सुवोधले लडेको जनयुद्ध : आँखै अगाडि साथीहरु सोत्तर

३० साउन, काठमाडौं । कलम बलियो कि तरबार ? एक जमानामा सरकारी विद्यालयका विद्यार्थीहरुलाई वादविवाद खेलाइँदा ‘ट्रेन्डिङ टपिक’ यही हुन्थ्यो । सायद अहिले पनि हुन्छ होला ।

हास्यव्यंग्य कलाकार सुवोध गौतमले चाहिँ आफ्नो जिन्दगीको भोगाइबाटै ‘तरवार’ र ‘कलम’ को शक्ति मापन गर्न पाए । किशोरावस्थाको उन्मादमा कलम थन्क्याएर बन्दुक बोके उनले । माओवादी जनयुद्धको पटाक्षेपसँगै बन्दुक बिसाएर फेरि कलम समाते । एउटा सामान्य विद्यार्थीबाट लडाकु, फेरि विद्यार्थी, अनि हास्यकलाकारमा रुपान्तरणको यात्रा कम्ता टेसिलो छैन ।

सुवोधको अनुहार, जिउडाल, बोलीचाली केहीबाट पनि झल्किँदैन कि उनी जनयुद्ध लडेका पूर्वमाओवादी लडाकु हुन् । निकै शालीन र सरल लाग्छन् । देश र समाजले उनलाई कलाकारका रुपमा चिनेको र मन पराएको छ ।

‘भद्रगोल’ बाट ‘एदुमे’ को उपनाम पाएका छन् । ‘क्यारिकेचर किङ’ को उपमासमेत उनलाई प्राप्त छ । तर, राजनीतिको धङधङीले उनलाई अहिले पनि पछ्याउन छोडेको छैन ।

युद्ध लड्दाका अविस्मरणीय घटनाहरु सुनाउन आग्रह गरिँदा सुवोध सुरुमा अलिकति असमञ्जसमा देखिए । भनुँ कि नभनुँको दोधारमा । यो कुरा बाहिर ल्याउँदा आफ्नो कलाकारितामा असर पो गर्छ कि भन्ने चिन्ता होला सायद ।

खैर, उनी अन्ततः स्मृतिको एउटा कन्तुर फुकाल्न तयार भए ।

****

कथा उनको बाल्यकालबाट सुरु हुन्छ । ‘हुने विरुवाको चिलो पात भनेझैं सानैबाट सुवोध विलक्षण स्वभावका थिए’ भन्ने टाइपको कथाचाहिँ होइन यो । ओखलढुंगाको एउटा गाउँमा सामान्य परिवारमा जन्मेका सुवोधलाई १२–१३ वर्षको उमेरदेखि ‘क्रान्ति’ को भूत चढ्न थाल्यो । त्यसको एकाध वर्षमा उनी ‘मुक्तीको एक मात्र बाटो माओवादी जनयुद्ध हो’ भन्ने निस्कर्षमा पुगिसकेका थिए ।

सुवोधलाई याद छ, ५४–५५ सालतिर उनी बाँसको ढुंग्रीलाई माइकका रुपमा उपयोग गर्दै माओवादीको नि:शुल्क प्रचार गर्दै हिँड्थे । ‘क्रान्तिबाटै परिवर्तन सम्भव छ, आज हुने विशाल आमसभामा उपस्थित होउँ,’ भनेर ढुंग्री फुक्दै हिँड्दा प्रहरी–सेनाले भेटेका भए के गर्थे होला भने उनी अहिले तर्सिन्छन् ।

किशोरावस्थामा सुवोधलाई के कुराले माओवादीप्रति नतमस्तक तुल्यायो त ?

‘पहिलो कुरा त गरिबी नै हो । कोही पैसाकै आहालमा पौडी खेल्ने र कोही जीवनभर दुई छाकका लागि संघर्ष गर्नुपर्ने यस्तो पनि प्रजातन्त्र हुन्छ भनेर एकदमसँगले रीस उठ्थ्यो । दोस्रोचाहिँ राजाको छोरा नै राजा हुने यस्तो पनि शासन व्यवस्था हुन्छ ? भनेर एकदमसँगले झोक चल्थ्यो । तेस्रो, नेपालको शैक्षिक प्रणाली पनि मलाई मन परेको थिएन । चौथो…’

०६० सालसम्म आइपुग्दा उनको गाउँमा माओवादीको चहलपहल बाक्लै थियो । सुवोध पढ्ने विद्यालयमा पनि माओवादीका भूमिगत नेताहरु बेलाबखत आएर भाषण गर्थे । त्यस्ता भाषण सुन्दा सुवोध खुब जोसिन्थे । अहिले नै बन्दुक बोकेर हिँडिहालौं झैं हुन्थ्यो उनलाई ।

उनले बिहानै दुई जोर कपडा र एउटा डायरी हालेको मैलो झोला बिहानै मकैबारीमा लुकाए । त्योभन्दा अगाडि उनले तीन थान चिठी लेखेका थिए । एउटा बुवाआमालाई, दोस्रो स्कुललाई र तेस्रो साथीभाइलाई

गाउँका किशोर–किशोरी र युवायुवतीलाई डर–धम्की वा लोभलालच देखाएर माओवादी आन्दोलनमा सामेल गराउने क्रम थियो । कति विद्यार्थी–शिक्षकलाई माओवादीले अपहरण गरेर पनि लैजान्थे । सुवोध पनि अपहृत हुन चाहन्थे । तर, उनीमाथि माओवादीको आँखै परेन । कारण उनी साह्रै लुरे, हेर्दै टिठलाग्दा थिए । यसले बन्दुक बोकेर खाँदैन भन्ने पनि पर्यो होला उनीहरुलाई ।

सुवोध पाएसम्म माओवादीका पर्चा र दस्तावेजहरु पढ्थे । सामान्य खेतिकिसानी गर्ने बुवाको राजनीतिक आस्था पनि कम्युनिष्ट विचारधारातर्फ थियो । यद्यपि, खुलेर माओवादीमा लागेका थिएनन् । सुवोधले चाहिँ अठोट नै लिए– अब जनयुद्धमा लाग्ने हो, सामन्तहरुको जरोकिरो उखेल्ने हो । देश बदलेरै छोड्ने हो ।’

माओवादीले रटाएको ‘जिते मुक्ति, हारे मृत्यु’ भन्ने नारालाई मन्त्र बनाउँदै सुवोधले जनयुद्धमा होमिने एकल निर्णय लिए । उनले गाउँका केही मिल्ने साथीहरुलाई पनि फकाउने प्रयास नगरेका होइनन् । तर, कोही तयार भएनन् । त्यसैले उनी एक्लै भए ।

जनयुद्धमा त लाग्ने, तर कसरी । सुरुमा त माओवादी भेटाउनुपर्‍यो । उनीहरु कहिले स्कुलमा भाषण गर्न वा घरमा बास बस्न आउँछन् भनेर पर्खिने धैर्यतासम्म उनमा थिएन । उनी बन्दुक बोकेर ‘दुश्मन’सँग भिड्न त्यति नै व्यग्र थिए, जति नयाँ प्रेममा परेका अल्लारे केटाकेटी ‘फर्स्ट किस’ का लागि व्यग्र हुन्छन् ।

****

०६१ सालको असार १५ को दिन सुवोधको लागि अविस्मरणीय छ । दही च्यूरा खाने यही दिन उनी जनयुद्ध लड्न झोला भिरेर घरबाट हिँडेका थिए ।

त्यस दिन उनले बिहानै दुई जोर कपडा र एउटा डायरी हालेको मैलो झोला बिहानै मकैबारीमा लुकाए । त्योभन्दा अगाडि उनले तीन थान चिठी लेखेका थिए । एउटा बुवा-आमालाई, दोस्रो स्कुललाई र तेस्रो साथीभाइलाई । भाका फरक–फरक भए पनि आशय उही थियो– ‘म शीरमा कफन बाँधेर लडाइँको मोर्चामा जाँदैछु । फर्किन पनि सक्छु, नफर्किन पनि सक्छु । जिते मुक्ति हारे मृत्यु छँदैछ । सक्नुहुन्छ भने मलाई माफ गरिदिनू ।’

बुवाको खल्तिमा हात घुसार्दा ८ सय रुपैयाँ भेटियो । त्यो पैसा आफ्नो खल्तिमा स्थानान्तरण गरे र लुसुक्क घरबाट निस्किए । बिहान आमाले दहीच्यूरा खुवाएकाले खानाका लागि पनि पर्खेनन् ।

‘हाम्रो घरनजिकै खोला थियो । म कहिलेकाहीँ खोलामा पौडी खेलेर दिन बिताइदिन्थेँ । त्यसैले दिनभरि हराउँदा पनि घरमा खासै खोजीनिति हुन्थेन,’ उनी भन्छन् ।

जनयुद्ध लड्न हिँडेका सुवोधलाई माओवादी कहाँ भेटिन्छन् भन्ने एकिन थिएन । सुनकोशीदेखि बाप्चासम्म उनी माओवादीको खोजीमा भौँतारिए । । तर, कोही फेला पार्न सकेनन् ।

दुई दिनसम्म धुईंपत्ताल खोज्दा पनि माओवादी नभेटिएपछि उनी निराश बने । अब के गर्ने ? उनले काठमाडौंतिर लाग्ने निर्णय गरे । काठमाडौंमा उनका दाइ बस्थे । आफ्नै दाइ ।

‘घरमा चिठी नै छोडेर हिँडेकाले फर्किने कुरा आएन । त्यसैले काठमाडौं गएर दाइसँग आत्मसमर्पण गर्छु र उहाँसँगै बस्छु भन्ने निधोमा पुगेँ,’ उनी सम्झिन्छन् ।

तर, कथामा ट्वीस्ट आयो ।

उनी काठमाडौं जानलाई भनेर घुर्मीमा गाडी कुरिरहेका थिए । पहाडी गाउँमा जन्मे–हुर्केका सुवोधले त्यसअगाडिसम्म चारपाङ्ग्रे सवारी देखेका नै थिएनन् । गाडीभित्र खलासी हुन्छ, उसले ढोका ठटाएर ह्यान त्यान भन्दै यात्रुलाई बोलाउँछ भन्ने सुनेका थिए ।

घरर–घरर गर्दै एउटा ठूलो वस्तु आयो । उनको नजिकै रोकियो पनि । सुवोधले यसो हेरे, खलासी देखेनन् । यो गाडी होइन क्यारे भन्ने लाग्यो उनलाई । त्यसैले चढेनन् ।

त्यति नै बेला प्लस टु पढ्ने केही केटाहरु हिँड्दै उनी छेउ आइपुगे । केटाहरुले गरेको गफ सुवोधको कानमा ठोक्कियो । गाडीको छततर्फ औंल्याएर एकजना भन्दै थिए, ‘यिनीहरु माओवादी रे । गीतसीत पनि गाउँदा रहेछन् ।’

‘अर्कोले थप्यो, ‘एउटा चैं ठूलै नेताजस्तो छ ।’

केटाहरुले सामान्यरुपमा गरेको यही गफ सुवोधका लागि बहुमूल्य सूचना बनिदियो । गाडी हिँड्न ठिक्क भइसकेको थियो । ३० सेकेन्ड मात्रै ढिला भएको भए उनको त्यो गाडी छुट्थ्यो । जीवन आखिर संयोगहरुको श्रृंखला न हो ।

उनी थप केही नसोचि पछाडिको भर्‍याङबाट छततर्फ उक्लिए । यसरी उनको पहिलो गाडी यात्रा छतमा भयो । यद्यपि, पहिलोपटक गाडी चढ्दाको रोमाञ्चकताभन्दा उनलाई ‘माओवादी भेटेको’ हर्ष ठूलो थियो ।

छतमा बसेकामध्ये एकजना सुवोधले पनि चिनेका व्यक्ति रहेछन् । शरदचन्द्र रसाइली, जसका उनी ‘फ्यान’ थिए । अनेरास्ववियू क्रान्तिकारी सचिवालय सदस्य रसाइलीले आफ्नो विद्यालयमा आएर भाषण गरेको सुवोधले बिर्सेका थिएनन् । उनी रसाइलीको स्वरसमेत दुरुस्त नक्कल गर्न सक्थे । आफ्नो आइडललाई नै भेट्टाएपछि ढुंगा खोज्दा भगवान मिलेझैं भइहाल्यो ।

तर, उनलाई कसरी विश्वासमा लिने ? ‘म तपाईंको ठूलो फ्यान हुँ’ भन्दै अटोग्राफ माग्न गएका थिएनन् उनी ।

सुवोधले भने, ‘म तपाईंलाई चिन्छु । तपाईंकै भाषणले गर्दा ममा माओवादी आन्दोलनमा लाग्ने प्रेरणा मिल्यो र घर छोडेर हिँडेको छु । मलाई आफूसँगै लैजानुस् ।’

तर, रसाइलीले कसरी झट्टै विश्वास गर्न सक्थे । कतै यो स्कुल पढ्नका दु:खले माओवादी बन्न तम्सेको त होइन भन्ने आशंका उनलाई भयो । उनले सुवोधसँग केही प्रश्नोत्तर गरे । अन्ततः आश्वस्त भए र सुवोधलाई आफूसँग हिँडाउन तत्पर भए । यसप्रकारले सुवोधको माओवादी प्रवेश निश्चित भयो ।

उदयपुरको मयंखु भन्ने ठाउँमा बस रोकियो । रसाइलीले सुवोधलाई त्यहाँ रहेको माओवादीको आधार शिविरमा लिएर गए । त्यही दिन ‘चम्किलो तारा’ भन्ने उपन्यास पढ्न दिए । सुवोधले पनि दुई दिनमै पढिसिध्याए । उनको प्रतिवद्धताबाट रसाइली प्रभावित बने ।

सुवोधलाई तत्कालै जनसेनामा भर्ति लिइयो । भोलिपल्टै उनले सकेट बम पड्काउन सिके । त्यसपछि थरिथरि बन्दुक चलाउन सिके । विभिन्न तालिमहरु लिन थाले । उनलाई सपनाको नयाँ संसारमा अवतरण भएको महसुस भइरहेको थियो । तर, यही सपनाको संसारमा त्रासदीका क्षणहरु आए । मृत्यु धेरैपटक उनको आँखै अगाडिबाट हात हल्लाउँदै गयो ।

‘लडाइँमा सामेल भइसकेपछि मृत्युसँग डर यसै हराउँदो रहेछ,’ उनी भन्छन्, ‘लडाइँमा हुने मृत्युलाई बलिदानीका रुपमा हेरिन्थ्यो । हाम्रो रगत खेर जाँदैन, बाँचेकाहरुले देश बनाउँछन् भन्ने विश्वास प्रबल थियो । त्यसैले लडाइँमा जानलाई डरभन्दा उत्साह बढी हुन्थ्यो ।’

सुवोधको भनाइअनुसार भर्खर माओवादी सेनामा प्रवेश गरेका युवायुवतीहरु लडाइँमा जानका लागि हानाथाप नै गर्थे । आफू सहभागी भएर लडाइँ जितियो भने संगठनभित्र हाइहाइ हुने र पदोन्नतिसमेत हुने लोभ थियो उनीहरुलाई । तर, त्योभन्दा ठूलोचाहिँ उनीहरुमा चर्को युद्धोन्माद थियो । त्यसैले गर्दा कुनै लडाइँका लागि छनोटमा नपर्नेहरु निराश बन्थे ।

‘यसपालि पनि मेरो नाम आएन भने जनसेना नै छोडिदिन्छु,’ भनेर कतिपयले कमाण्डरलाई घुर्क्याउँथे । कमाण्डरचाहिँ ‘यस्ता अवसर फेरि–फेरि पनि आउँछन्,’ भनेर थुम्थुम्याउन खोज्थे । ‘सेना मात्रै सबथोक होइन, हामी क्रान्तिका पेच किला हौं, जुनसुकै मोर्चामा पनि काम गर्नुपर्छ,’ भनेर पनि सम्झाउँथे ।

अरुजस्तै सुवोधलाई पनि युद्ध लड्ने हुटहुटी थियो । तर ज्यान लुम्रो भएकाले उनलाई लडाइँको फ्रन्टलाइनमा कमाण्डरले पत्याएनन् । यद्यपि, ठूला–साना केही लडाइँहरुमा उनी प्रत्यक्ष सहभागी भए ।

****

सुबोधले हामीसँग आफू प्रत्यक्ष सहभागी भएका दुईवटा लडाइँको अनुभव सेयर गरे । ती अनुभव उनकै शब्दमा :

०६१ सालमा कालीकोटको पिलीमा जनार्दन शर्माको नेतृत्वमा सफल कारवाही भयो । त्यसबेला आर्मीको अस्थायी ब्यारेकमा जनसेनाले टाढाबाट ८१ एमएमको हतियारले प्रहार गरेको थियो । आकस्मिकरुपमा आक्रमण भएपछि सेनाले सम्हालिने मौका नै पाएन । उक्त आक्रमणमा सेनातर्फ १ सय ६० जनाको हताहती भएको र ठूलो संख्यामा हतियार बरामद भएको खबर आएपछि माओवादीभित्र उत्साहको लहर फैलिएको थियो ।

ठ्याक्कै त्यही सिको गरेर भोजपुरको घोडेटारमा हान्ने योजना बनाइएको रहेछ । त्यहाँ पनि सेनाको अस्थायी ब्यारेक थियो । पूर्वबाट एक हजार र पश्चिमबाट एक हजार जना जनसेनाको टोली सो आक्रमणमा सहभागी हुने निश्चित भयो । पश्चिमको टोलीमा म पनि छानिएँ ।

कालीकोटको सफलता दोहोर्‍याउने लक्ष्यका साथ योजना बुनिएको थियो । तर परिणाम उल्टो आयो । यहाँ सेना पहिल्यै अलर्ट पोजिसनमा रहेछन् । अर्कोतर्फ हाम्रो पूर्व र पश्चिमतर्फको फौजबीच नै समन्वय अभाव भयो । पूर्वतिरको समूहको बुझाइ एक बजेसम्म चुप लागेर पोजिसन लिने र त्यसपछि आक्रमण गर्ने भन्ने रहेछ । पश्चिमतर्फका चाहिँ १ बजेसम्म लडाइँ नै सिध्याएर फर्किसक्ने योजनामा थियौं ।

म फ्रन्टलाइनमा नभएकाले बन्दुक बोकेको थिइनँ । तर, दुईवटा सकेट बम साथमा थियो । फ्रन्ट लाइनमा रहेको समूहले ५ बजेर ४९ मिनेटमा ८१ एमएमको हतियार प्रहार गर्यो । सेनाले तत्कालै रियाक्सन लियो ।

हाम्रो कमाण्डर हुनुहुन्थ्यो कमरेड जमिन । सेनाको प्रत्याक्रमणका क्रममा उहाँलाई गोली लाग्यो र आर्मी ब्यारेकभित्रै ढल्नुभयो । तत्कालै उहाँको निधन भयो । सुरुमै कमाण्डर मारिएपछि जनसेनाको मनोबल खस्कियो । भटाभट गोली लागेर साथीहरु ढल्न थाले ।

आक्रमणका क्रममा एकजना व्यक्ति हाम्रै अगाडि पुक्लुक्कै ढले । म र महिला छापामार आधारशीलाले उनलाई हतार–हतार स्ट्रेचरमा हाल्यौं । हामीले उनलाई जसोतसो गाडी भएसम्म पुर्‍यायौं । गाडी नजिक आउनासाथ उनी स्ट्रेचरबाट हाम्फाले र उफ्रिँदै गाडीभित्र छिरे

केहीबेरपछि आकाशमा हेलिकोप्टरको आवाज सुनियो । जनसेनामा थप त्राश फैलियो । हेलिकोप्टरले एकैछिनमा चर्को लाइट फ्याँक्थ्यो र दिउँसोजस्तै उज्यालो हुन्थ्यो । फेरि एकैछिनमा अन्धमुष्ठी । हामीमाझ कसैले भन्यो, ‘यो हेलिकप्टर तर्साउन मात्र आएको हो, नजिकै सैनिक ब्यारेक भएकाले यसले यहाँ बम खसाल्न सक्दैन ।’ त्यो सुनेपछि मैले अलि सन्तोषको सास फेरेँ ।

तर, एक लडाकुले आक्रोशमा आएर हेलिकोप्टरलाई ताक्दै फायर गरिदिए । त्यहाँबाट हानेको गोलीले हेलिकोप्टरलाई क्षति पुर्‍याउने सम्भावना नै थिएन । बरु उनीहरुलाई हामी कहाँनेर छौं भन्ने एकिन भयो र त्यहीँनेर हेलिकोप्टरबाट बम हानियो । मेरो आँखै अगाडि भएको विष्फोटमा परेर ९ जनाको घटनास्थलमै मृत्यु भयो ।

यता, गोलीको आवाज र घाइतेहरुको चिच्याहटले वातावरण कोलाहलपूर्ण थियो । बिहान १ बजेसम्म लडाइँ चल्दा जनासेनाले ब्यापक क्षति व्यहोर्नुपर्यो । यत्रतत्र साथीहरु लडिरहेका थिए । घाइतेहरु चिच्याइरहेका थिए । कोही पानी–पानी भनिरहेका थिए । कसैको हात छैन । कसैको खुट्टा छैन । रगतको खोलो बगेको छ ।

नजिकै एउटा गोठजस्तो थियो । त्यसलाई प्राथमिक उपचार कक्षका रुपमा प्रयोग गरिएको थियो । घाइतेहरुलाई स्ट्रेचरमा हालेर त्यहाँ लगिन्थ्यो । त्यहाँ ‘डाक्टर’ उपचारमा तल्लिन हुन्थे । उनीहरु एमबीबीएस पढेर डाक्टर भएका होइनन्, परिस्थितिले डाक्टर बनाएका । जानी–नजानी घाउ सिउँथे ।

युद्ध सकिँदासम्म हामी २२–२५ जना साथीहरु बाँकी थियौं । जित्न सक्ने अवस्था नभएपछि हामी त्यहाँबाट भाग्नुको विकल्प भएन । फर्कने क्रममा म र एकजना साथीले ठूलो ज्यानका एक घाइतेलाई स्ट्रेचरमा बोकेका थियौं । उनी छट्पटाइरहेका थिए । हामीभन्दा पछाडि २२ जना थिए । पछाडि रहेका साथीहरु एक–एक गर्दै लुक्न र भाग्न थालेछन् । अन्तिममा हामी तीन जना मात्रै बाँकी रह्यौं । साथीहरुको यस्तो व्यवहारले निकै दु:ख लाग्यो ।

अन्धकार रातमा जंगलको बाटो हामी घन्टौंसम्म हिँडिरह्यौं । राति १ बजेदेखि बिहान उज्यालो हुँदासम्म हिँड्दा पनि जंगल सकिँदैन त । खासमा हामी एउटै ठाउँमा चक्कर लगाइरहेका रहेछौं । करिब ५ घन्टामा करिब १५ मिनेटको बाटो मात्रै हिँडेको बिहान थाहा भयो । मतलब हामी अझै पनि सेनाको ब्यारेक नजिकै थियौं । भाग्यबस सेनाले हामीलाई फेला पारेन ।

यसरी घन्टौंसम्म घुमाउँदा हामीले स्ट्रेचरमा बोकेका व्यक्तिको नाजुक भयो । उनी छट्पटाउन छोडे । एकजनाले उनको नाडी छामेर भन्नुभयो– कामरेडले वीरगति पाउनुभयो । मृत शरीरमा छामछुम गर्दा ‘कामरेड पंकज’ लेखिएको कार्ड भेटियो ।

हामीले आफूसित भएको कोदालोले खाल्डो खनेर मृत शरीरलाई व्यवस्थापन गर्यौं । मुठ्ठी कसेर अभिभावदन गर्‍यौं र भावुक बन्दै त्यहाँबाट हिँड्यौं । हामीलाई फेरि अर्को लडाइँमा जानु थियो ।

****

मलंगवाको आक्रमण योजना र परिणामचाहिँ भोजपुरको भन्दा निकै भिन्न थियो । त्यहाँ विभिन्न सरकारी कार्यालयहरुलाई लक्षित गरेर एकसाथ हमला गरियो । प्रमुख जिल्ला अधिकारीसहित ४५ जनालाई कब्जामा लिइयो ।

सातवटा रिजर्भ गाडी चढेर माओवादीको फौज मलंगवातर्फ गएको थियो । कमाण्डरले दिएको सूत्र थियो, एक फायरमा उठाउने, दुई फायरमा सुताउने । रातको समय भएकाले हामीले पहिलो फायर गर्दा दुश्मनहरु ब्यूँझने र दोस्रो फायरले उनीहरुलाई ढाल्ने कमाण्डरको आदेशको अन्तर्य थियो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत लगायतका सरकारी निकायमा एकसाथ हमला गरियो । त्योभन्दा अगाडि विभिन्न स्थानमा रुख ढालेर बाटो अवरुद्ध गरका थियौं ताकि सहयोगका लागि सेना आउन नसकोस् । अर्कोतर्फ नवलपुरमा अकारण हवाईफायर गरेर सेनाको ध्यान त्यता केन्द्रित गराउने गरी जाल बुनिएको थियो ।

आक्रमण सुरु हुनासाथ प्रमुख जिल्ला अधिकारी बोधराज अधिकारीले आफ्ना सुरक्षाकर्मीलाई आत्मसमर्पण गर्न आदेश दिनुभयो । उनीहरुले हतियार बुझाएर आत्मसमर्पण गरे । तर, प्रहरी कार्यालयमा डीएसपी भने आत्मसमर्पण गर्न तयार भएनन् । प्रहरीको मनोबल बढाउन उनी आफैंले माइकिङ गरिरहेका थिए । हाम्रा साथीहरुले आक्रोशमा अन्धाधुन्द गोली वर्षाउन थाले ।

यही आक्रमणका क्रममा एकजना व्यक्ति हाम्रै अगाडि पुक्लुक्कै ढले । पातलो ज्यानको भएकाले माओवादी नै हुन् भन्ने भयो । गोली लाग्यो होला भन्ठानेर म र महिला छापामार आधारशीलाले उनलाई हतार–हतार स्ट्रेचरमा हाल्यौं । रातिको समय, नचिनेको बाटो । कति ठाउँमा घुँडासम्म आउने दबदबे हिलो थियो । हामीले उनलाई जसोतसो गाडी भएसम्म पुर्‍यायौं ।

गाडी नजिक आउनासाथ उनी स्ट्रेचरबाट हाम्फाले र उफ्रिँदै गाडीभित्र छिरे । खासमा उनलाई केही पनि भएको रहनछ । ज्यान बचाउनका लागि हाम्रै फौजका साथीले यस्तो घटिया उपाय रचेको देखेर दिक्क लाग्यो ।

हामी पनि गाडीभित्र छिर्‍यौं । त्यहाँभित्रको माहोल फेरि अर्कै  थियो । कामरेड जोशिला भन्ने साथीलाई गोली लागेर छट्पटाइरहनु भएको रहेछ । डाक्टरहरुले उहाँको पेटमा सिलाउने प्रयास गरिरहेका थिए । तर, जोशिलाको ज्यान बचेन । उहाँ केहीबेरमै शान्त हुनुभयो ।

पछि थाहा भयो, उहाँलाई खासमा तिघ्रामा गोली लागेको रहेछ । गोली तिघ्राबाट छेडेर पेटबाट निस्केको थियो । तिघ्राको घाउलाई ध्यान नदिएका डाक्टरले पेटमा सिलाइरहेका थिए । ‘वाध्यताका डाक्टर’ न परे । अन्ततः अत्यधिक रक्तस्रावले उहाँको मृत्यु भयो ।

जे होस्, त्यस आक्रमणलाई पार्टीले ‘सफल’ भनेर संश्लेषण गर्यो । बाहिर केही विवादहरु पनि सुनिए । डीएसपीपट्टि प्रहरीको गोली सकिएपछि उनीहरुलाई बन्दुकको कुन्दाले हानेर मारिएका समाचारहरु आए । यसमा पार्टीभित्र कारवाहीका कुराहरु पनि सुनिए ।

प्रजिअसहित ४५ जना करिब दुई महिना हाम्रो नियन्त्रणमा रहनुभयो । मैले देखेसम्म उहाँहरुमाथि राम्रो व्यवहार भएको थियो । प्रजिअ मधुमेहको रोगी हुनुहुँदो रहेछ । उहाँसहित तीन जनालाई बेलुका सधैं रोटी बनाएर खुवाइन्थ्यो । अन्तमा मानवअधिकारवादी र पत्रकारको रोहबरमा हामीले फूलमाला लगाइदिएर सिन्धुलीको बजारबाट  प्रजिअसहितको टोलीलाई मुक्त गर्यौं ।

****

दोस्रो जनआन्दोलन (२०६२/०६३)  सफल भएपछि माओवादी शान्ति प्रक्रियामा आयो । माओवादी लडाकुहरुलाई क्यान्टोनमेन्टमा राखेर प्रमाणीकरण सुरु भयो । उमेर नपुगेकाहरुलाई ‘अयोग्य लडाकु’ को रुपमा वर्गीकरण गर्दै केही समयपछि क्यान्टोनमेन्टबाट निकालियो । ज्यान हत्केलामा राखेर क्रान्तिमा लागेकाहरु अयोग्यको विल्ला भिरेर रुँदै घर फर्किए ।

प्रमाणीकरणमा परेर स्वेच्छिक अवकास लिएका लडाकुहरुलाई सरकारले पाँचदेखि लाख रुपैयाँ राहत दियो । सुवोध भने न अयोग्य ठहर भएर निकालिए न योग्य ठहर भएर राहत पाए । उनी सिन्धुलीमा रहेको दोस्रो डिभिजनबाट पहिलो प्रमाणीकरणमा परेका थिए । तर, दोस्रो प्रमाणीकरणमा नपर्दा क्षतिपूर्तिबाट वञ्चित भए । यस विषयमा आफूले नेताहरुसँग गुनासो गरे पनि कुनै सुनवाइ नभएको सुवोध बताउँछन् ।

जे भए पनि माओवादी पार्टीप्रति उनको आस्था र प्रतिवद्धता यथावत नै थियो । ०६४ सालको चुनावी अभियानमा उनी सक्रियतापूर्वक खटिए । चुनाव प्रचारकै क्रममा उनीभित्र गुम्सेको कलाकारिताको पर्दा उघ्रियो । उनी सानैदेखि अरुको बोली र हाउभाउ नक्कल गर्न खप्पिस थिए । साथै हास्यव्यंग्य कविताहरु पनि लेख्थे । उनको यो प्रतिभालाई माओवादीले चुनावी अभियानमा उपयोग गर्‍यो ।

उनको कलाकारितालाई उजिल्याउन तत्कालिन माओवादी नेता माइला लामाको पनि ठूलो हात छ । उनै माइला लामा जो पछि विप्लव माओवादीमा लागे र अहिले जेलमा छन् ।

सुवोधको प्रतिभाबारे माइलाको कानमा खबर पुग्यो । कला–साहित्यमा गहिरो अभिरुचि भएका उनी आफैंले सुवोधलाई भेटे र उनको क्षमताबाट प्रभावित भए । उनैले सुबोधलाई काठमाडौं ल्याइ । ०६५ सालको जेठ १० गते काठमाडौंमा माओवादीको एउटा भव्य कार्यक्रम भएको थियो । माइलाको पहलमा सुवोधले त्यस कार्यक्रममा आफ्नो प्रस्तुति देखाउने अवसर पाए । त्यसबेला उनले राजा ज्ञानेन्द्र, गिरिजा, माधव नेपालदेखि धुर्मुससम्मको क्यारिकेचर गरेका थिए । उनको प्रस्तुतिले निकै वाहवाही पायो । प्रस्तुति सकिएपछि खुशी भएर माइलाले आफूलाई बोकेरै उचालेको सुवोध सम्झिन्छन् ।

त्यसपछि सुवोध काठमाडौंबाट फर्किएनन् । उनलाई माओवादीको मेची–काली जागरण अभियानमा समावेश गरियो । देशका विभिन्न जिल्लामा पुगेर उनले आफ्नो प्रतिभा देखाए । माओवादीभन्दा बाहिर जनस्तरमा नै उनको चर्चा सुरु भयो ।

०६८ सालमा सुवोधले पार्टीकै सहयोद्धा पाल्मो लामासँग विवाह गरे । पाल्मो पार्टीभित्र सुवोधभन्दा सिनियर थिइन् । उनी गीत पनि गाउँथिन् । बिहेको प्रस्ताव पाल्मोले राखेकी थिइन् । दुवैको मन मिलेपछि पार्टीमा कुरा राखे । पार्टीले स्वीकृति दिएपछि फूलमाला लगाएर प्रगतिशील विवाह भयो । हितमान शाक्य प्रमुख अतिथि थिए ।

सुवोधले भने, ‘जनयुद्धकालमा प्रगतिशील विवाह हुँदा बेहुला र बेहुलीबिच बन्दुक साटासाट गर्ने प्रचलन थियो । हाम्रो हकमा चाहिँ बन्दुक बिसाइसकेकाले त्यस्तो गरिएन ।’

अहिले उनीहरुका दुई छोराछोरी छन् ।

****

९ कक्षा पढ्दापढ्दै कलम थन्क्याएर बन्दुक बोकेका सुवोध त्यसको करिब चार वर्षपछि फेरि कलममा फर्किए । माओवादी शान्तिप्रक्रियामा आएपछि उनले आफ्नो टुटेको पढाइलाई पुनः जोडे । गाउँमा पहिले पढेकै स्कुलबाट एसएलसी परीक्षा दिए । गाउँकै एक शिक्षकसँग १५ दिन ट्यूसन पढेको भरमा उनले फर्स्ट डिभिजनमा एसएलसी पास गरे ।

त्यसपछि काठमाडौं आएर आरआर क्याम्पसमा भर्ना भए । पत्रकारिता विषय रोजेका थिए । तर, कलाकारिता र राजनीतिको व्यस्तताले गर्दा उनी कलेज जान्थेनन् । आईए प्रथम वर्षमा उनले एक दिन पनि कक्षा कोठा टेकेनन् । दोस्रो वर्षमा एकदिन अनुभवकै लागि भनेर कलेज गए ।

त्यस दिनको अनुभव सुनाउँदै उनी भन्छन्, ‘म एउटा डायरी र पेन बोकेर गएको थिएँ । कक्षा कोठा बल्लतल्ल भेटियो । एकजना सरले ल्यापटपमा पढाउँदै हुनुहुँदो रहेछ । उहाँसँग अनुमति लिएर भित्र गएँ र बेन्चमा बसेँ । अनि गोजीबाट डायरी झिकी त्यसलाई आफ्नो घुँडामा राखेर सरले पढाएको भकाभक उतार्न थालेँ ।

त्यो देखेर सरले मलाई भन्नुभयो, ‘भाइ, कपी डेस्कमै राखेर लेख न ।’ मैले जवाफ दिएँ, ‘होइन सर यसै गरी सजिलो लाग्छ ।’ उहाँले व्यंग्य कस्नुभयो, ‘पहिलोचोटि कक्षामा आएका छौ, अनुशासनमा बसेर लेख ।’

मलाई झ्वाँक चल्यो । ‘तपाईंको काम पढाउने हो, खुरुखुरु पढाउनु न । मैले घुँडामा राखेर लेखुँ कि छातीमा राखेर, तपाईंलाई के फरक पर्छ ? कसले कति पढेको छ भन्ने जान्न मन छ भने अहिले नै परीक्षा लिनुस्, शिक्षक हुँ भन्दैमा नचाहिने दबाव नथोपर्नुस्…’ यस्तैयस्तै जवाफ दिन चाहेको थिएँ, तर मुखैमा आएको जवाफ पनि रोकेँ । अनि डायरीलाई गोजीमा हालेर रन्किँदै कक्षाबाट निस्किएँ ।’

सम्भवतः पूर्वमाओवादी लडाकूको तुजुक उनमा त्यसबेला देखिएको थियो । भोलिपल्टदेखि उनी कहिल्यै कलेज गएनन् । यद्यपि, आईए पहिलो र दोस्रो वर्ष सरासर पास गरे । त्यसपछि सोही क्याम्पसबाट बीए पनि उत्तीर्ण गरे । भनिरहनु नपर्ला कि उनी बीएमा पनि कलेज गएनन् । परीक्षा आउनुभन्दा १५–२० अगाडि मात्र उनी किताबहरु खोज्न थाल्थे । यही पाराबाट अहिले उनले राजनीतिशास्त्रमा एमएको अध्ययन पनि पूरा गरेका छन् ।

तपाईं कलाकारितामा नाम बनाइसकेको मान्छे, औपचारिक अध्ययनचाहिँ किन आवश्यक देख्नुभयो ?

उनले रोचक जवाफ दिए्, ‘मैले आफ्नो लागिभन्दा अरुको लागि पढेको हुँ । पढेको मान्छेलाई मानिसहरुले फरक नजरले हेर्छन् । बढी सम्मान दिन्छन् । जसले पढाइलाई महत्व दिन्छन्, उनीहरुकै लागि मैले पढेको हुँ । अन्यथा कलाकारिताका लागि औपचारिक पढाइमा मरिहत्ते गरिरहनु आवश्यक थिएन ।’

त्यसो त विद्यालयमा पनि सुवोध पढाइमा अब्बल नै थिए । पहिलो–दोस्रो भइरहन्थे ।

‘मलाई सानैदेखि पुस्तक पढ्न मन पर्थ्यो । त्यो पनि गाता भएको पुस्तक,’ उनले सुनाए ।

गाता भएको भन्नाले ?

‘मैले विद्यालय पढ्दा कहिल्यै गाता भएको पुस्तक पढ्न पाइनँ । बुवा–आमाले नयाँ किताब किनिदिन सक्नुहुन्थेन । सिनियर दाइहरुले पढेर थोत्र्याएका पुराना किताबहरु बटुलबाटुल गरेर ल्याइदिनुहुन्थ्यो । ती किताबहरुमा प्राय अगाडि र पछाडिका केही पान्ना हुँदैनथे ।’

‘स्कुलमा कक्षा गीत गाउँदा सबै साथीहरु किताबमा हेरेर ठूलो–ठूलो स्वरमा गाउँथे । तर, मेरो पाना च्यातिएका किताबमा कक्षा गीत नै हुन्थेन । त्यसैले साथीहरुको किताब चियाएर पढ्नुपर्थ्यो ।’

उनले पहिलोपटक गाता भएको किताब पढेको माओवादीमा आइसकेपछि हो । शरदचन्द्र रसाइलीले दिएको ‘चम्किलो तारा’ उपन्यास उनलाई मगमग बास्ना आएको थियो । दुई दिनमै पढिसिध्याएका थिए ।’

****

आफ्नो उर्बर समयको एक अंश सुवोधले माओवादी जनयुद्ध र राजनीतिमा खन्याए । उनलाई अहिले यसमा अफसोस लाग्छ कि गर्व ? यो प्रश्नमा उनी आफैं अलमलमा देखिए ।

‘अफसोस छ त म भन्दिनँ । गर्व पनि खोइ किन गर्ने ?’ उनले भने, ‘वास्तवमा म आफैं पनि प्रष्ट छैन कि मैले त्यो बाटोमा लागेर के पाएँ र के गुमाएँ ?’

उनले जे सपना देखेर युद्धमा हिँडेका थिए, ती सपनाहरु आज घाइते अवस्थामा छन् । आजका दिनमा उनी माओवादी आन्दोलनलाई कसरी संश्लेषण गर्छन् ?

सुवोधले घुमाउरो जवाफ दिए ।

उनले भने, ‘अहिलेसम्म राजनीतिक पार्टी र संगठनहरुलाई सत्ता हत्याउन सिकाउने धेरै सिद्धान्तका ठेलीहरु बनेछन् । तर, सत्ता हासिल गरिसकेपछि देश कसरी बनाउने भन्ने सिद्दान्त चैं सायद प्रतिपादन हुन बाँकी रहेछ । यही नै समस्याको जड भएजस्तो लाग्छ ।’

भनेपछि माओवादीले जनयुद्धमार्फत सत्ता हत्याउन सफल भए पनि देश चलाउन असफल भएको निस्कर्ष हो उनको ?

उनको जवाफ फेरि जेरीजस्तो जेलिएको आयो ।

‘म यो, उ भनेर कसैलाई गलत देखाउने पक्षमा छैन । त्यो मेरो स्वभावमा पर्दैन । मेरो मूल्यांकनले खासै ठूलो अर्थ पनि राख्दैन । तर, यतिचाहिँ भन्न सक्छु कि नेताहरु पहिलेजस्ता छैनन् । हिजोका दिनमा जुन भावना र विचार बोकेर जनयुद्ध लडेका थियौं, त्यो आज रहेन । हिजो क्रान्ति र परिवर्तनको नेतृत्व गर्ने नेताहरु आज मैले फलानो–फलानोलाई प्रधानमन्त्री बनाएँ भन्दै एकदमसँगले बुर्जुवा भाषा बोलिरहेका छन् । नेताहरु साम्यवादी, समाजवादी भए तर नेपालवादी हुन सकेनन् ।’

यद्यपि, आफ्नो राजनीतिक विचारधारा अहिले पनि यथावत रहेको बताउँछन् सुवोध । उनी भन्ने गर्छन्, ‘म बदलिएको छैन, माओवादी बदलिएको हो । म माओवादीबाट अलग भएको होइन, माओवादीले मलाई अलग बनाएको हो ।’

तर, अब उनी कलाकारितामै सन्तुष्ट छन् । यसैलाई मूल कर्मका रुपमा अंगालेका छन् । सबैको माया पाएर खुशी छन् ।

भर्खरै सकिएको गाईजात्रामा उनले एउटा गजबको प्रस्तुति दिए । पहिलोपटक उनले प्रख्यात पुराणवाचक नारायणप्रसाद पोखरेलको नक्कल गरेका छन् । उनै नारायणप्रसाद पोखरेल जसलाई जनयुद्धकालमा माओवादीले हत्या गरेको थियो ।

एक पटक पढ्नुहोस