दशैंको अर्थतन्त्र : धनी रमाउँछन्, मध्यम वर्ग बचतमा लाग्छन् अनि गरिब ?

११ असोज, काठमाडौं । भारतमा कोरोना महामारी बढ्न थालेपछि त्यहाँ मजदुरी गरिरहेका सुदुरपश्चिम र कर्णाली प्रदेशका हजारौं नेपाली अनेक कठिनाइ झेल्दै घर फर्के । अहिले भारतमा महामारी झन बढेको बेला उनीहरु घर छाडेर उतै फर्किरहेका छन् ।

उनीहरुलाई थाहा नभएको हैन– अबको तीन सातामा दशैं घरमै आइपुग्छ, बालबालिकाले बाउ-आमाको साथ खोज्छन्, मिठोमसिनो र एकसरो नयाँ लुगाको आश गर्छन् । विविध कारण टाढा बसेका परिवारका सदश्य भेला भएर खुशी मनाउनु दशैंको मुख्य विशेषता नै हो ।

चरम गरिबीका कारण मुग्लान फर्कन बाध्य नेपालीहरु तीन सातामै घर आउन सक्लान् त ? ‘धेरै गाह्रो छ’, अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘उनीहरु महामारीको संकट शुरु भएपछि घर आए, ५–६ महिना बसे, गरिखाने कुनै उपाय नेदेखेपछि उतै फर्किए । गरिब वर्गले सरकारबाट केही पाउने सम्भावना नै देखेन ।’

अर्थात्, यो दशैंमा हजारौं घरमा सन्नाटा छाउनेछ । गरिब नेपालीले दशैंमा पारिवारिक भेटघाट र रमझम हैन, महामारीमा ज्यान पाल्ने जोखिमहरु उठाउनु पर्नेछ । दशैंको मुखमा सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ र प्रदेश २ बाट भारत पस्नेको लर्कोले यही कटु यथार्थ बोलिरहेको छ ।
यसपालिको दशैंमा लामो दूरीका सवारीले निकै कम यात्रु पाउनेछन् । जबकी, दशैंमा सबैभन्दा चलायमान हुने लामो दूरीको सार्वजनिक यातायात हो । लामो दूरीका बसहरु कम चलेपछि आठ महिनादेखि चिसिएका राजमार्गका होटलहरुले राहत पाउने छैनन् ।

काठमाडौंबाट विद्यार्थीको सबैभन्दा ठूलो हिस्सा चैत–बैशाखमै घर फर्किसकेको छ । मौसमी प्रकृतिका मजदुरहरु पनि गाउँ फर्किसकेका छन् । त्यसकारण यातायात र होटेल सन्चालक तथा मजदुरका लागि पनि यो दशैंले उत्साह ल्याउने सम्भावना छैन ।

पुराना लुगाले टर्नेछ दशैं !

बालाजु बस्ने अर्जुन न्यौपाने यो दशैंमा सिंगो परिवारमा छोरालाई मात्र कपडा किन्नेवाला छन् । ‘घुमफिर गर्ने अवस्था नभएकाले नयाँ लुगा नकिन्दा पनि चल्छ,’ नुवाकोट स्थायी घर भएका न्यौपाने भन्छन्, ‘घरभित्रै दशैं मनाउन सबैलाई नयाँ कपडा चाहिँदैन ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका यो पटक नेपालीले लत्ता कपडामा साविककोभन्दा बढीमा २५ प्रतिशत खर्च गर्ने अनुमान गर्छन् । त्यति खर्च गर्न सके भने पनि धेरै मान्नुपर्ने बताउँदै उनी भन्छन्, ‘फेरि, दशैं अगाडि आउनुपर्ने सामान आउने–नआउने निश्चित पनि छैन ।’

काठमाडौंमा हरेक दशैंको मुखमा ‘नाडा अटो शो’ हुन्थ्यो । अन्य विलाशिताका सामानहरुको पनि मेला–महोत्सव हन्थ्यो । यो पटक सबै बन्द छन् ।
अर्थशास्त्री आचार्य यो वर्ष मानिसले यस्तो वस्तुमा पैसा हाल्ने सम्भावना कम देख्छन् । जबकी, नेपालमा कुल वार्षिक उपभोगको २० प्रतिशत खपत दशैंमा मात्र हुने गरेको थियो ।

भएकोले काम चलिरहेको छ भने यो वर्ष कसैले नयाँ नकिन्ने आचार्य बताउँछन् । ‘धन हुनेहरुलाई विलाशिताका वस्तु किन्न दशैं आउनै पर्दैन, गरिबले किन्नै सक्दैन’, उनी भन्छन्, ‘मध्यमवर्गीय परिवार खर्च होइन, बचत गर्नेतिर लाग्छन् ।’

यो दशैंमा खसी कराउने घर

यो वर्ष निजी क्षेत्रले दशैंमा कर्मचारीले पाउने अतिरिक्त सेवा–सुविधा काट्ने बहना पाएका छन् । धेरैजसो निजी कम्पनीले कोरोना भाइरसको नाममा दशैं बोनस कटौती गर्न सक्छन् ।

कर्मचारीले यो बहनाको शिकार हुन नपर्ने क्षेत्रहरु पनि छन् । जस्तो– महामारीमा घरै बसेर नियमित तलब पाइरहेका सरकारी कर्मचारीले दशैं बोनस पनि खानेछन् । बैंक तथा वित्तीय संस्था र गैरसरकारी संस्थाका कर्मचारीको पनि दशैं खर्च हराउने छैन ।

‘धनीहरु त धनी भैहाले, नियमित तलब र दशैं बोनस पाउनेहरुको पनि दशैं उत्साह घट्ने अरु कारण देखिँदैन’, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, ‘यो दशैंमा उनीहरुको घरमा पनि खसी कराउँछ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि १४ सय च्यांग्रा र १६ सय खसी काठमाडौं ल्याउँदैछ । ‘गाउँघरमा त दशैंका लागि खसी पाल्ने चलन छ’, अर्थशास्त्री आचार्य भन्छन्, ‘सहरमा चाहिँ यो वर्ष १३ सय रुपैयाँ किलो मासु किनेर कमैले दशैं मनाउलान् ।’

मासुको खपत घट्दा मदिराको खपत पनि घट्नेछ । त्यसबाट सरकारको आम्दानी प्रभावित हुनेछ ।

मुलुकको आम्दानीमा ठूलो हिस्सा आयातको छ । भदौसम्मको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७÷०७७ मा आयात २२३ प्रतिशतले घटिसकेको छ । यसको अर्थ, सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्नु हो ।

मजदुरको दयनीय दशैं

गाउँशहरमा भारी बोकेर साँझ–बिहान छाक टार्नेहरु हुन् या मजदुरीको थोरै पैसा बचाएर घर पठाउने वर्ग, उनीहरुले कमाउन नसकेको ६–७ महिना भइसक्यो । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा सबभन्दा दयनीय दशैं उनीहरुको हुने देख्छन् ।

‘गाउँमा कृषि गर्नेहरुले दशैंका लागि अन्नको जोहो गरेकै हुन्छन्, त्यही पकाउँछन्’, उनी भन्छन्, ‘दशैं अगाडि नै काम नपाएर भोको परेका शहरी मजदुरसँग त्यो विकल्प पनि छैन ।’

नेपाल राष्ट्र बैंकका अनुसार अहिले औसत मुद्रास्फिति ६ प्रतिशत हाराहारी छ । आम नेपालीको भान्सामा पाक्ने सामानको भाउ आकासिएको छ । मध्यम वर्गलाई नै आच्छुआच्छु पारिरहेको महंगीले दैनिक ज्यालादारी गर्नेहरुलाई भोको बस्नपर्ने अवस्था ल्याएको छ ।

उता बैंकहरुमा २ खर्ब हाराहारी तरलता थुप्रिएर बसेको छ । बैंकहरुले निक्षेपको ब्याजदर ३–४ प्रतिशत हाराहारीमा झारिसकेका छन् । यसले केही रकम बैंकमा राखेर ब्याज खान्छु भन्ने मध्यमवर्गको पनि खल्ती रित्तिने अवस्था ल्याएको छ ।

‘निक्षेपको ब्याज ३ प्रतिशत, महंगी ६ प्रतिशत भनेपछि मध्यम वर्गकै खल्ती रित्तिने देखिइसक्यो,’ अर्थशास्त्री आचार्य भन्छन्, ‘यस्तोमा ज्यालादारीबाट जहानपरिवार पालेकाहरुको दशैं कस्तो होला, आफैं अनुमान गर्नुस् ।’

यो पटकको दशैं समग्रमा निराशाजनक हुनेछ । कोरोना भाइरसको बढ्दो संक्रमण र बजारको अवस्थाले यस्तै संकेत गर्छ । अर्थशास्त्री केशव आचार्य यो अवस्थामा धनी वर्गले केही खर्च गरेपनि मध्यमवर्गको ध्यान बचतमा जानेछ । गरिबसँग भने निराशाबाहेक केही बाँकी रहने छैन ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा यस्तो बेला सरकारले शहरी मजदुर र गरिबको पहिचान भएका नागरिकलाई ‘दशैं बोनस’का नाममा केही रकम वितरण गरे राज्य कल्याणकारी भएको महसुस हुने बताउँछन् ।

जनता दशैंजस्तो चाडमा समेत महामारीको जोखिम मोलेर दई छाकको लागि विदेशिनु परेको अवस्थालाई बेवास्ता गर्दा राष्ट्रियता नै कमजोर हुनसक्ने उनको बु्झाइ छ ।

एक पटक पढ्नुहोस