केन्द्र सरकारलाई भक्तपुरको चुनौती : नाकामा सक्नुभएन, क्वारेन्टिन बनाएर देखाउनुस् !

३२ साउन, काठमाडौं । लकडाउनका बेला भक्तपुर नगरपालिकाले बजार व्यवस्थापन र राहत वितरण व्यवस्थित रुपमा गरेको थियो । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा हामीले फेरि एकचोटि भक्तपुर नगरपालिकालाई सम्झियौं । संक्रमण रोकथाम र बिरामीहरुको उपचारमा भक्तपुर नगरपालिकाले कसरी काम गरिरहेको होला ?

लकडाउनमा स्थानीयबासीका गुनासाहरु सम्वोधन गरेर प्रशंसा कमाएको भक्तपुर नगरपालिका यतिबेला संघ र प्रदेश सरकारसँगै गुनासो गर्ने अवस्थामा आइपुगेको छ । संघीय सरकारले समन्वयकारी भूमिका नदेखाएका कारण काठमाडौं उपत्यकामा कोरोना फैलिएको स्थानीय जनप्रतिनिधिको गुनासो छ।

स्थानीय तहहरुले रात दिन नभनी काम गरिरहेका बेला केन्द्र सरकारले नाका व्यवस्थापन गर्न नसकेको र स्थानीय तहलाई चिठी लेख्नेबाहेक अर्थोक काम नगरेको भक्तपुरको आरोप छ सिंहदरबारलाई । उपत्यकाका तीनै नगरपालिकाले गृहमन्त्रीलाई दिएको सुझावसमेत कार्यान्वयन हुन नसकेको भक्तपुरको गुनासो छ ।

केन्द्रको समन्वयकारी भूमिका नहुँदाहुँदै पनि भक्तपुर नगरपालिकाले कोरोना रोकथाममा गरिरहेको काम भने व्यवस्थित नै देखिएको छ । तथापि क्वारेन्टिन बनाउने काम चाहिँ स्थानीय तहलाई नभई केन्द्र सरकारलाई नै दिइनु व्यवहारिक हुने भक्तपुर नगरपालिकाका प्रमुखको सुझाव छ ।

राहत वितरणमा नमूना योग्य काम गरेको भक्तपुर नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि के–कस्ता कामहरु गरिरहेको छ त ?

प्रस्तुत छ, पूर्वसभासद एवं नेमकिपाका नेतासमेत रहेका भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिसँग अनलाइनखबरले गरेको कुराकानी–

भक्तपुरका नगर क्षेत्रमा कोरोनाको त्रास कत्तिको छ ?

भक्तपुरमात्रै होइन, अहिले देशभरि नै महामारीको रुपमा फैलने खतरा बढेको छ । अब काठमाडौं उपत्यकाको स्थितिमै भक्तपुरको अवस्था पनि निर्भर रहन्छ । समग्र उपत्यकामा जस्तो स्थिति छ, भक्तपुर नगरमा पनि त्यस्तै स्थिति छ भन्दा फरक पर्दैन ।

हाम्रो नगरपालिका क्षेत्रभित्र शनिबारसम्म जम्मा १८ जना कोरोना संक्रमित भेटिएका छन् । त्यसमा अधिकांशजसो निको भइसकेका छन् । कतिपय कुराहरुको रेकर्ड राख्न पनि धेरै गाह्रो हुने रहेछ । यद्यपि हामीले राम्रो रेकर्ड राख्ने प्रयास भने गरिरहेका छौं । अस्ति भर्खरै एकजनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । भोलिपल्ट फेरि अर्को रिपोर्ट आउँदा नेगेटिभ देखियो रे । त्योसमेत गरेर १८ जना पुगेको हो ।

जो जहाँ छ, त्यहीँ बस्ने हो भने सुरक्षित हुन सकिन्छ । उपत्यकालाई जोगाउने हो भने पहिलो कुरा बाहिरबाट आएकाहरुलाई कडाइ गर्नैपर्छ ।

यीमध्ये विदेशबाट आएकाहरु मध्ये २ जना रहेका छन् । अरु पनि विभिन्न जिल्लाहरुबाट आएका छन् । यहाँका स्थानीयभन्दा पनि विभिन्न जिल्लाबाट कलकारखानामा काम गर्नका, अन्य क्षेत्रमा पेशा व्यवसाय गर्नेहरु रहेका छन् । यी संक्रमितमध्ये अधिकांश ठीक भइसकेका छन् । एक/दुईदिन अघिमात्रै पोजिटिभ आएकाबाहेक अरु सबै घर गइसकेका छन् ।

लकडाउन शुरु भएपछि भक्तपुरले एकदमै छोटो समयमा व्यवस्थित ढंगले राहत वितरण गरेर नमूना काम गरेको थियो, क्वारेन्टिन व्यवस्थापनचाहिँ कसरी गर्नुभयो ?

हामीले क्वारेन्टिन व्यवस्थापन तीन किसिमले गरेका छौं । सबैभन्दा पहिले नेपाल भित्रन चाहाने हाम्रो नगरपालिका क्षेत्रका को–को हुन् भनेर खोजी गर्‍यौं । त्यसका लागि हामीले अनलाइन फारम भर्ने व्यवस्था गरेका थियांै । नेपाल सरकराले विदेशमा भएका नागरिकहरु ल्याउने भन्ने जानकारी आउना साथ हामीले अनलाइन फारम वितरण गरेका थियांै । हामीले आह्वान गरेपछि १५५ जनाले फारम भर्नुभयो ।

विभिन्न देशहरुबाट नाम आएको थियो । त्यसपछि हामीले कतिजनालाई कहाँ व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल गर्यौं । यसमा तीन किसिमको व्यवस्था गर्‍यौं । जो रकम तिर्न सक्छ, उसलाई होटलमा व्यवस्थापन गर्यांै । पैसा पनि नभएको र होटलमा बस्न पनि नसक्ने वा बस्न नचाहानेहरुलाई नगरपालिकाकै विभिन्न भवनहरुमा महिलाको छुट्टै, पुरुषको छुट्टै क्वारेन्टिन बनाएर व्यवस्थापन गर्‍यौं ।

अर्को, होटलमा पनि बस्न नसक्ने र हाम्रो क्वारेन्टिनमा पनि बस्न अलि गाह्रो पर्नेहरुलाई होम क्वारेन्टिनमै बस्न भन्यौ । अहिलेसम्म यो हिसाबले हाम्रो क्वारेन्टिनमा बस्नेहरु ४० जना थिए । यीमध्ये अहिले पनि क्वारेन्टिनमा ७ जना बस्नुभएको छ । बाँकी ३३ जना क्वारेन्टिन अवधि पूरा गरेर घर गइसक्नुभएको छ ।

होटल क्वारेन्टिनमा ३५ जना बस्नुभएको थियो । ३५ मध्ये ४ जना अहिले पनि होटल क्वारेन्टिनमै हुुनहुन्छ भने बाँकी सबै अवधि पूरा गरेर घर गइसक्नुभएको छ । होम क्वारेन्टिनमा बस्नुभएकाहरु ३१ जना हुनुहुन्थ्यो, जसमध्ये ६ जना अहिले पनि हुनुहुन्छ । बाँकी २५ जनाको क्वारेनटाइन अवधि पूरा भइसकेको छ । यसले गर्दा कुल १०४ जना क्वारेन्टिनमा बस्नुभयो । यसको निम्ति भक्तपुर नगरपालिकाले ९ जना कर्मचारी व्यवस्थापन गरिरहेको छ ।

कुनै पनि बेला प्लेन विमानस्थलमा अवतरण हुनासाथ यात्रु होल्डिङ सेन्टरमा ल्याइन्छ । यतिजना आउँदैछन् भन्ने हामीलाई थाहा हुने भइहाल्यो । त्यसका आधारमा हामीले घरहरु तयार गरेर दिउँसो होस् या राति, हाम्रा कर्मचारीहरुले उनीहरुलाई क्वारेन्टिनमा पुर्‍याउँछन् र सबै व्यवस्थापन गरिहाल्छौं । वहाँहरुलाई गर्नुपर्ने निगरानी पनि हाम्रा कर्मचारीहरुले गर्छन् ।

प्रहरी प्रशासनसँग पनि हाम्रो समन्वय छ । प्रहरीले पनि हाम्रा क्वारेन्टिनहरुमा २४ सै घण्टा सुरक्षा दिइरहनुभएको छ । स्वास्थ्यमा कुनै समस्या आयो भने पनि हामी के गर्नुपर्ने हो, तत्कालै गरिहाल्छौं ।

यहाँका अस्थायी बासिन्दाहरु पनि लकडाउन शुरु भएपछि गाउँ जाने र त्यसपछि फर्कने क्रम पनि पक्कै भयो होला, यसको कसरी व्यवस्थापन गर्नुभएको छ ?

लकडाउन भइरहँदा वा लकडाउन खुलिसकेपछि भक्तपुरमा धेरैजना आएको खबर छ । हामीले शुरुमा छलफल गर्दा नै यस्तो संक्रमणका बेला बाहिरबाट ल्याउनै हुँदैन भन्ने कुरा आएको थियो । जो जहाँ छ, त्यहीँ सुरक्षित हुनुपर्छ भन्ने हाम्रो कुरा हो । यदि यहाँ कार्यरत कोही शिक्षक छ भने जहाँ हुनुहुन्छ, त्यहीँ हाजिर हुनुस् पढाउनुस् हामीले भन्यौं  ।

वडाध्यक्षहरुलाई यहाँ ल्याउने सिफारिस नबनाउनुस् भनेका थियौं । यति गर्दागर्दै पनि कता–कताबाट आइहाल्नुभएछ । अस्ति भक्तपुर औद्योगिक क्षेत्रमा एकजना मान्छे कोरोना संक्रमण देखियो भन्ने सूचना आयो । त्यसपछि हामीले खोज्यौं । त्यहाँ आएका कर्मचारीहरु अर्कै नगरपालिकाको सिफारिस लिएर आएका रहेछन् । त्यसमध्ये एकजनालाई कोरोना देखियो । बाँकी ५ जनालाई क्वारेनटाइनमा राख्नु पर्‍यो ।

अहिले सबै स्थानीय सरकारलाई सोधे हुन्छ, केन्द्र सरकारले के दियो ? प्रदेश सरकारले के दियो ? जम्मा १२ लाख रुपैयाँ दिएको छ । स्थानीयले करोडौं करोड खर्च गरेका छन् ।

त्यहाँ कार्यरत सशस्त्र प्रहरीका डीएसपीसँग मैले कुरा गरें । हामीले आउने स्वीकृति नै दिएका थिएनौं, कहाँबाट आउने स्वीकृति लिएको हो, त्यही नगरपालिकाको क्वारेन्टिनमा राख्नुपर्छ हामीले भन्यौं । डीएसपी सा’बलाई हामीले त्यही नगरपालिकामा पुर्‍याइदिनुस्, हाम्रो नगरपालिकामा ठाउँ छैन भन्यौं ।

हामीले किन उता पठायौं त भन्दा पहिलो कुरा, हामीले सिफारिस दिएका, आउनैपर्ने व्यक्तिहरुको हामी जिम्मा लिन्छौं । दोस्रो– यहाँका स्थानीयको हामी जिम्मा लिन्छौं । त्यस्तो स्थितिबाहेकाको हामी जिम्मा लिनुभन्दा जसले बोलाएको हो, उसैले लिनुपर्छ भनेर हामीले उतै पठायौं । त्यसपछि सोही नगरपालिकामा लैजानुभयो ।

जो जहाँ छ, त्यहीँ बस्ने हो भने सुरक्षित हुन सकिन्छ । उपत्यकालाई जोगाउने हो भने पहिलो कुरा बाहिरबाट आएकाहरुलाई कडाइ गर्नैपर्छ । शुरुमा लकडाउन हुँदा त कसैमा पनि देखिएकै थिएन । त्यसको अर्थ हो, त्यसबेलासम्म उपत्यका सुरक्षित थियो । त्यसबेला सरकारले सोचिदिएको भए अहिलेको जस्तो अवस्था आउने थिएन ।

त्योबेला के भयो भने वैशाख २४ देखि ३० गतेसम्मका ६ दिनमा गाडीहरु आवात–जावत हुन थाले । त्यसपछि देखिन थालेको हो । पछि लामो समय भइसकेपछि व्यवसायीहरुले पनि हाम्रो व्यापार व्यवसाय सधै बन्द राख्नुपर्ने भनेर सरकारमा पनि प्रेसर गयो होला । त्यसपछि झन खतरा बढिरहेको छ । दिनदिनै मान्छे मरिरहेका छन् । सिराहामा आजै पनि हामीले चिनेका एकजना मान्छे कोरोना पोजिटिभ आएर बित्नुभएछ । जो जहाँ छ, त्यहीँ बस्ने हो भने यहाँ आफ्नो काम मजाले गरे हुन्छ । तर, बाहिरबाट आएर छ्यासमिस बनाइदिएपछि त डर हुने भइहाल्यो ।

हामीले नेपाल सरकार, गृहमन्त्रीज्यूलाई नै भनिरहेका छौं, क्वारेन्टिनको व्यवस्था स्थानीयलाई नदिए हुने हो । प्रदेशले गरे हुन्छ, केन्द्रले गरे हुन्छ । कार्यविधि माथिबाट पास गरेर ल्याउने । कार्यविधिअनुसार डाक्टर चाहिन्छ, नर्स चाहिन्छ, सीसीटीभी क्यामेरा चाहिन्छ, अन्य सेवा सुविधाहरु चाहिन्छ । सबै बन्दोबस्त तपाईहरु गरेर देखाउनुस् न ।

काठमाडौं उपत्यकामा धेरै ठूलो पनि होइन, ठिक्क स्तरको बनाइदिनुस् बरु ठाउँ लिनुस् भन्दा अरु मेयर सा’बको कुरा पनि त्यस्तै थियो । केन्द्र तथा प्रदेश सरकारबाट त वहाँहरु चिठी काट्ने काम गर्नुहुन्छ, लु यस्तो क्वारेन्टिन बनाउनुस् भनेर । सबै नगरपालिकाले यस्तो गर्ने भनेर बोलेर, चिठी काटेर काम हुने होइन नि । अहिलेको अवस्था भनेको केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार एक अर्का मिलेर काम गर्ने हो ।

तीनै तहको समन्वयमा काम हुनुपर्ने हो । स्थानीय सरकारले यो गर्नू, प्रदेश सरकराले यो गर्नु अनि संघीय सरकारले यो गर्छ भने त हुने हो नि । त्यस्तो गरिदिएको भए समस्या समाधान हुने थियो । सबै कुरामा संघ सक्षम हुन्छ भन्ने हुँदैन । केन्द्र सरकारचाहिँ सामान ल्याउने । अहिले सबै स्थानीय सरकारलाई सोधे हुन्छ, केन्द्र सरकारले के दियो ? प्रदेश सरकारले के दियो ? जम्मा १२ लाख रुपैयाँ दिएको छ । स्थानीयले करोडौं करोड खर्च गरेका छन् । स्थानीय तह रात दिन नभनी खटिएको छ । अनि संघले चाहिँ यस्तो गर्ने, यस्तो भएन भनेर पत्राचार मात्रै गरेर हुन्छ ?

हाम्रा नागरिकको सुरक्षाका लागि हामी केन्द्रले नभने पनि गर्छौं नि । हाम्रा नागरिकको जिम्मेवारी हामी लिन्छौं सरकारले भनिरहनुपर्ने कुरा होइन । तर, समन्वय त हुनुपर्छ नि । यस्तो बेलामा संघ, प्रदेश र स्थानीय सरकारबीच एउटा पनि बैठक बसेको छैन ।

कुन काम कसरी गर्ने भनेर कुनै कार्ययोजना बनेको छैन । तीनवटा सरकार हो । महामारीको अन्त्य गर्न तीनवटै सरकारको समन्वयात्मक भूमिका अगाडि बढाउने हो । त्यो हुँदै भएन । हामीले हाम्रो तरिकाले गरिरहेका छौँ । काठमाडौंले आफ्नो किसिमले गरिरहेको छ । आफ्नो विशेषता अनुसार आफूआफंैले गर्नु राम्रो तर मूल कुरा समन्वय त हुनुपर्यो नि । समन्वय कसले गरिदिन्छ ? अब भयावह अवस्था निम्तियो भने यसलाई नियन्त्रण गर्न गाह्रो होला ।

यसैले, हामीले आफू आफैं सुरक्षित हुने भनेर भक्तपुर नगरपालिकाले केही कामहरु गरिरहेको छ । माइकिङका काम अहिले पनि निरन्तर भइरहेको छ । क्लोरिन छर्ने काम पनि रोकिएको छैन । रुटिङअनुसार काम गरिरहेका छौं । भीडभाड हुने किसिमका बाजाहरु बजाउन निशेष जस्तै छ । ठूला ठूला चाडपर्वहरु विस्तारै स्थगित गरिरहेका छौं ।

अहिले साउन महिना भनेको गुलाँ पर्व । महिनाभरि नै चल्ने यो पर्व स्थगित गरियो । अब पञ्चदान भोलि एक गते चल्ने हो । त्यो पनि स्थगित भएको छ । प्रत्येक घरबाट निस्कन्छन्, धेरै भीड हुने थियो । अस्ति गाईजात्राका बेला हामीले धेरै अनुरोध गर्यौं । केही प्रतिशत कमजोरी हुन जाँदा एकछिनका लागि मान्छेहरु निस्किए । मिडियाले पनि त्यहीँ किसिमको देखाइदियो । हुन पनि हो, एकछिन भए पनि भेला हुनु हुने थिएन । हामीले त पुरै कन्ट्रोल गर्न खोजेको हो ।

यति व्यवस्थित गर्न खोज्दाखोज्दै केही मान्छेहरु बाहिर निस्किए । समाजमा बिगार्ने मान्छे धेरै हुँदैनन् । तर, केहीमात्रै बाहिर आउँदा पनि धेरै देखिन्छ । अब सायद त्यस्तो कमजोरी हुँदैन । अब आउने चाडपर्वहरुका लागि हामी सम्बन्धित क्षेत्रका सरोकारवालाहरुलाई राखेर छलफल गर्छौं  । यो हिसाबले भक्तपुर नगरपालिकामा काम गर्ने कर्मचारीहरुलाई सुरक्षित तबरले काम गर्ने वातावरण बनाएका छौँ ।

पहिले सबै कार्यालय भित्रै आउने गरेका थिए । अहिले एक/एकजना गरेर झ्यालबाट सेवा लिनुहुन्छ । हामीले सफाइ कर्मचारीहरुलाई पनि पालोपलो गरेर काममा खटाएका छौं । जनस्वास्थ्यमा कार्यरत कर्मचारीहरुले पनि निकै सतर्क भएर काम गरिरहनुभएको छ । सकेसम्म हामी रोगलाई प्रवेश गर्नै दिदैनौं भनेर काम गरिरहेका हौं । तर, प्रवेश त गरिहाल्यो । बाहिरबाट मान्छे आइ नै रहन्छ, अब गर्ने के ?

नाका त अब पूर्णरुपमा बन्द भइसक्यो हैन ? अझै कडाइ भएन भन्न खोज्नुभएको हो ?

नाका कडाइ भएको छैन भनौं भने कडा नै छ । तर, मान्छेहरु राति राति पनि हिँडेर आइरहन्छन् । यो कुरा आफैंले सोच्नु पर्ने कुरा हो । सबैले सतर्क हुने हो भने त धेरै डराउनुपर्दैन ।

अहिले सबै स्थानीय सरकारलाई सोधे हुन्छ, केन्द्र सरकारले के दियो ? प्रदेश सरकारले के दियो ? जम्मा १२ लाख रुपैयाँ दिएको छ । स्थानीयले करोडौं करोड खर्च गरेका छन् ।

उसोभए पहिले नै नका पूर्णरुपमा बन्द गरेको भए काठमाडौं उपत्यका सुरक्षित हुनसक्थ्यो ?

अहिले गृहमन्त्रालयमा हेर्ने हो भने हामीले बोलेका सबै रेकर्डहरु छन् । हुनुपर्छ । हामीले शुरुदेखि नै भनेका छौं, कफ्र्यूचाहिँ नभनौं तर कडाइ चाहिँ गरौं । कफ्र्यू भन्यो भने फेरि प्रहरीले धेरै दुःख देलान् । हामीले यो कुरा पटक–पटक भनेका छौं । नगरपालिका फोरमका तर्फबाट पनि धेरैपटक विद्यासुन्दरजीले भन्नुभएको छ, चिरीबाबुजीले भन्नुभएको छ । हामी सबै मेयरले भनेका हौं । कफ्र्यू नभन्नुस्, तर कफ्र्यूकै हिसाबले जानुस्, तब उपत्यका सुरक्षित हुन्छ भनेका हौं ।

यहाँको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा त्यही कुरा हामीले भनेका हौं । त्यही भएर कफ्र्यू भन्ने शब्द हटाइएको हो । साधारण प्रहरीले यो कुरा नबुझेर फेरि ड्याङडुङ भयो भने नराम्रो हुन्छ । हामीले चाहेको त रोगबाट बचाउन हो, कसैसँग लड्ने होइन । रोगसँग लड्का लागि हामीले एकता देखाउने हो । हामीले सकेसम्म व्यवस्थित गर्न त खोज्यौं नै, त्यही पनि खतरा बढेको अवस्था छ ।

अहिले दिनप्रतिदिन उपत्यकामा संक्रमितको संख्या थपिने क्रममा छ, भोलि महामारीको रुप लियो भने के गर्ने भन्ने तयारी गरिएको छ ?

त्यसका निम्ति हामीले टिमलाई सेनाबाट तालिम दिने कोशिस गरिरहेका छौं । विपद व्यवस्थापन भनेर विपदसम्बन्धी तालिम दिएका छौं । १२२ जना हाम्रो नगरपालिकामा हुनुहुन्छ, वहाँहरुलाई हामीले सेनासँग समन्वय गरेर तालिम दिएका छौं । यहाँ केही कर्मचारी र धेरै खेलाडी हुनुहुन्छ । तीनवटा टोलि बनाएर तालिम दिएका छौं ।

पछि कोभिड आयो । अब कोभिडका लागिमात्रै छुट्टै तालिम दिनुपर्छ भनेर हामीले नेपाली सेनाका कर्णेलसँग पनि कुरा गरेका थियौँ । वहाँले हुन्छ पनि भन्नुभएको थियो । तर, विभिन्न व्यस्तताका कारणले होला, त्यो तािलम हुन सकेको छैन । सबै तयारी गरेर केही भइहाल्यो भने टिम नै तयारी अवस्थामा राख्न खोजेका हौं । अन्य विपतका लागि भनेर त हामीले तयारी गरिरहेका छौं, कोभिडकै लागि भनेर छुट्टै भने हुन बाँकी छ ।

भक्तपुरमा कन्ट्याक्ट ट्रेसिङमा परेका तथा अन्य शंकाका कारण म परीक्षण गराउँछु भन्न चाहानेहरुले परीक्षण गराउन कत्तिको सहज छ ?

सहजरुपमा हुन्छ । त्यसको रिपोर्टका लागि कि कोटेश्वर जानुपर्‍यो, कि मध्यपुर जानुपर्‍यो । अहिले हामीले मध्यपुर अस्पतालसँग यसका लागि समन्वय गरेका छौं । त्यस्तो शंका लाग्यो र हाम्रो सम्पर्कमा आएको खण्डमा हामी पीसीआर परीक्षण गराउँछौं । हाम्रो भक्तपुर अस्पताल छ । त्यहाँबाट गराइरहेका छौं ।

किट अभाव छ, गर्न सक्दैनौं भन्नुपर्ने अवस्था छैन ?

शुरुमा चाहिँ यस्तो समस्या थियो, पछि सहज भयो । पहिले हामी जनप्रतिनिधिहरु सबैले गरायौं । सफाइ कर्मचारीहरु सबैको गरायौं । यसले गर्दा किट सकिएछ । अभाव देखिएको थियो । त्यसपछि हामीले जिल्ला जनस्वास्थ्य कार्यालयसँग कुरा गर्यौं । त्यसपछि व्यवस्था भयो । जनप्रतिनिधिहरुले दुईपटक गराइसकेका छौं । सबैले होइन, बाहिर हिँडेका र अलि शंका लागेकाले ।

आज गरेर फेरि भोलि संक्रमण लाग्न पनि सक्छ । यो एउटा समस्याको विषय बनेको छ । जेहोस् शंका लागेपछि हामीले गर्छौं , त्यस्तो समस्या छैन ।

संक्रमितहरु भेटिए उपचारका लागि राख्न आइसोलेसन बेडको व्यवस्था गर्नुभएको छ ?

भक्तपुर अस्पतालले बनाइराखेको छ । हामीले पठाउने भनेको भक्तपुर अस्पतालमा नै हो । त्यहाँ सीट अभाव भएको अवस्थामा टेकु अस्पताल तथा अन्य ठाउँमा पठाउने गरिएको छ । भोलि धेरै संक्रमितहरु भएको अवस्थामा भने घरमै राख्ने कुरा आइरहेको छ ।

केही निजी अस्पतालमा पनि समन्वयचाहिँ गरेका छौँ । शुरुको अवस्थामा नै हामीले अस्पतालहरुलाई राखेर कसले कतिजना संक्रमित राख्न सक्नुहुन्छ भनेर सल्लाह गरेका थियौं । कसैले ४ जना, कसैले ५ जना भन्नुभएको थियो । हामीले त्यो रेकर्ड पनि राखेका छौं । अहिलेसम्म भक्तपुर अस्पतालले नै गरिररहेको छ ।

एक पटक पढ्नुहोस