After header

देशभरका स्थानिय तहमध्ये काभ्रेको महाभारत शुन्य बेरुजु

महाभारत । देशभरका ७ सय ५३स्थानिय तहमध्ये काभ्रेको महाभारत गाउँपालिका शुन्य बेरुजु कायम भएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने बेरुजु प्रतिवेदनमा यस पटक पनि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले भने लगातार तेस्रो पटक ‘शून्य बेरुजु’ कायम गरेर देशभरिका स्थानीय तहका लागि उदाहरणीय सन्देश दिएको छ ।

महालेखा परीक्षणको पछिल्लो विवरणअनुसार महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्ने थोरै स्थानीय तहहरूमध्ये अग्रस्थानमा देखिएको छ । अझ महत्वपूर्ण कुरा, यो उपलब्धि आकस्मिक नभई निरन्तर तीन वर्षसम्म कायम रहनु हो । स्थानीय सरकारको आर्थिक अनुशासनमा यस्तो निरन्तरता दुर्लभ मानिन्छ ।

गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूका अनुसार यसको मुख्य कारण वित्तीय अनुशासन, समयमै कागजात व्यवस्थापन र निर्णय प्रक्रियामा पारदर्शिता हो । योजना छनोट देखि भुक्तानीसम्मका सबै चरणमा कानुनी प्रक्रिया कडाइका साथ पालना गरिएको अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

प्रत्येक योजनाको कागजात डिजिटल र लिखित दुवै रूपमा सुरक्षित राख्ने, उपभोक्ता समितिलाई नियमित अभिमुखीकरण गर्ने, भुक्तानीअघि प्राविधिक प्रतिवेदन अनिवार्य गर्ने, आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी बनाउने, खरिद प्रक्रियामा सार्वजनिक प्रतिस्पर्धालाई प्राथमिकता दिने जस्ता अभ्यासले सकारात्मक परिणाम दिएको अध्यक्ष जिम्बाले बताए ।

यस्ता कार्यमा दिनरात खटिने कर्मचारी एवं सम्बन्धी निकायलाई लगातार तिन पटक सम्म शुन्य बेरुजु बनाउन सहयोग गर्ने सबैलाई अध्यक्ष जिम्बाले धन्यवाद व्यक्त गरेका छन् ।

एक पटक पढ्नुहोस