After header

बनेपा नगरपालिकाद्वारा इलाका प्रहरी कार्यालय बनेपालाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

काभ्रे । विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बनेपा नगरपालिकाले इलाका प्रहरी कार्यालय बनेपालाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । विपद्का घटनामा तत्काल परिचालन भई नागरिकको ज्यान तथा सम्पत्तिको सुरक्षा गर्न प्रहरीलाई आवश्यक पर्ने सामग्री नगरपालिकाले दिएको जनाएको छ ।

नगरपालिकाले विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार र आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायसँगको समन्वयलाई प्राथमिकता दिएको जनाएको छ ।बनेपा नगरपालिका तथा आसपासका क्षेत्रमा बाढी, पहिरो, आगलागी लगायतका विपद्का घटना हुँदा प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले आवश्यक सामग्री हस्तान्तरणले उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।

सामग्री हस्तान्तरणका क्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले विपद्का बेला नागरिकको जिउधनको सुरक्षा गर्नु सबैको साझा दायित्व भएको बताउँदै नगरपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको मेयर शाक्यले बताए । उनले विपद्का घटना हुनुअघि नै आवश्यक तयारी गर्ने र घटना भइसकेपछि छिटो उद्धार तथा राहत पु¥याउने कार्यमा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनको भनाई थियो ।

त्यसैगरी, नगरपालिकाकी उपप्रमुख विमला सापकोटा दाहालले विपद्का समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पु¥याउन आवश्यक स्रोतसाधन र पूर्वतयारी महत्वपूर्ण हुने बताइन् । स्थानीय सरकार, प्रहरी तथा अन्य सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै विपद् जोखिम न्यूनीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले नगरपालिकाबाट प्राप्त सामग्रीले विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यमा सहयोग पुग्ने बताए । उनले विपद्का घटनामा प्रहरीलाई आवश्यक पर्ने स्रोतसाधनको उपलब्धता र स्थानीय तहसँगको सहकार्यले उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाई थियो । स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यबाट विपद् जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरणका कार्यलाई थप व्यवस्थित बनाउन सकिने अपेक्षा गरिएको छ ।

एक पटक पढ्नुहोस