थी संख्या, कक्षागत आवश्यकता, विषयगत शिक्षकको उपलब्धता, शिक्षकको कार्यभार र विद्यालयको शैक्षिक नतिजालाई समेत विश्लेषण गर्नुपर्ने विषय छलफलमा उठेको थियो । कतै विद्यार्थीको अनुपातमा शिक्षक बढी हुने र कतै आवश्यकताअनुसार शिक्षक अभाव हुने अवस्थालाई तथ्यांकका आधारमा पहिचान गरी दरबन्दी व्यवस्थापन गर्नुपर्ने आवाज उठाएका थिए ।

कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले शिक्षा सुधार सरकार, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र समुदाय सबैको साझा जिम्मेवारी भएको बताए । विद्यालयको वास्तविक अवस्था लुकाएर वा एकअर्कालाई दोष दिएर शैक्षिक सुधार सम्भव नहुने भन्दै उनले विद्यालयको विद्यार्थी संख्या, शैक्षिक उपलब्धि, शिक्षकको जिम्मेवारी र विद्यालय सञ्चालनको प्रभावकारिताको स्पष्ट मूल्यांकन हुनुपर्नेमा जोड दिए ।

विद्यालय र शिक्षकले आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने तथा नगरपालिकाले आवश्यक सहयोग, बजेट र व्यवस्थापनका पक्षमा भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।कार्यक्रममा नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्नबहादुर लामा, नगरका एघारै वडाका वडा अध्यक्ष, शिक्षा शाखाका प्रतिनिधि, शिक्षक महासंघ, शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

छलफलमा सहभागीले नगरभित्रका विद्यालयहरूको वर्तमान शैक्षिक अवस्था, विद्यार्थी संख्या, शिक्षक दरबन्दीको वितरण, विद्यालय सञ्चालनको प्रभावकारिता तथा शैक्षिक गुणस्तर सुधारका विषयमा विभिन्न सुझाव र धारणा राखिएको थियो । उनीहरुले विद्यालय समायोजन र दरबन्दी मिलान गर्दा स्थानीय आवश्यकता र विद्यालयको वास्तविक अवस्थालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

विद्यालयको भौगोलिक अवस्था, विद्यार्थीको पहुँच, शिक्षक व्यवस्थापन र शैक्षिक गुणस्तरलाई ध्यान नदिई गरिने निर्णय प्रभावकारी नहुने उनीहरूको भनाई रहेको थियो । नगरपालिकाले विद्यालय समायोजनलाई विद्यालय बन्द गर्ने र शिक्षक स्थानान्तरण गर्ने सामान्य प्रशासनिक प्रक्रियाका रूपमा मात्र नभई समग्र शैक्षिक व्यवस्थापन सुधारको योजनाका रूपमा अघि बढाउन खोजेको जनाएको छ ।

सरोकारवालाबाट प्राप्त सुझाव, विद्यालयगत तथ्यांक र उपलब्ध स्रोतसाधनको विश्लेषणपछि आवश्यक निर्णय लिने तयारी गरिएको छ ।नगरपालिकाको यो पहल कार्यान्वयनमा आएमा विद्यालयमा रहेको शिक्षक दरबन्दीको असन्तुलन घटाउने, स्रोतसाधनको उचित उपयोग गर्ने र विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर यसको सफलता विद्यालय समायोजनको निर्णय कति पारदर्शी, तथ्यपरक र विद्यार्थीमैत्री हुन्छ भन्ने कुराले निर्धारण गर्नेछ ।

एक पटक पढ्नुहोस