After header

बनेपाको सेतीदेवी मन्दिरमा चोरी तथा असुरक्षा न्यूनीकरण गर्न फोकस लाइट जडान

समाजसेवी विपिन दुलालद्वारा मन्दिरलाई बत्ती सहयोग, बाबा र स्थानीयद्वारा सम्मानसहित आभार व्यक्त

काभ्रे । काभ्रे जिल्ला बनेपा नगरपालिका–१० स्थित सेतीदेवी मन्दिरमा चोरी तथा असुरक्षाको समस्या न्यूनीकरण गर्ने उद्देश्यले एक थान फोकस लाइट उपलब्ध गराइएको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेका नेता तथा समाजसेवी विपिन दुलालले मन्दिर परिसरमा उज्यालोको व्यवस्था गर्न उक्त बत्ती सहयोग गरेका हुन् ।

मन्दिर परिसरमा रातको समयमा पर्याप्त उज्यालो नहुँदा चोरी तथा सुरक्षासम्बन्धी समस्या हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै दुलालले व्यक्तिगत पहलमा फोकस लाइट उपलब्ध गराएका हुन् । मन्दिरजस्तो धार्मिक तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय समुदायको चासो र सहभागिता आवश्यक रहेको भन्दै उनले सानो सहयोगले पनि सामाजिक सुरक्षामा सकारात्मक योगदान पुग्ने उनको भनाई थियो ।

दुलालले समाजमा रहेका धार्मिक, सांस्कृतिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आवश्यकता अनुसार यस्ता सामाजिक कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने धारणा राखेका थिए । उनले मन्दिरको सुरक्षा र व्यवस्थापनमा स्थानीयवासीको सक्रियता पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

फोकस लाइट प्राप्त भएपछि मन्दिरमा विगत नौ वर्षदेखि बस्दै आएका बाबासहित स्थानीयवासीले खुसी व्यक्त गर्दै दुलालप्रति धन्यवाद तथा आभार प्रकट गरेका थिए । मन्दिर परिसरमा उज्यालोको व्यवस्था भएपछि रातको समयमा आवतजावत गर्न तथा मन्दिरको सुरक्षामा समेत सहज हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।

उक्त अवसरमा रास्वपा काभ्रेका जिल्ला संगठन विभागका सदस्य एवं समाजसेवी कुमार अधिकारी, रास्वपा बनेपा नगरपालिका वडा नं. ८ का वडा सभापति श्याम मानन्धर, रास्वपाका पाँचखालका नेता एवं समाजसेवी गणेश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

धार्मिक तथा सार्वजनिक स्थलको संरक्षणमा व्यक्तिगत र सामूहिक पहल आवश्यक रहेको सन्देशसहित सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमले स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यको महत्त्वलाई समेत उजागर गरेको छ ।

एक पटक पढ्नुहोस