काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४, जोरसल्लास्थित श्री संसारी देवी आधारभूत विद्यालयमा २९ वर्षपछि प्रधानाध्यापक परिवर्तन भएको छ । विद्यालय स्थापनाकालदेखि नै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द चिमौरियाको कार्यकाल पूरा भएसँगै नगरपालिकाले प्रतिस्पर्धात्मक परीक्षामार्फत गणेशलाल श्रेष्ठलाई स्थायी प्रधानाध्यापक नियुक्त गरेको हो ।
वि.सं. २०५३ सालमा विद्यालय स्थापना भएदेखि नै प्रधानाध्यापकको जिम्मेवारीमा रहेका चिमौरियाले करिब २९ वर्षसम्म विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व गरेका थिए । उनी राहत कोटामा रहेर प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्दै आएका थियो । लामो समयसम्म स्थायी प्रधानाध्यापकको व्यवस्था हुन नसकेको विद्यालयमा नगरपालिकाले स्थायी प्रधानाध्यापक नियुक्तिका लागि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरेपछि श्रेष्ठ प्रधानाध्यापकमा नियुक्त भएका हुन् ।
नगरपालिकाले निर्धारित प्रक्रिया पूरा गरी परीक्षा लिएर स्थायी प्रधानाध्यापक नियुक्त गरेसँगै विद्यालयले नयाँ नेतृत्व पाएको छ । यसले विद्यालयको प्रशासनिक तथा शैक्षिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । यसै अवसरमा विद्यालयले पूर्वप्रधानाध्यापक गोविन्द चिमौरियालाई सम्मानसहित प्रअबाट बिदाइ गर्दै नवनियुक्त प्रधानाध्यापक गणेशलाल श्रेष्ठलाई स्वागत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर चिमौरियाले पूर्वप्रधानाध्यापक चिमौरियाले विद्यालय स्थापनादेखि नै निरन्तर नेतृत्व गर्दै शैक्षिक तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले भने, “विद्यालयको विकास र शैक्षिक उन्नतिमा उहाँले पु¥याउनुभएको योगदान महत्वपूर्ण छ । लामो समयसम्म जिम्मेवारीपूर्वक काम गर्नुभएका उहाँप्रति विद्यालय परिवार आभारी छ ।
अब नयाँ नेतृत्वसँगै विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने हाम्रो अपेक्षा छ।”त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष माधवप्रसाद कँडेलले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र व्यवस्थापन समितिबीच सहकार्य आवश्यक रहेको बताए । उनले पूर्वप्रधानाध्यापकको योगदानको सम्मान गर्दै नयाँ प्रधानाध्यापकलाई सबैले साथ र सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
करिब तीन दशक विद्यालयको नेतृत्व गर्नुभएका पूर्वप्रधानाध्यापक गोविन्द चिमौरियाले विद्यालय स्थापनादेखि हालसम्मको यात्रामा साथ दिने शिक्षक, कर्मचारी, अभिभावक, व्यवस्थापन समिति तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरेका थिए । उनले भने, “२०५३ सालमा विद्यालय स्थापना भएदेखि नै प्रधानाध्यापकको जिम्मेवारीमा रहेर काम गर्ने अवसर पाएँ । करिब २९ वर्षको यो यात्रा मेरा लागि महत्वपूर्ण अनुभव रह्यो ।
विद्यालयको विकास र विद्यार्थीको शैक्षिक भविष्यका लागि आफ्नो क्षमताले भ्याएसम्म निरन्तर प्रयास गरेँ । यस अवधिमा साथ र सहयोग दिनुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।”नवनियुक्त प्रधानाध्यापक गणेशलाल श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा विद्यालय परिवारले गरेको छ ।
२९ वर्षसम्म एउटै व्यक्तिको नेतृत्वमा सञ्चालन हुँदै आएको विद्यालयले अब नयाँ प्रधानाध्यापक पाएको छ । लामो समयको नेतृत्व परिवर्तनसँगै विद्यालयको शैक्षिक सुधार, व्यवस्थापकीय प्रभावकारिता र गुणस्तरीय शिक्षाका लागि नयाँ नेतृत्वमाथि जिम्मेवारी थपिएको छ । विद्यालय परिवारले पूर्वप्रधानाध्यापक चिमौरियाको योगदानको प्रशंसा गर्दै उनको आगामी जीवनको सफलताको कामना गरेको छ भने नवनियुक्त प्रधानाध्यापक श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
