काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सरकारी विज्ञापन तथा सूचना प्रकाशन वितरण प्रणालीलाई पारदर्शी, निष्पक्ष र समतामूलक बनाउनुपर्ने बताएका छन् । आज अर्थात शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा काभ्रे जिल्लाबाट सञ्चालित अनलाइन मदानी बिट डटकमको तेस्रो वर्ष पुरा गरी चौथौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
सरकारी विज्ञापन वितरणमा व्यक्तिगत सम्बन्ध, पहुँच र प्रभाव नभई सञ्चारमाध्यमको वास्तविक कार्यक्षमता, पाठक तथा दर्शकको पहुँच, भौगोलिक क्षेत्र, समाचारको प्रभावकारिता र नियमिततालाई आधार बनाउनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री थापाले ठूला सञ्चारमाध्यमले मात्रै सरकारी विज्ञापन प्राप्त गर्ने र साना तथा स्थानीय सञ्चारमाध्यम अवसरबाट वञ्चित हुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

सञ्चार क्षेत्रलाई उपलब्ध गराइने विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी नीतिलाई थप पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक संशोधन तथा स्पष्ट मापदण्ड विकास गर्ने प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए ।उनका अनुसार सञ्चारमाध्यमको प्रकृति, पाठक तथा दर्शकको पहुँच, भौगोलिक क्षेत्र, समाचारको प्रभावकारिता, नियमितता, विश्वसनीयता र कार्यक्षेत्रका आधारमा विज्ञापन वितरण गर्ने प्रणाली आवश्यक छ ।
प्रदेशभित्र सञ्चालनमा रहेका रेडियो, पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यमलाई समान अवसर प्रदान गर्दै स्थानीय सञ्चारमाध्यमको क्षमता अभिवृद्धि र आर्थिक दिगोपनमा समेत सरकारले ध्यान दिनुपर्ने उनले बताए । मुख्यमन्त्री थापाले पत्रकारितालाई केवल पेसाका रूपमा मात्र नभई सार्वजनिक हित र लोकतन्त्रको पहरेदारका रूपमा बुझ्नुपर्ने बताए । समाचार सम्प्रेषणका क्रममा पत्रकारमाथि हुने धम्की, दबाब, दुव्र्यवहार र आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने उल्लेख गर्दै उनले पत्रकारले निर्भीकतापूर्वक काम गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए ।

पत्रकारको सुरक्षा र श्रम अधिकारलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको भनाइ छ । न्यूनतम पारिश्रमिक, नियमित तलब, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षाको व्यवस्था सञ्चार संस्थाले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । पत्रकारलाई समाचार उत्पादन गर्ने जनशक्तिका रूपमा मात्र नभई सार्वजनिक हितका लागि काम गर्ने श्रमजीवीका रूपमा सम्मान गर्नुपर्ने उनले बताए ।
त्यस्तै, बदलिँदो प्रविधिसँगै पत्रकारिताको विश्वसनीयता समाचार छिटो सम्प्रेषण गर्ने क्षमताले मात्र निर्धारण नहुने मुख्यमन्त्री थापाको भनाइ छ । तथ्यको पुष्टि, स्रोतको विश्वसनीयता, निष्पक्षता र जिम्मेवार समाचार सम्प्रेषण नै पत्रकारिताको वास्तविक आधार भएको उनले स्पष्ट पारे । कृत्रिम बुद्धिमत्ता (एआई) ले पत्रकारितामा नयाँ सम्भावना सिर्जना गरे पनि प्रविधिको प्रयोग गर्दा मानवीय विवेक, व्यावसायिक आचारसंहिता र तथ्य परीक्षणलाई बिर्सन नहुने उनले बताए ।
यसैलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले पत्रकारहरूको डिजिटल सीप विकास, ज्ञान अभिवृद्धि, साइबर सुरक्षा, कृत्रिम बौद्धिकता तथा आधुनिक सञ्चार प्रविधिको प्रयोगसम्बन्धी तालिम र कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेको उनले जानकारी दिए । यसका लागि सम्बन्धित सञ्चार संस्था तथा सरोकारवालासँग सहकार्य गर्ने सरकारको सोच रहेको उनको भनाई थियो ।
सूचनालाई नियन्त्रण गर्ने होइन, नागरिकको पहुँच विस्तार गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले स्थानीय सञ्चारमाध्यमको सशक्तीकरण, प्रविधिगत क्षमता विकास र आर्थिक दिगोपनका लागि सम्भाव्य सहयोग तथा सहकार्यका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा कार्यक्रममा जिल्ला स्थित प्रतिनिधि सभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख र वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु तथा विभिन्न निकायमा कार्यरत ब्यक्तिहरु, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष लगायत काभ्रे उद्योग बाणिज्य संघ, नगर स्थित उद्योग
बाणिज्य संघ, विषयगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, उद्योगी ब्यवसायीहरु, विभिन्न राजनीतिक दलका प्रमुख, पदाधिकारी एवं विभिन्न तहमा रहेका ब्यक्तित्वहरु तथा राजनीतिक दलका विभिन्न भातृ संगठनका विभिन्न तहमा कृयाशिल ब्यक्तित्वहरु, शिक्षा, स्वास्थ्य, मानवअधिकार तथा सामाजिक क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरु, रहेका सामुदायिक तथा नीजि क्षेत्रका क्याम्पस, विद्यालयका प्रमुख तथा प्रधानाध्यापक, संचालक एवं विद्यालयका छाता संगठनका प्रमुख, पदाधिकारीहरु, कार्यरत शिक्षकहरु
तथा शिक्षासँग सम्वन्धित ब्यक्तिहरु, नेपाल पत्रकार महासंघ, प्याब्सन, एन प्याब्सन, रेडक्रस, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल बार एशोसिएसन, गैसस महासंघ, पतञ्जली योग समिति लगायतका विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष एवं विभिन्न तहका ब्यक्तिहरु, यातायात क्षेत्रमा कृयाशिल विभिन्न कम्पनी तथा समितिका अध्यक्ष एवं पदाधिकारीहरु, कार्यालय प्रमुख तथा यातायात क्षेत्रमा संलग्न ब्यक्तिहरु, होटल संघका पदाधिकारी तथा अन्य ब्यवसायीहरु, कृषि, पर्यटन, रोजगार लगायतका क्षेत्रका विभिन्न पालिका तथा संघ संस्थामा कार्यरत ब्यक्तिहरु, संचारकर्मीहरु, निर्माण ब्यवसायी तथा निर्माण क्षेत्रमा कृयाशिल ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
