जटिल अवस्थाका संक्रमितले उपचार नपाउने जोखिम

काठमाडौँ — कोभिड–१९ का जटिल बिरामी बढ्दै जाँदा पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न सरकारले ध्यान दिएको छैन । पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन सक्ने देखिएको छ ।

अहिले भएका कतिपय आईसीयू र भेन्टिलेटर पनि पर्याप्त जनशक्ति नभएर पूर्ण रूपमा सञ्चालन हुन सक्ने अवस्थामा छैनन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आईसीयूका लागि तालिम प्राप्त जनशक्ति नभएको बताए । ‘हाम्रो यत्रो ठूलो अस्पतालमा एक जना मात्र एनेस्थेसियोलोजिस्ट छन्, भेन्टिलेटर र आईसीयूमा सघाउन छात्रवृत्ति करारमा आएका एक जना आफैं कोरोना संक्रमित भएका छन् । क्रिटिकल केयरका लागि जनशक्ति छैन,’ उनले भने । उनका अनुसार कोभिड–१९ का लागि नारायणी अस्पतालमा पाँच शय्याको आईसीयू र पाँचवटा भेन्टिलेटर छन् । अस्थायी कोभिड अस्पतालमा १० वटा आईसीयू शय्या र तीनवटा भेन्टिलेटर छन् । ‘स्वास्थ्य संकटकाल घोषणा नगरी नहुने अवस्था छ,’ डा. उपाध्यायले भने ।

 

विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले पाँचवटा भेन्टिलेटर रहे पनि त्यसलाई सञ्चालन गर्न उपयुक्त जनशक्ति नरहेको बताए । जनकपुर प्रादेशिक अस्पतालका कोभिड–१९ संयोजक डा. जामुन सिंहले संक्रमितलाई सघन उपचार सेवा दिन झन् बढी समस्या आउने बताए । डा. सिंहका अनुसार उक्त अस्पतालको जनरलतर्फका भेन्टिलेटर र आईसीयू सेवा कर्मचारी संक्रमित भएपछि प्रभावित भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्माले आईसीयू शय्या र भेन्टिलेटर पर्याप्त नरहेको बताए । ‘जनकपुरदेखि पूर्वका बिरामी आउँछन् । यहाँको क्रिटिकल केयरको क्षमताले कोभिडका बिरामीलाई धान्न सकिँदैन,’ उनले भने । बीपीमा १५ वटा आईसीयू शय्या र १५ वटा भेन्टिलेटर छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाका जटिल बिरामीको संख्या वृद्घि हुँदै गए चिकित्सा क्षेत्रका सामान्य स्नातकदेखि अन्य विषयका विज्ञलाई समेत सघन उपचारमा लगाउनुपर्ने अवस्था आउन सक्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोभिड–१९ का लागि मुलुकभर ९ सय ४२ आईसीयू शय्या र ४ सय ९६ वटा भेन्टिलेटर व्यवस्था गरिएको छ । प्रदेश १ मा ४३ आईसीयू शय्या र १९ भेन्टिलेटर, प्रदेश २ मा ४५ आईसीयू शय्या र १७ भेन्टिलेटर, वाग्मतीमा ६ सय ३० आईसीयू शय्या र ३ सय ६१ भेन्टिलेटर कोभिड–१९ उपचारका लागि छुट्याइएको छ । यस्तै, गण्डकीमा १ सय ३७ आईसीयू शय्या र ५९ भेन्टिलेटर, प्रदेश ५ मा २९ आईसीयू शय्या र १३ भेन्टिलेटर, कर्णालीमा ४० आईसीयू शय्या र १७ भेन्टिलेटर, सुदूरपश्चिममा १८ आईसीयू शय्या र १० भेन्टिलेटर छुट्याइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म ९१ जना आईसीयूमा उपचाररत छन् । प्रदेश २ मा ४३, वाग्मती प्रदेशमा ३८, प्रदेश ५ मा ९ जना र गण्डकी प्रदेशमा एक जना आईसीयूमा छन् । वाग्मतीमा पाँच जना भेन्टिलेटरमा छन् ।

जेनतेन सञ्चालन

प्रदेश २ मा आईसीयू र भेन्टिलेटर जेनतेन चलेका छन् । जनकपुरस्थित प्रादेशिक अस्पताल, वीरगन्जस्थित नारायणी अस्पताल र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई प्रदेश सरकारले कोभिड अस्पताल बनाएको छ । तर यी तीनै अस्पतालमा स्वास्थ्य उपकरण र विशेषज्ञ चिकित्सक नहुँदा कोरोना संक्रमित र संक्रमण नरहेका अन्य रोगका गम्भीर बिरामी ज्यान गुमाउन बाध्य छन् । प्रदेश २ का गम्भीर बिरामी काठमाडौं, चितवन, विराटनगर र धरानमा उपचार गराउन जान्छन् ।

 

प्रादेशिक अस्पताल जनकपुरका प्रवक्ता डा. रामदेव चौधरी उपकरण र दक्ष जनशक्तिको अभावमा जटिल बिरामीको उपचारमा समस्या रहेको बताउँछन् । उनका अनुसार प्रादेशिक अस्पतालमा बिहीबार बसेको बैठकले कोरोना संक्रमित र संक्रमित नरहेका बिरामीको उपचारको व्यवस्थापन कसरी गर्ने भन्ने छलफल गरेको थियो । ‘कोरोना संक्रमण नरहेका जटिल बिरामीलाई इमर्जेन्सी वा वार्डमा राखेर उपचार भइरहेको छ,’ उनले भने, ‘कोरोनाका गम्भीर बिरामीलाई आईसीयूमा राखेर उपचार गर्दैछौं ।’ उनका अनुसार प्रादेशिक अस्पतालमा एउटा मात्रै भेन्टिलेटर रहे पनि हालसम्म प्रयोगमा ल्याउने खालको बिरामी आएका छैनन् ।

जटिल भएपछि मात्र अस्पताल

प्रदेश ५ मा लक्षणसहितको संक्रमण बढेसँगै अस्पतालमै उपचारमा पनि समस्या देखिन थालेको छ । अधिकांश संक्रमित होम आइसोलेसनमै छन् । लक्षण देखिएका संक्रमित पनि घरमै बस्ने र जटिल अवस्थामा पुगेपछि अस्पताल जाने गरेका छन् । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचाररत दुई जनाको बुधबार मृत्यु भएको छ । तीमध्ये एक संक्रमित हुन् ।

 

रूपन्देही, कपिलवस्तु र बाँकेमा तीव्र गतिमा संक्रमित बढेका छन् । पछिल्लो समय देखिएका धेरै संक्रमित लक्षणसहितका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा ९ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । ‘तीमध्ये धेरैको अक्सिजनको सहयोगमा उपचार भइरहेको छ,’ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले भने । अस्पतालको जनरल आइसोलेसनमा पनि लक्षण देखिएका २१ जनाको उपचार भइरहेको छ । प्रदेश ५ मा पछिल्लो चरणमा ४० वर्षभन्दा बढी उमेरका संक्रमित देखिइरहेका छन् ।

स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ । त्यसले वृद्धवृद्धा र लक्षणसहितका संक्रमितको उपचार थप चुनौतीपूर्ण बनेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । लक्षणसहितका संक्रमित बढी देखिएका केही जिल्लामा भेन्टिलेटर र आईसीयू बेड थप गर्नुपर्ने देखिएकाले तयारी सुरु गरिएको उनले बताए । कतिपय आइसोलेसन सेन्टरमा योगा र आयुर्वेद विधिबाट पनि उपचार भइरहेको छ ।

चितवनमा भेन्टिलेटर थप्ने तयारी

चितवनमा साउन तेस्रो सातापछि संक्रमितको अनुपात हेर्दा कम्तीमा तीन सय शय्याको आइसोलेसन चाहिने स्वास्थ्यकर्मीको आकलन छ । ‘चितवनका लागि अब कम्तीमा डेढ सय शय्याको आईसीयू र ७५ भेन्टिलेटर चाहिन्छ,’ भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भने । आईसीयू र भेन्टिलेटर भएका भरतपुर अस्पताल र चितवनका दुईवटा मेडिकल कलेजका शिक्षण अस्पतालमा गम्भीर अवस्थाका संक्रमितलाई राख्ने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

 

अहिले भरतपुर अस्पतालको १ सय ३५ शय्याको आइसोलेसनमा १० शय्याको आईसीयू र प्रयोग गर्न मिल्ने अवस्थाका तीनवटा भेन्टिलेटर छन् । अब निजी र शिक्षण अस्पतालमा पनि कोरोनाका बिरामी राख्नुपर्ने अवस्था आउन सक्ने देखिएकाले त्यसको तयारीमा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले बताए ।

व्यवस्थित नहुँदा उपचारमा समस्या

प्रदेश १ को कोसी अस्पतालमा जनशक्ति र उपकरण अभावमा हालसम्म दोस्रो श्रेणीको सेवा सञ्चालन हुन सकेको छैन ।

मुख्यमन्त्री शेरधन राईले कोसी अस्पतालको दोस्रो श्रेणीको कोभिड–१९ उपचार केन्द्रको चैत २१ गते र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख १२ गते तेस्रो श्रेणीको कोभिड–१९ अस्पतालको उद्घाटन गरेका थिए । प्रतिष्ठानमा तेस्रो श्रेणीको कोभिड–१९ अस्पताल बिहीबारबाट मात्र सञ्चालनमा आएको छ ।

प्रतिष्ठानले यसअघि आफ्नो पेइङ वार्ड र धर्मशालालाई आइसोलेसन सेन्टर बनाएर संक्रमितको उपचार गर्दै आएको थियो । पछिल्लो समय समुदायस्तरमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेपछि सरोकारवालाको दबाबका बीच कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । प्रदेश र संघीय सरकारको १२ करोड ५० लाख रुपैयाँ लागतमा लेभल–३ को रुपमा उक्त अस्पताल स्थापना गरिएको थियो ।

कोसी अस्पतालमा रहेको कोभिड उपचार केन्द्र

सार्वजनिक खरिद ऐनअनुसार मेडिकल उपकरण किन्न टेन्डर खोल्दा, आपूर्तिकर्ताले सामान ल्याउन ढिलाइ र अस्पतालको स्तरोन्नतिलगायत कारणले सञ्चालनमा ढिलाइ भएको प्रतिष्ठानले जनाउँदै आएको थियो । ‘कोभिड अस्पतालमा लक्षण देखिएका र सिकिस्त भएका संक्रमितलाई मात्र भर्ना गरिनेछ । लक्षण नदेखिएका संक्रमितका लागि आइसोलेसन सेन्टर छँदै छ,’ प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा.विकास साहले भने ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा हालसम्म ५ वटा भेन्टिलेटर व्यवस्थापन भए पनि दुईवटा मात्रै जडान गरिएको छ । ती दुइटा पनि अक्सिजन नमिलेर सञ्चालन गर्न नसकिएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवको भनाइ छ । ‘कोभिड–१९ उपचार केन्द्रलाई दोस्रो श्रेणीको सेवा दिन तोकिएको भए पनि हालसम्म त्यो सेवा प्रदान गर्न सकिएको छैन,’ उनले भने, ‘जनशक्ति र उपकरण अभावमा दोस्रो श्रेणीका कोरोनाको लक्षण देखिएका र गम्भीर भएका संक्रमितलाई सेवा प्रवाहमा समस्या भएको छ ।’

सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख सागर प्रसाइँले स्वास्थ्य अवस्था गम्भीर भएका संक्रमितहरूको व्यवस्थापनमा चुनौती भएको स्विकारे । उनले लक्षण नदेखिएका संक्रमितहरूलाई स्थानीय तहहरूले सञ्चालन गरेको आइसोलेसनमा राख्ने र कोसीको कोभिड–१९ उपचार केन्द्र र बीपी प्रतिष्ठानमा दोस्रो र तेस्रो श्रेणीका बिरामी मात्रै पठाउने तयारी भइरहेको बताए । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बीचमा संक्रमितको संख्या कम भएकाले नियन्त्रणमा आएको ठानेर दोस्रो र तेस्रो श्रेणीको सेवा सञ्चालन नगरेको बताए ।

तीन जिल्लामा आईसीयू थपिँदै

कर्णाली प्रदेश सरकारले दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा आईसीयू शय्या थप्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यसका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ । सामाजिक विकासमन्त्री दल रावलले तीनवटै जिल्ला अस्पतालमा ५/५ शय्या आईसीयू र एक/एकवटा भेन्टिलेटर थप्ने बताए । उनका अनुसार करिब २ साताभित्र आईसीयू र भेन्टिलेटर सञ्चालन गर्ने गरी मन्त्रालयले तयारी अघि बढाएको छ ।

सुर्खेत र जुम्ला अस्पतालमा पनि आईसीयू र भेन्टिलेटर थप्नेबारे छलफल भइरहेको उनले बताए । हाल कर्णालीका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा आईसीयू र भेन्टिलेटर छन् । कर्णालीमा अहिले आईसीयू र भेन्टिलेटरमा कोरोनाका बिरामी छैनन् ।

सुदूरमा जटिल बिरामी छैनन्

सुदूरपश्चिमका अस्पतालमा कोभिड–१९ संक्रमित कोही पनि आईसीयूमा भर्ना भएका छैन्न । सुदूरपश्चिमका १३ अस्पतालमध्ये कैलालीको सेती, कञ्चनपुरको महाकाली र डडेलधुरा अस्पतालमा आईसीयू शय्या र भेन्टिलेटर छन् ।

 

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको रिफरल अस्पताल सेतीमा १० आईसीयू शय्या र ५ भेन्टिलेटर छन् । महाकाली अस्पतालमा ८ वटा आईसीयू शय्या र ३ वटा भेन्टिलेटर छन् । डडेलधुरा अस्पतालमा २ वटा भेन्टिलेटर छन् ।

 अतुल मिश्र (काठमाडौं), अजित तिवारी (जनकपुर), घनश्याम गौतम (रूपन्देही), रमेशकुमार पौडेल (चितवन), देवनारायण साह (मोरङ), प्रदीप मेन्याङ्बो (सुनसरी), कलेन्द्र सेजुवाल (सुर्खेत) र मोहन बुढाऐर (धनगढी)

एक पटक पढ्नुहोस