After header

काभ्रेका वर्षौँदेखि अलपत्र सडक आयोजना अब प्याकेजमै समाधान गर्ने ढकालको दाबी

३५–४० वर्षदेखि पूरा हुन नसकेका पूर्वाधारलाई प्राथमिकता, नागरिकले अनुभूति गर्ने गरी काम अघि बढाइने

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा वर्षौँदेखि निर्माण अलपत्र परेका सडक तथा पूर्वाधार आयोजनाको समस्या अब चरणबद्ध रूपमा समाधान गरिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेका जिल्ला सभापति प्रविण कुमार ढकालले बताएका छन् । जिल्लाका विभिन्न पालिकामा लामो समयदेखि निर्माण सुरु भएर पनि सम्पन्न हुन नसकेका सडक आयोजनाका विषयमा सम्बन्धित मन्त्रालयलाई विस्तृत जानकारी गराइएको उल्लेख गर्दै सभापति ढकालले अब पुराना र अधुरा आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाई छ ।

ढकालका अनुसार मण्डनदेउपुर–नगरकोट सडक, हिगुवापाटी सडकखण्ड, बनेपा–भिमसेनमार्ग, बेथानचोक–च्याम्राङबेंसी सडक, भकुण्डे–तेमाल सडकखण्ड, पनौती, रोशी, खानीखोला र महाभारतलगायतका पालिकामा वर्षौँदेखि अलपत्र तथा निर्माणाधीन अवस्थामा रहेका सडक आयोजनाका समस्या मन्त्रालयसम्म पु¥याइएको छ ।

कतिपय पूर्वाधार आयोजना ३५ देखि ४० वर्षसम्म पनि पूरा हुन नसकेको अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले कानुनी तथा प्रशासनिक अवरोध हटाउँदै पुराना आयोजनालाई क्रमिक रूपमा प्याकेजमै सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

‘अब नागरिकलाई आश्वासन मात्रै होइन, कामको परिणाम देखिनुपर्छ । वर्षौँदेखि अलपत्र रहेका सडक र पूर्वाधारका समस्या एकपछि अर्को गर्दै प्याकेजमै समाधान गरिनुपर्छ । आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम अघि बढाइन्छ र बढ्नुपर्छ,’ ढकालले भने । उनले नेपाल सरकार आफ्नो घोषित गति र कार्यशैलीअनुसार जिम्मेवार ढंगले अघि बढिरहेको उल्लेख गर्दै काभ्रेका पुराना तथा अधुरा पूर्वाधार आयोजनाको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रलाई जोड्ने महत्वपूर्ण सडकहरू लामो समयदेखि अलपत्र रहँदा स्थानीय नागरिकले आवागमन, व्यापार, कृषि उत्पादनको ढुवानी, स्वास्थ्य सेवा तथा दैनिक जनजीवनमा समस्या भोग्दै आएका छन् । पटक–पटक बजेट विनियोजन र निर्माणको आश्वासन पाए पनि काम सम्पन्न नहुँदा स्थानीयवासी निराश छन् ।

अब भने सडक आयोजनाको सूची बनाउने र आश्वासन दिने कार्यमा मात्र सीमित नभई बजेट, निर्माणको समयसीमा र कार्यान्वयनको स्पष्ट योजना सार्वजनिक गर्नुपर्ने स्थानीयको माग रहेको छ । वर्षौँदेखि प्रतीक्षामा रहेका काभ्रेली नागरिकले सरकारको प्रतिबद्धता व्यवहारमा देखिने दिन कुरिरहेका छन् ।

एक पटक पढ्नुहोस