पानी परेको थिएन

खोला छेउछाउ बस्दै आएका बासिन्दा झन् जोखिममा परेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ :

शनिबार बेलुका बाढी सुरु भयो । आइतबार बिहानै स्थानीयसँग फोनमा कुराकानी गर्दा आकाश खुलेको खबर पाएँ । पहिरो प्रभावित क्षेत्रमा जान गृह मन्त्रालयमा समन्वयका लागि प्रयास गरें । तर प्रक्रिया पूरा गरुन्जेल मौसमले साथ नदिने देखियो ।

म, सञ्चारकर्मी सुदर्शन आचार्य र स्थानीय समीर तामाङ आफैं जोखिम मोलेर प्रभावित क्षेत्रतर्फ जान तयारी गर्‍यौं । हिमाली भेगको नयाँ स्थानमा जानुपर्ने भएकाले के होला भन्ने विचार आयो र केहीबेर छलफल पनि गर्‍यौं । हेलिकप्टर पाइलट सुरज थापाले जे भए पनि होला भन्दै जाने निर्णय गरे ।

बिहान ७ बजे हेलिकप्टरमा हेलम्बुको हिमाली भेगमा लाग्यौं । काठमाडौंबाट करिब २० मिनेटपछि हेलम्बु गाउँपालिका–१ को समतलस्थल नजिकै पुग्यौं । वरिपरि डाँडा र खोंचमा समतलस्थल भएकाले हेलिकप्टर ल्यान्ड गर्न केही असजिलो भयो । पहिरो सुरु भएको स्थान माटो, बालुवा र गेगरले भरिएको समतल देखिन्थ्यो । त्यसको छेउबाट पहिरो जान थालेको रहेछ ।

बाढीपछि मेलम्ची बजारबाट दोलालघाटतर्फ लागेको इन्द्रावती । तस्बिर सौजन्य : सुदर्शन आचार्य

डाँडाकाँडा र रूख छल्दै पाइलट थापाले त्यही समतल स्थलमा हेलिकप्टर ल्यान्ड गर्ने निर्णय गरे । तर उक्त स्थान हिलो माटोले बनेकाले खतरा हुने अनुमान गर्न थाल्यौं । सोच्दासोच्दै हेलिकप्टरमा हामी खोंचमा घुमिरहेका थियौं । थापाले पहिरो चलेको भन्दा निकै टाढा कुनामा हेलिकप्टर राख्ने निर्णय गरे । उनले केही हुँदैन हिलो रहेछ भने थाहा भइहाल्छ बचाउन सकिन्छ भन्दै ल्यान्ड गर्ने तयारी गरे । मौसम सफा भएकाले अरू समस्या थिएन । तर असार १ गतेको विनाशकारी पहिरो पनि त्यहीँबाट सुरु भएकाले डर लागिरहेको थियो । तर उक्त स्थान बगर जस्तो रहेको हेलिकप्टर ल्यान्ड गरेपछि थाहा भयो । केही राहत महसुस भयो । त्यस समतल भूमिलाई भेमाथाङ भन्ने गरिन्छ । स्थानीय ह्योल्मो भाषामा भेमाको अर्थ बालुवा र थाङको अर्थ समतल भूमि हो । भेमाथाङ मेलम्ची खानेपानीको मुहान पनि हो ।

मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सबाट करिब २० किलोमिटर उत्तरमा पर्ने हेलम्बु–१ भेमाथाङस्थित पहिरो सुरु भएको ठाउँ । तस्बिर सौजन्य : सुदर्शन आचार्य

भेमाथाङको कुनामा हेलिकप्टर ल्यान्ड भएपछि हामी पहिरो चलेको स्थानतिर पैदल लाग्यौं । भेमाथाङको उत्तरतर्फको दुई कुनाबाट साना–साना खोला बगेका छन् । ती खोला र हिम पहाडबाट बगेको झर्नाले सोरेर ल्याएको कमेरे माटो, गेगर र साना–साना ढुंगाले भेमाथाङ बनेको रहेछ । ठाउँ–ठाउँबाट माटो र गेगर बगेको देखिन्थ्यो । देब्रेतर्फको खोलाबाट धमिलो पानी आइरहेको थियो । दाहिने खोलाबाट बगेको पानी भने सङ्लो थियो । समतल स्थानबाटै बगिरहेको खोला मेलम्ची आयोजनाको स्रोत हो ।

भेमाथाङको कुनाबाट हिँड्दै पहिरो स्थल छेउसम्म पुग्न आधा घण्टाभन्दा बढी लाग्यो । समतल भूमिमा लगातार पहिरो गइरहेको थियो । पानी परेको थिएन । खोला धेरै ठूलो पनि थिएन तर पनि जमिन चिरिएर बग्ने क्रम रोकिएको थिएन । ठूला–ठूला चिरा परेर ढुंगा, माटो खोलामा मिसिँदै थियो । समतल भागको सतहभन्दा खोला बगेको स्थान झन्डै ५० मिटर तल देखिन्थ्यो । माटो मिसिएर खोलाले बगाउन सकेको थिएन । खोला केहीबेर रोकिएर माटोलाई धकेल्दै बग्थ्यो ।

पहिरोको उद्मगस्थललाई रोक्ने वा रोकिने सम्भावना कल्पना गर्न नसकिने देख्यौं । पहिरो सुरु भएको समतल भूमि वर्षौंसम्म थुप्रेको माटो, ढुंगा र बालुवाबाट बनेको अनुमान लगाउन सकिन्छ । बाढीपहिरो अझै एक महिना रोकिँदैन भन्ने अनुमान गर्न सकिन्छ । समतल भागजति चिराचिरा परेको छ । त्यो सबै बग्ने हो भने तटीय क्षेत्रमा अझ धेरै क्षति हुन सक्छ । काठमाडौं फर्कने बेला हेलिकप्टरलाई खोला बगेको दिशामा उडाइयो । पहाड र खोंचबाट उड्दा जति खतरा थियो, चिराचिरा परेर ठूलो भूभाग मेलम्ची खोलामा मिसिएको त्यतिकै डरलाग्दो देखिन्थ्यो ।

एक पटक पढ्नुहोस