जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी कांग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए ।
विश्वासको मत लिने पूर्वसन्ध्यामा मधेशको सत्ता समीकरण पनि परिवर्तन भएको छ । जसपा नेपाललाई सरकारबाट हटाएर नेकपा एमालेलाई इन्ट्री गराइएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।
यससँगै मधेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठबन्धन बनेको छ । तीन दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई राजीनामा गर्न निर्देशन दिएका थिए ।जनमतबाट अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहाले राजीनामा दिएका थिए ।
तर जसपाका तीनजना मन्त्रीले राजिनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको छ । जसपाबाट मन्त्री रहेका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन बर्खास्तीमा परेका हुन् ।
तीन दलीय गठबन्धनको मधेश प्रदेशमा स्पष्ट बहुमत पुग्छ ।
१०७ सदस्य प्रदेश सभामा सरकारको विश्वासको लागि ५४ सिट आवश्यक पर्छ । मधेशमा लोसपा जसपा नेपालमा एकीकरण भएर समाहित भएपछि उसको २६ सिट छ । दुईजना सांसद हाल निलम्बनमा छन् । एमालेको २४, कांग्रेस २२, नेकपाको १५ सिट छ । यसरी बनेको नवगठबन्धनको ६१ सिट पुग्छ । जनमतको १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एकएक जना प्रदेश सभा सदस्य छन् ।
