काभ्रे । नेपाल–चीनबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सहकार्यलाई स्थानीयस्तरमा थप प्रगाढ बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ देवीस्थानमा ‘पिओनी गार्डेन’ शुभारम्भ गरिएको छ । चीनको हेजे सहरबाट प्राप्त विभिन्न प्रजातिका पिओनी फूलका बिरुवा रोपण गर्दै उक्त गार्डेनको औपचारिक शुभारम्भ गरिएको हो ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, चीनको हेजे सहरका प्रतिनिधि फङ वेइ चे, धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगम तथा नेपालका पूर्वराजदूतहरू लीलामणि पौड्याल, कृष्णप्रसाद ओली र विष्णुपुकार श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै चिनियाँ राजदूत चाङ माओमिङले नेपाल र चीनबीचको सम्बन्ध सरकार र कूटनीतिक तहमा मात्र सीमित नभई जनस्तरको सम्बन्धका रूपमा पनि विकसित हुँदै गएको धारणा राखेका थिए । उनले पिओनी फूलको रोपणले दुई देशबीचको मित्रता, सांस्कृतिक आदानप्रदान र आपसी समझदारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी, हेजे सहरका प्रतिनिधि फङ वेइ चेले पिओनी फूलको पहिचान र महत्त्वसँगै हेजे सहरको सांस्कृतिक सम्बन्धलाई धुलिखेलसम्म विस्तार गर्न पाउनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । चीनबाट ल्याइएका विभिन्न प्रजातिका फूलले धुलिखेलको प्राकृतिक सौन्दर्य र पर्यटन आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगमले नगरको पर्यटन विकास, प्राकृतिक सौन्दर्य अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा यस परियोजनाले नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरेका थिए । उनका अनुसार धुलिखेललाई पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित गर्न यस्ता अन्तर्राष्ट्रिय सहकार्यका कार्यक्रम महत्त्वपूर्ण हुनेछन् ।
पूर्वराजदूत लीलामणि पौड्याल, कृष्णप्रसाद ओली र विष्णुपुकार श्रेष्ठले पनि नेपाल–चीन सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक आदानप्रदान र जनस्तरको सहकार्यलाई स्थानीय तहसम्म विस्तार गर्नु सकारात्मक पहल भएको बताए ।
चीनको हेजे सहर पिओनी फूलका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित सहर हो ।
त्यहाँबाट विभिन्न प्रजातिका पिओनी फूलका बिरुवा धुलिखेल ल्याएर रोपण गरिनुले दुई सहरबीचको सम्बन्धलाई फूलको माध्यमबाट समेत जोड्ने प्रयास गरेको छ ।धुलिखेलको देवीस्थान क्षेत्रमा स्थापना गरिएको पिओनी गार्डेनले आगामी दिनमा फूलप्रेमी, पर्यटक तथा प्रकृतिमा रमाउन चाहनेहरूका लागि नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ । यसले धुलिखेलको पर्यटन प्रवद्र्धनसँगै नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई जीवन्त राख्ने सांस्कृतिक पहिचानका रूपमा समेत योगदान पु¥याउने विश्वास लिइएको छ ।
