काभ्रे । काठमाडौँलाई पूर्वी पहाडी तथा पूर्वी तराईका जिल्लासँग जोड्ने प्रमुख लाइफलाइनका रूपमा रहेको विपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसीसम्मको सडक दुई लेनमा विस्तार गरिने भएको छ । बढ्दो सवारी चाप, साँघुरो सडक र जोखिमपूर्ण घुम्तीका कारण यात्रु तथा सवारी चालकले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै सडक डिभिजन भक्तपुरले साढे २० किलोमिटर सडक नालीसहित ११ मिटर फराकिलो बनाउने तयारी अघि बढाएको हो ।
जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको विपी राजमार्गको यो खण्ड हाल ‘इन्टरमिडियट’ स्तरको अर्थात् पूर्ण दुई लेनभन्दा साँघुरो अवस्थामा छ । सडकको क्षमता विस्तार गर्ने उद्देश्यसहित सडक डिभिजन भक्तपुरले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । डीपीआरअनुसार धुलिखेलदेखि भकुण्डेबेंसीसम्मको २०.५ किलोमिटर सडक विस्तार गर्न भ्याटसहित ३ अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०६ रुपैयाँ लागत अनुमान गरिएको छ ।
यसअनुसार प्रतिकिलोमिटर करिब १८ करोड ६ लाख रुपैयाँ खर्च हुने देखिन्छ । सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार सडक विस्तारका लागि प्रस्ताव पारित भई स्रोत सहमति प्राप्त भएमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाइनेछ ।
प्रस्ताव स्वीकृत भएपछि निर्माण प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । सडक विस्तारका क्रममा विभिन्न स्थानमा रुख कटान गर्नुपर्ने र सडकको मोड सुधारका लागि केही घरसमेत हटाउनुपर्ने भएकाले निर्माण सुरु हुनुअघि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने उनले बताए । निर्माण सुरु भएको तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक विस्तारपछि विपी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्डमा यात्रा थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । हाल प्रतिघण्टा ३० किलोमिटर डिजाइन गतिमा रहेको यस सडकको मोड सुधार तथा चौडाइ विस्तारपछि डिजाइन गति प्रतिघण्टा ६० किलोमिटर पु¥याउने योजना छ । यसले ठूला बस तथा मालवाहक ट्रकको आवागमनलाई समेत सहज बनाउनेछ ।
हाल साँघुरो सडक र घुम्तीका कारण एकैपटक दुई ठूला सवारीसाधन आवतजावत गर्दा समस्या हुने गरेको छ । दुई लेनमा विस्तार भएपछि सवारी आवागमन व्यवस्थित हुनुका साथै राजधानी र पूर्वी पहाडी तथा तराईका जिल्लाबीचको यातायात सम्पर्क थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
विस्तारका क्रममा सहज स्थानमा पर्खाल निर्माण गरी तथा भौगोलिक रूपमा अप्ठ्यारा स्थानमा भित्तो काटेर सडक चौडा बनाइने सडक डिभिजनले जनाएको छ । २०८१ साल असोजमा आएको बाढीले भकुण्डेबेंसीदेखि नेपालथोकसम्मको विपी राजमार्गमा व्यापक क्षति पु¥याएपछि उक्त खण्डलाई दुई लेनमा पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढेको थियो ।
त्यसैक्रममा धुलिखेलदेखि भकुण्डेबेंसीसम्मको सुरुवाती खण्डलाई समेत दुई लेनमा विस्तार गर्ने प्रस्ताव माथिल्लो निकायबाट स्वीकृत भएको हो । धुलिखेलदेखि नेपालथोकसम्मको करिब ५२ किलोमिटर सडक दुई लेनमा विस्तार भएपछि पूर्वी क्षेत्रबाट राजधानी प्रवेश गर्ने सवारीसाधनलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
नेपालथोकबाट मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटसम्म पुग्न सकिने भएकाले यस सडकको स्तरोन्नतिले वैकल्पिक यातायात मार्गको उपयोगिता पनि बढाउनेछ ।नेपालथोकदेखि खुर्कोटसम्मको पुरानो विपी राजमार्गलाई भौगोलिक कठिनाइका कारण दुई लेनमा विस्तार गर्न चुनौती रहेकाले नेपालथोकमा सुनकोशी नदीमाथि दुई लेनको पक्की पुल निर्माणका लागि समेत ठेक्का लागिसकेको छ ।
२०५० सालको भीषण बाढीले त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानीलाई पूर्वी नेपालसँग जोड्ने वैकल्पिक मार्गका रूपमा विपी राजमार्गको अवधारणा अघि सारिएको थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ बाट निर्माण सुरु भएको यो राजमार्ग सन् २०१५ अर्थात् २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
निर्माण सम्पन्न भएको एक दशकभन्दा बढी समयपछि बढ्दो सवारी चाप र सडक सुरक्षाको आवश्यकतालाई ध्यानमा राख्दै राजमार्गको क्षमता विस्तार गर्ने योजना अघि बढाइएको हो । अब डीपीआरअनुसारको बजेट सुनिश्चितता, ठेक्का प्रक्रिया र आवश्यक स्वीकृतिहरू समयमै पूरा भए धुलिखेल–भकुण्डेबेंसी खण्डले नयाँ स्वरूप पाउनेछ ।
