- विजय सापकोटा
ढोकामा ताल्चा झुण्डिएको थियो ।
ऊ भने माघको चिसो रातमा पनि न्यानो कल्पना गरेर कामबाट फर्किरहेको थियो । जस्तो कि पुराना हिन्दी फिल्मतिर प्रशस्त देखिन्छ– कामबाट लखतरान भएर फर्किएको लोग्नेलाई व्यग्रताका साथ प्रतीक्षा गरिरहेकी स्वास्नी.. … …। ऊ यस्तै कल्पना गरेर खुशी भइरहेको थियो ।
त्यसो त सधैं घर फर्किरहँदा उसको मनमा यिनै कुराहरु खेल्दथे । तर यथार्थमा कहिल्यै यस्तो नहुँदा ढोकाको छेउसम्म आइपुग्दा नै ती फत्याकफुतुक गलेर झरिदिन्थे । स्वास्नीचाहिँ फिल्मकी नायिका जत्तिकै राम्री थिई– नायिकाको कल्पनामा राख्न पर्याप्त सुहाउने खालकी । तर, उसको व्यवहारचाहिँ नायिका होइन खलनायिकासँग तुलनायोग्य हुन्थ्यो । ऊ आफ्नो जीवनमा यी दुई विपरीत तथ्यहरुबीच साम्यता कायम गर्न आजका मितिसम्म कहिल्यै सफल भएको थिएन ।
तैपनि ऊ दैवी चमत्कारमा असाध्यै विश्वास राख्दथ्यो र विशेषगरी हिन्दी पारिवारिक फिल्महरुको त असल भावक नै थियो । त्यसैले होला फिल्ममा जस्तै आफ्नो जीवनमा पनि चमत्कारपूर्ण घटना घट्ने आशाको चहकिलो दियो उसको मनमा बेलाबेलामा बलिरहन्थ्यो । तर दुर्भाग्य उसको विश्वासभन्दा बलियो उसकी सुन्दरी स्वास्नीको दीव्य मुहार आकृतिको घमण्ड थियो जसको प्रकाशको छायामा परेर उसको ढाँचा नमिलेको अनुहार अझै बेरुप हुनसक्ने खतरा क्रमशः बढिरहेको थियो ।
तर ऊ धैर्यवान् थियो । बूढापाकाहरुले भन्ने ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’ उखानले उसलाई असाध्यै ठूलो प्रभाव पारेको थियो । किनकि उसको वैवाहिक जीवन अब केही दिनमै बाह्रौँ वर्षमा टेक्ने तयारीमा थियो र बिहेको बाह्रौँ वर्षगाँठले आफ्नो वैवाहिक जीवनमा खुशी लिएर आउने कुरामा ऊ पूर्णतः विश्वस्त थियो । यो विश्वासलाई ‘टुहुराको दिन फिर्छ’ भन्ने भनाइले थप बल प्रदान गरेको थियो । किनभने उसले सानैमा आमा गुमाएको थियो र यो उमेरसम्म कुनै दिन पनि सुख पाएको अनुभूति गर्न सकेको थिएन ।
र, आजकाल उसको अन्तरहृदयमा यो बाह्रौँ वर्षको यात्राको कुनै पनि मोडमा हिन्दी फिल्ममा झैँ चमत्कारिक घटना हुने आशाको दीप बलिरहेको थियो– धिपधिप गर्दै ।
विहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म काममा जोतिन्थ्यो ऊ । यी चौधघण्टा प्रायः ऊ आफ्नी स्वास्नीसँग अलग रहन्थ्यो । स्वास्नी अघिल्तिर नहुने यो समयमा ऊ आफूलाई अत्यन्तै सुरक्षित महसुस गर्दथ्यो । किनकि स्वास्नीको प्रत्यक्ष कटाक्षबाट दूर हुन्थ्यो । तैपनि स्वास्नीको विषयमा अनेक किसिमका सोचाइहरु भने उसको अन्तरहृदयमा बन्दै र भत्किँदै जान्थे ।
सोचाइ सकारात्मक र नकारात्मक दुवै हुनसक्थे । जस्तै दिउँसभरि स्वास्नी एक्लै कोठामा के गरेर बस्छे ? ऊ दिउँसभरि बेकारमा समय बिताउने आफ्नी स्वास्नीलाई लिएर चिन्तित थियो । काम नभएपछि वल्लो कोठा र पल्लो कोठा गर्यो, अनेकजनासित अनेक किसिमका गफ गर्यो । हाँस्यो… …अनि… … हाँस्नुबाहेक स्वास्नीचाहिँ अरु के काम गर्छे होली भनेर ऊ कल्पना पनि गर्न सक्दैनथ्यो । किनकि यसलाई तन्काउँदै लैजाँदा बोकाको जस्तो स्वभाव भएका डेरावरिपरिका दुईचारजना ठिटाहरुको सम्झना आउँथ्यो । तिनको सम्झनाले मात्र पनि उसको मुटु ढक्क फुल्थ्यो, हात थरर्र काँप्थ्यो अनि बिजुलीको तार मुठीमा कच्याककुचुक पारेर करेन्ट प्रवाहित गरुँ झैँ आवेग उठ्दथ्यो ।
यस्तोमा सम्हालिन उसलाई अत्यन्तै गाह्रो पर्दथ्यो । प्रायजसो तीनचार घण्टा यही बोझिलो सन्दर्भले पिरोल्दथ्यो । जीवनप्रति नै वैराग्यता जनाउने यस्तो प्रसङ्ग अनायास आइदिँदा उसलाई जिन्दगी बाँच्नुको निरर्थकताबोधले च्याप्प समात्दथ्यो । ऊ सकेसम्म यस्तो भावनालाई दबाउन खोज्थ्यो । रोमान्टिक प्रेमगीतहरु सुनिसकेपछि उसको बोझिलता हट्दै जान्थ्यो र दैवी चमत्कारको काल्पनिक चित्र मस्तिष्कमा उतारेर आफूलाई हलुङ्गो बनाउने प्रयत्न गर्थ्यो ।
स्वास्नीसितको उसको सम्बन्ध अप्ठ्यारोमा गुज्रिनुका पछाडि सतहमा यी कारणहरु देखिएका थिए–
१. स्वास्नी भर्खर अठ्ठाइसौँ वर्षमा हिँड्दै थिई, उसले भने उनान्चालिसौँ वर्षलाई पनि बिदा गर्न भ्याइसकेको थियो ।
२. स्वास्नीले एउटा छोरालाई जन्म दिइसकेकी थिई, तैपनि उसको रुप, रङ्ग र सुन्दरतामा कुनै कमी आइसकेको थिएन । तर उसले भगवानसँग चित्त दुखाएका बुँदामध्येको एक आफ्नो रुप पनि थियो ।
३. ऊ स्वास्नीलाई अति माया गर्थ्यो, तर स्वास्नीचाहिँ भने उसको मायादेखि मात्र होइन छायादेखि पनि तर्किन्थी ।
स्वास्नीलाई उसको अनुहार कस्तो लाग्थ्यो त्यो अव्यक्त थियो । तर बाहिरबाट हेर्दा उसलाई आफ्नो लोग्नेको थरसित समेत घृणा थियो । त्यसैले ऊ कतैकतै आफ्नो परिचय दिनुपर्दा बाउकै थर बताउँदथी । यो खुशीको कुरा थियो कि आजका मितिसम्म लोग्नेको थर प्रयोग गरेर कतै पनि लेखापढी गर्नुपरेको थिएन । तर एउटा कुरामा भने उसलाई अत्यन्तै दुःख लागेको थियो यसकारण कि छोरालाई स्कुलमा भर्ना गर्दा भने लोग्नेकै थर प्रयोग गर्नुपरेको थियो ।
सिङ्गो संस्कृतिमा लोग्नेमान्छेलाई ‘मर्द’ भनी पुकारिन्थ्यो र स्वास्नीमान्छेहरु उनीहरुको पैतालामुनि दबिएर बस्नुपर्छ भन्ने मान्यता राखिन्थ्यो । ऊ जुन टोलमा बस्थ्यो, सहर भए पनि त्यो टोलका धेरै पुरुषहरुको स्वास्नी कुट्ने आदत थियो । उसलाई स्वास्नी कुट्नेहरु अचम्मको शक्ति भएका मान्छे हुन् भन्ने विश्वास लाग्दथ्यो र आफूमा ईश्वरले त्यो शक्ति नदिएकोमा उसलाई मनमनै दुःख पनि लाग्दथ्यो । उसलाई अचम्म त यो कुरामा लाग्थ्यो कि जसजसका लोग्नेले स्वास्नी कुट्थे तिनीहरुका लोग्नेस्वास्नीमा असाध्यै मिल्ती हुने गर्थ्यो । ऊ भने स्वास्नीलाई असाध्यै माया गर्थ्यो तापनि उसलाई तिल बराबर पनि गन्दिनथी ऊ ।
साँझ जतिसुकै रोमान्टिक मूडमा फर्किएपनि घर आइसकेपछि चरम निराशाले घम्लङ्गै अँगालो हालिदिन्थ्यो । कुनै रमाइलो टेलिसिरियल आउने दिन छ भने स्वास्नी जागै रहन्थी नत्र आठै बजे खाइपिई छोराको साथ निदाइसकेकी हुन्थी । पाँच मिनेट जति बाहिर उभ्याएपछि मात्र ढोका खोलिदिन्थी र पुनः ओछ्यानमै गएर घुस्रिन्थी । कहिलेकाहीँ‘‘मूड’ अलिक ‘फ्रेस’ छ भनेचाहिँ मुस्किलले दुईचार वाक्य बोलिदिन्थी । नभए ऊमात्रै बोल्थ्यो र स्वास्नी भने सुनिरहन्थी ।
अनि ऊ आजीत भएर आफैँले चिसो भात पस्की खाएपछि छुट्टै खाटमा चिसो ओढेर एक्लै सुत्ने गर्थ्यो आफ्नो कर्मलाई धिक्कार्दै । यही कुण्ठालाई मेट्न मौका मिलाएर उहिले उहिले सहरका गल्लीका अँध्यारा छिँडीभित्र हेरेका नीला चलचित्रहरुका दृश्यहरु सम्झेर राति अबेरसम्म छट्पटाउने गर्थ्यो । कहिलेकाहीँ चाहिँ ऊ आफूलाई काबुमा राख्न सक्दैनथ्यो । मध्यरातसम्म पनि निदाउन नसकेपछि ऊ उठ्थ्यो र स्वास्नीको खाटसम्म पुग्ने साहस गर्थ्यो । गर्मीको समय छ भने ऊ अत्यन्तै अस्तव्यस्त ढङ्गले सुतेकी हुन्थी जसले उसको साहसमा थप उर्जा थपिदिन्थ्यो । तर त्यो उत्साह र उर्जा निद्रालु स्वास्नीको घँचेटाइमा परेर पानी–पानी हुन्थ्यो । त्यसपछि ऊ हदसम्मको निराशा च्यापेर चिसिइसकेको ओछ्यानमा घुस्रिन्थ्यो । यस्तो घटनाको करिब एकसातासम्मै ऊ स्वास्नीको अनुहार हेर्न असमर्थ देखिन्थ्यो ।
स्वास्नीको अनुहार हेर्न ऊ त्यतिखेर सक्षम थियो जतिखेर उसकी स्वास्नी उमेरले सानै थिई । १६ वर्षको कलिलो उमेरमै उसँग विवाह भएको थियो । बान्की परेको अनुहार भएपनि दुब्लो शरीरकी ऊ ज्यानजस्तै अन्तरमनदेखि नै दुब्ली थिई । त्यसो त धनी बाउकी एक्ली छोरी–यति चाडैं बिहा गर्नुपर्ने आवश्यकता थिएन । तर बाउको पसलमा बस्दा चुरोटसँगै प्रेमपत्र बाँड्न थालेपछि बाउचाहिँले छोरी जवान भएको चाल पाएको थियो । अझ एकादशी जात्राको एक रातभर छोरी हराएपछि उसले हतारहतार आफ्नो पितृधर्म निभाएको थियो । त, त्यस समयमा ऊ लगभग १६ वर्षकी थिई, आत्मबल अहिलेको जस्तो थिएन । उमेर चढ्दै गएपछि जिउमा रङ् पनि चढ्दै गयो । जब छोरो जन्माई ऊ झन् राम्री र तरुनी पो बन्दै आई । लोग्नेचाहिँको आवश्यकताभन्दा बढीको सोझोपन र आफ्नो सुन्दर तनको चर्चा यत्रतत्र हुनथालेपछि उसमा प्रचुर आत्मबलको विकास हुन थालेको थियो । र,केही समयमै कोठामा अर्को एउटा खाट आएको थियो जुन उसको निम्ति थियो ।
हाँस्ने, बोल्ने, चल्ने यावत् क्रियाकलापहरु ऊ अरुसँगै गर्थी आँखाले हेर्न मिल्नेसम्मको । तर उसको अगाडि भने अँध्यारी र थकित देखिन्थी । पछिपछि भने एकाध पटक व्यङ्ग्यवाण पनि प्रहार गर्न थालेकी थिई । आफ्नो इच्छा त के परिवारका आवश्यकता समेत त्यति सजिलै भन्दैनथी । सुरुसुरुमा यस्तो बानीले असजिलो पैदा गराइदियो तर पछि हुँदै गएपछि लगभग सम्पूर्ण तलब नै स्वास्नीको हातमा राखिदिने गर्न थाल्यो । यसले गर्दा सम्बन्ध झन् बिच्छेद झैँ हुनथाल्यो । छोरो समेत उसको छायादेखि यसरी तर्किन्थ्यो मानौँ ऊ सौतेला बाबु हो ।
यी यावत् क्रियाकलापले उसको मन बेस्सरी थिल्थिलिएको थियो । आफ्नो पारिवारिक अव्यवस्थाले थिचिरहेको बेला फिल्मको हिरोले झैँ रक्सी खाएर बेसरी मात्न मन लाग्थ्यो कहिलेकाहीँ, तर सक्दैनथ्यो । कहिले भने स्वास्नीको अगाडि रोएर स्पष्टीकरण माग्ने भावुकता पनि जाग्थ्यो, तर ‘लोग्ने’ नाउँको उसको पदले यसो गर्नबाट पनि रोक्थ्यो । यसरी आफ्ना पीडाहरुको उचित निकास त उसले पाएको थिएन थिएन, पोख्ने ठाउँसम्म पनि पाएको थिएन ।
यसरी लोग्नेस्वास्नी सँगै बस्न आवश्यक पर्ने हरेक स्थितिहरु स्वास्नीचाहिँका पक्षबाट अन्त्य गरिएको थियो ।
तर ऊ स्वास्नीसँग छुट्टिएर बस्न सक्दैनथ्यो । आमाबाबु सानैमा गुमाएर टुहुरो जिन्दगी बाँचेका कारण पारिवारिक माया उसले कहिल्यै पाएको थिएन । त्यसैले उसको जीवनको पहिलो र आखिरी सपना भनेकै एउटा सुखी परिवार थियो । तर स्वास्नीका कारण यो सम्भव थिएन । दिनहुँको पीडा र आफ्नो सपनाको अन्त्य हुने खतराबाट मुक्त हुन चाहन्थ्यो । त्यसैले ऊ एउटा यस्तो उपायको खोजीमा थियो जसले उसको सपनालाई साकार तुल्याओस् ।
एकदिन उसलाई दिव्य ज्ञान प्राप्त भयो । उसले के भन्ठान्यो भने स्वास्नीको सबै अहम्कारको कारक तत्व एउटै हो– कुँदेर बनाइएझैँ उसको सुन्दर अनुहार, त्यो नै रहेन भने त अहम् पनि रहँदैन नि ।
यो दिव्य ज्ञान प्राप्त भएकै दिन बेलुकी कामबाट फर्कँदा उसले प्लाष्टिकको सानो भाँडोमा अलिकति एसिड लिएर आयो । ऊ नजानिँदो पाराले काँपिरहेको थियो र आवेगले युक्त पनि । लोग्नेले दिव्य ज्ञान प्राप्त गरिसकेको थाहा नपाएकी स्वास्नीचाहिँ अनुहारभरि सदावहार उज्यालो पोतेर टी.भी.मा आफूलाई मनपर्ने सिरियल हेरिरहेकी थिई । छोरो भने सुतिसकेको थियो । स्वास्नीको सुकला नभइसकेको कारणले उसमा एउटा त्रास बल्झियो । त्यो के भने कतै स्वास्नीले उसलाई खाना पस्किएर दिई भने प्रेममय भावुकतामा परेर योजना तुहिन सक्थ्यो, त्यसैले खान मन नहुँदा नहुँदै प्लाष्टिकको भाँडो आफ्नो खाट तल राखेर ऊ हतार हतार खाना पस्किन पुग्यो । एसिडको भाँडोको कुनै पीर नै थिएन किनकि स्वास्नी उसका कुनै पनि कुरामा मतलब राख्दिनथी ।
तर खाना खाने मानसिकता पटक्कै थिएन, दुई–तीन गासैले भो बनायो । ऊ आफ्नो खाटमा बस्यो । स्वास्नीचाहिँ बेवास्तापूर्वक सिरियल हेर्ने आफ्नै धन्दामा थिई । आफूले भात नखाँदा पनि कुनै वास्ता नगर्ने स्वास्नीको स्वभावप्रति आज नचाहँदा नचाहँदै पनि मनै दुखेर आयो । उसले हतार–हतार आफ्नै चित्त दुखाइलाई रिसमा बदल्ने प्रयत्न गर्यो । ऊ सिरकले घम्लङ्ग मुख छोपेर सुत्यो र सिरकको मोहडाबाट स्वास्नीलाई चियाउन थाल्यो ।
स्वास्नीचाहिँ किन हो आज अघिपछिभन्दा प्रफुल्ल मुद्रामा देखिन्थी । सामान्य दिनको भन्दा शृङ्गार पनि बेग्लै थियो र लाग्दथ्यो ऊ कतै विशेष ठाउँमा गएर आएकी हो । उसलाई यो कुराले अझ पीडित तुल्याउँदथ्यो कि उसकी स्वास्नी आफूमात्र खुसी हुन्थी । उसको चाहनामा एउटै कुरा थियो स्वास्नीले आफ्ना खुसीहरु अभागी लोग्नेलाई पनि बाँडोस् । यही दुःख अहिले पनि आएर बल्झियो । तर ऊ आज यो दुखाइलाई शक्तिमा बदल्ने यत्नमा थियो, त्यसैले ऊ आफूलाई ठूलो अन्यायमा परेको महसुस गर्न थाल्यो । र, अहिले सिरकको होडबाट चियाएर स्वास्नीलाई हेर्दा पनि ऊ आफूलाई यही रुपमा प्रस्तुत गर्न खोजिरहेको थियो ।
मोहोडाबाट स्वास्नीचाहिँ धेरै राम्री र कमनीय देखिएकी थिई । यस्ती स्वास्नीलाई रिसले मात्र हेर्नु गाह्रो काम थियो । ऊ क्रमशः विचलित हुने तयारीमा थियो । यसबाट बच्न ऊ स्वास्नीको अनुहार नियाल्न भन्दा पनि उसले आफूतिर कतिको याद गर्छे, त्यो हेर्नतिर लाग्यो । तर उसको यो रहरलाई स्वास्नीले फेरि दुःखमा नै बदलिदिई अर्थात् सुतेको लोग्नेलाई एक नजर पनि नहेरी सिरियल सकिनासाथ ऊ बत्ती निभाएर सुती ।
उसलाई बल्ल आज आफ्नो अस्तित्वचेत भइरहेको थियो । त्यसैले स्वास्नीको सधैँको यो व्यवहार पनि उसलाई अपच भइरहेको थियो । कोठाको अन्धकारभित्र ऊ छट्पटाइरहेको थियो । यतिखेर ऊ स्वास्नीप्रति आक्रोशित भइरहेको थियो र आफ्नो निम्ति भावुक पनि । ऊ दुई वर्षको हुँदा उसका बाबु बिते र सात वर्षको हुँदा आमा पनि । काकाकाकीको छत्रछायामा बाँच्दा स्कुल गएर पढ्ने लेख्ने कष्ट गर्नुपरेन, जङ्गल गयो, स्याउला/घाँस ल्यायो, मेला गयो… … यस्तै । खानेकुराभन्दा कुटाइपिटाइ बढी खाएर हुर्किरहेको ऊ त्यसैकारण अहिलेसम्म पिलन्धरे थियो । काकीको वात्सल्यको उदाहरण नाकको डाँडी, निधार र च्युँडोमा प्रत्यक्ष देखिन्थ्यो, जसलाई कहिलेकाहीँ ऐनामा देख्दा ऊ आफ्नी काकीलाई बडो गहिरोसँग सम्झनपुग्थ्यो । यिनै खतहरुले उसलाई सानै उमेरदेखि आफूले थालेका आत्महत्याका असफल प्रयासहरुको याद दिलाउँथे र भावुक बनाउँथे । उसले आत्महत्या नगर्नुका पछाडि एउटा कारण थियो । उतिबेला उसको छिमेकमा उसकै उमेरको एकजनाले आत्महत्या गरेको थियो जसको मृत्युमा धेरै रोएका थिए । ऊ जहिल्यै पनि मर्ने कल्पना गर्दा आफ्नो मृत्युपछि मर्नेहरुको ‘लिस्ट’ तयार गर्दथ्यो जुन प्रायः खाली नै रहन्थ्यो । त्यसकारण ऊ रुने मान्छे तयार नहुन्जेल आत्महत्या नगर्ने मनस्थितिमा पुगी चौध वर्षको उमेरमा घर छाडी हिँड्यो । त्यसपछिका चौबीस वर्षमा उसले धेरै हण्डर खायो । तर उसले आफ्नो मृत्युमा रुने मान्छे कहिल्यै तयार पार्न सकेन ।
त्यसकारण एक्लो महसुस हुँदाहुँदै पनि आत्महत्या गर्ने विचार यसपटक पनि आएन । ऊ त स्वास्नीको रुप र आफ्नो रुपको वर्गीय धरातल एउटै बनाउने ‘क्रान्ति’ गर्न तत्पर थियो र बडो बेचैन मुद्रामा ओछ्यानमा छट्पटाउने क्रियाकलाप गरिरहेको थियो ।
यस्तैमा केही घण्टा बिते । जब स्वास्नीको फ्वा फ्वा छोराको साससँगै मिसिनथाल्यो, ऊ जुरुक्क उठ्यो । उसले सर्वाङ्ग तातिरहेको महसुस गर्यो । अनायासै उसको देब्रे हातले बत्तीको स्वीच प्याट्ट पार्यो । बत्तीको उज्यालोमा ऊ स्वास्नीको छेउमा गएर उभियो । स्वास्नीचाहिँ मध्यनिद्रामा थिई । ऊ अलिकति पनि चलमलाउने अवस्थामा थिइन । सुलुत्त परेको उसको नाकका पोराहरु मात्र चलिरहेका देखिन्थे । स्वास्नीको अबोध बालिकाजस्तै अनुहार देख्दा ऊ अत्यन्तै भावुक भयो । टम्म बाँधिएका उसका पातला ओठमा बेस्सरी म्वाइँ खाऊँ झैँ भएर आयो उसलाई, तर हच्कियो । एकैक्षण हेरिबस्यो । त्यसैबेला ऊ चल्मलाई । तर्सेर ऊ ओछ्यानमा आएर घुस्रियो र बत्ती निभायो ।
एकछिन सास रोकेरै ओछ्यानमा पल्टिरह्यो ऊ । तर भित्रबाट एउटा उद्वेग उठिसकेको थियो । त्यसलाई उसले रोक्ने प्रयत्न गरिरहेको थिएन । त्यसैले केहीबेरमै ऊ पुनः उठ्यो, बत्ती बाल्यो र स्वास्नीको छेउतिर गयो ।
स्वास्नीचाहिँ असजिलो गरी सुतिरहेकी थिई । सुत्दा लगाएको उसको लुगा माथिमाथिसम्म सरेको थियो जसले उसलाई अकस्मात उत्तेजित गरायो । अघिको उसको आवेग अब आएर उत्तेजनामा परिणत भयो ।
‘यसको यो सुन्दर स्वरुप केही मिनेट पछि कुरुप हुनेछ ।’, ऊ खिस्स हाँस्यो । तर हाँस्ने बेलामा आवाज ननिस्कोस् भन्ने चाहना पनि उसले राखेको थियो ।
‘त्यसो हो भने यो रुपलाई अन्तिम पटक किन नभोग्ने ?’, कताकताबाट उसमा हिंस्रक विचार पैदा भयो । उसले आँखा ननचाइकन स्वास्नीलाई हेरिरह्यो । स्वास्नीचाहिँ ओढ्ने जम्मै फालेर सुतिरहेकी थिई जसका कारण उसको शारीरिक भूगोल अर्धगोचर भइरहेको थियो । उसले बेस्सरी माथिल्लो दाँतले तल्लो ओठलाई बेस्सरी टोक्यो । यसोगर्दा उसलाई आफूमा अनौठो किसिमको शक्ति उत्पन्न हुन पुगेको आभास भयो र अन्तिम युद्धमा होमिन ऊ भित्रैदेखि तयार भयो ।
अनि युद्धमा उत्रियो पनि । तर त्यसैबेला स्वास्नीचाहिँको निद्रा खुल्यो र ऊ तर्सिएर चिच्याउन पुगी, “आबुइ… … !”
स्वास्नीको चिच्याहट यद्यपि कमजोर थियो तर ऊ आफैँ तर्सिन पुग्यो र उत्तेजना सबै पग्लियो । अकस्मात् ऊ शिथिल भयो । अर्धनिन्द्रामै उसलाई हुत्याइदिई जसले गर्दा असन्तुलित भएर ऊ खाटबाट झर्न पुग्यो र जोतियो बिर्को राम्रोसँग नलागेको एसिडको भाँडोमा ।
आत्थाथा… …था…!” उसको दाहिने हातमा एसिड पर्यो ।
उसको स्वरले स्वास्नीचाहिँ पूरै ब्युँझिएर उठी अब । उसका आँखा विस्फारित भए ।
“किन नि चोर बिरालो झैँ ? अर्कालाई सुत्नुपर्छ भन्ने था’छैन ?”, ऊ ओछ्यानबाटै जङ्गिई ।
तर ऊ स्वास्नीलाई सुन्न सक्ने हालतमा थिएन । उसको हात भत्भती पोलिरहेको थियो । उसले हत्त न पत्त पानीको बाल्टीमा आफ्नो हात चोप्न पुग्यो र दाँत कटटट पारी आफूलाई संयमित पार्ने प्रयत्नमा लाग्यो ।
के भो नि ?”, लोग्नेको चर्तिकला हेरिरहेको स्वास्नीले सोधी ।
ऊ केही बोल्न सकेन ।
“के भो भन्या ?, स्वास्नी अझै झर्किएर कराउँदै थिई।
“आइसिडले पोल्यो .. …।”, आँखाभरि आँसु पारेर पीडा भरिएको आवाजमा उसले उत्तर दियो ।
“के गर्न ओसार्या नि आइसिड ?”
उसले केही उत्तर दिएन ।
“ठिक्क पर्यो । बानी अनुसारको .. ..।”, स्वास्नी बेवास्तापूर्वक ओछ्यानमा गएर घुस्रिई ।
मन अमिलो भएछ क्यारे उसका आँखाबाट तातो आँसु तप्प झर्यो ।
र, त्यसदिनदेखि नै ऊ उपायविहीन भएको थियो । नक्कली संसारदेखि वाक्क मानेर मर्न जाँदा पासो लगाएको डोरी समेत नक्कली परेर दुःख पाएको मानिसको चुट्किला ऊ यी दिनहरुमा गम्भिरतापूर्वक सम्झिरहेको थियो ।
तैपनि सहनशील बन्दै ऊ बाह्रौँ वर्षको प्रतीक्षामा थियो । अप्ठ्यारो जिन्दगीमा सकेसम्म स्वभाविकता प्रदर्शन गर्ने उसको प्रयत्न पनि जारी नै थियो । यही क्रममा माघ महिना कटाउँदै थियो ऊ । आगामी जेठमा ऊ बाह्रौँ वर्षगाँठ मनाउँदै थियो र त्यसपछि दैवी चमत्कार हुने आशा पनि अझै तातै थियो ।
आज मन अलि हलुको थियो तर स्वास्नी घरमा थिइन ।
उसँग कोठाको साँचो थिएन । आज किन हो स्वास्नीविनाको रित्तो कोठामा पस्न मन लागिरहेको थिएन । छोराको जाँच सिद्धियो, सायद माइत गई होला, उसलाई लाग्यो । ऊ त्यत्तिकै अल्मलियो र ढोकामा गएर उभियो । त्यति नै बेला भर्याङबाट घरबेटी झरिन् ।
“तपाईँ काँबाट आएको हँ ?”, घरबेटीको सोधाइले उसलाई झिँझ्याट उत्पन्न गरायो । सधैँ कामबाट त आउँछ नि ऊ । तैपनि स्वाभाविक भएर उसले उत्तर दियो, “कामबाट ।”
“ए… तपाईँलाई केही था’छैन ? लौ छिटो जानुस् उसोभए ।”, घरबेटी हतारिइन् ।
तर उसलाई हतारिने जाँगरसम्म पनि थिएन । मन नलागी ऊ बोल्यो, “कहाँ….?”
“बैनीलडेर हस्पिटल लगेको छ । गै हाल्नुस् छिटो । के गर्ने दिन लागेपछि …… ।” हतारिएकी घरबेटी अब आरामले प्रतिवेदन प्रस्तुत गर्न तयार देखिइन् । तर ऊ भने बल्ल हतारिन थाल्यो ।
“अनि छोरो कता छ त ?”, उसलाई छोराको याद आयो ।
“ए…ऊ त ब्यानै उसको मामासित गयो ।”
ऊ हत्त न पत्त अस्पतालतिर कुद्यो ।
इमर्जेन्सीमा राखिएको रहेछ, भित्र पस्न दिइएन । बाहिर ढोकामा दुई ठिटाहरु उभिएका थिए । उसले तिनलाई चिन्थ्यो किनभने किनभने तिनीहरु स्वास्नीका दिउँसभरिका गफ चुट्ने ‘साथी’ थिए । तिनीहरुले ऊ आएको हेरे तर केही बोलेनन् । केहीबेरमा घरबेटी पनि आइपुगे । तर उसले केही पनि सोधेन ।
घरबेटी आफैँले भने, “मुख सिधै जोतिएकोले अनुहारमा पूरै चोट छ । धन्न टाउको ठोकिएनछ । डाक्टरले आत्तिनुपर्दैन भनेको छ । होश पुरै छ, त्यसैले सिटी स्क्यान गर्नु नपर्ला कि भनेको छ डाक्टरले । अब केही छिनमै वार्डतिर सार्छ होला ।”
उसको आङ सिरिङ्ग गर्यो, रक्तमुच्छेल भएकी स्वास्नीको अनुहार सम्झ्यो । उसले आँखा चिम्म गरेर त्यो कल्पनाबाट भाग्ने प्रयत्न गर्यो । तर उसको मस्तिष्कमा अनेक कुराहरु आए । सोच्दा सोच्दै आफूले स्वास्नीको अनुहारमा ‘एसिड’ खन्याउने प्रयास गरेको असफल रात सम्झ्यो ।
अब ऊ स्वास्नीको क्षतिबिक्षेत अनुहार सम्झेर रोमान्चित पो हुन पुग्यो । ऊ त्यो हेर्न आतुर थियो । उसले सानो झ्यालको पर्दा पन्छाएर कोठाभित्र चियायो । नर्सहरु घाइतेको अनुहारमा पट्टी बाँधिरहेका थिए ।
लगभग एक घण्टाजतिको प्रयासपछि घाइतेलाई जनरल वार्डतिर सारियो । ठिटाहरु सायद पहिले नै हिँडिसकेका थिए, घरबेटी पनि केही परे फोन गर्नु भनेर हिँडे । उनले ‘चिन्ता नलिनु’ भनेर ढाडस दिन पनि भ्याए । अब ऊ मात्रै थियो । घाइते सामान्य होशमा आएकी थिई । ऊ सिरानमा बसेर स्वास्नीचाहिँको अनुहारतिर अपलक हेरिरहेको थियो । आँखा र मुखमात्र देखाएर पूरै पट्टी लगाइएको थियो । ऊ घरि आँखा चिम्लन्थी घरि भित्तातिर ताक्थी, तर उसलाई हेरिरहेकी थिइन । उसका आँखामा कुनै पनि किसिमको चमक थिएन, ओठमा रगतका थोपा कट्कटिएका थिए । रुमाल भिजाएर उसले स्वास्नीका ओठ हलुकोसित पुछ्ने प्रयत्न गर्यो, यसो गर्दा ऊ नजानिँदोसित धकाइरहेको थियो । स्वास्नीले कुनै प्रतिक्रिया जनाइन । तर रगतको टाटा गएन ।
उसको एउटै ध्येय स्वास्नीको अनुहार हेर्ने थियो तर त्यसको निम्ति भोलि बिहानसम्म कुर्नुपर्ने थियो । मनमा धेरै जिज्ञासाहरु जन्मिरहेका थिए । तर ती सबै प्रश्नहरुको उत्तर उसको अनुहारको पट्टि खोलेपछि मात्रै पाउन सकिन्थ्यो ।
ऊ एकोहोरो स्वास्नीका मलिन आँखातिर दृष्टि दिइरहेको थियो । ऊ ती सुन्दर आँखा प्रायः बन्द गरिरहन्थी । तर जब आँखा खोल्थी, ऊ देख्दथ्यो तिनमा वेदनाको नीलो पानी भरिइरहेको हुन्थ्यो । सलक्क परेको उसको सुन्दर अनुहार जसको घमण्डले ऊ सधैँ आफूलाई हेप्ने गर्दथी त्यो सबै छोपिएको थियो र दुष्टता भरिएका ओठयुगल पनि कलेटी परेर नीला न नीला भएका थिए । ती ओठ तिनै थिए जसले उसलाई सधैँ वक्रतापूर्ण एवम् उपहासपूर्ण व्यवहारको छनक दिन्थे । ऊ विचार गरिरहेको थियो, ‘दैवले कति असल विचार गर्न सक्दोरहेछ, दिन आइपुग्नु मात्रै पर्ने रहेछ ।’
दिन आएको थियो बल्ल !
धेरैबेर मौनतामा बिते । स्वास्नीचाहिँ घरिघरि पीडाको लामो आर्तनाद गरिरहेकी थिई ।
“पारु, धेरै दुख्यो ?”
अकस्मात् उसको मुखारविन्द खुल्यो । तर यो अभिव्यक्ति आइसकेपछि भने आफूलाई बडो असजिलो महसुस गर्यो । किनभने जीवनमा पहिलो पटक उसले आफ्नी स्वास्नीलाई यसरी सम्बोधन गरेको थियो । असजिलो मान्दै भएपनि उसले स्वास्नीतिर हेर्यो । स्वास्नीले मलिन स्वरमा उत्तर दिई, “असाध्यै दुखेको छ ।”
कताकताबाट उसका हातका औँला स्नेहासिक्त भएर स्वास्नीको कपालतिर बढे । त्यसो गर्दा उसको सर्वाङ्ग काँपिरहेको थियो । ऊ मुस्किलले सास फेरिरहेको थियो । तैपनि उसले यो साहसलाई गुमाउन चाहिरहेको थिएन ।
त्यसैबेला स्वास्नीले भनी, “जानु गएर खाना खानुस्, भोक लाग्यो होला ।”
हर्षले झण्डै लड्ने सम्भावना भयो । जीवनमा पहिलोपटक ऊ यसरी बोलेकी थिई । खुशीले निसासिएको स्वरमा उसले सोध्यो “तिमी के खान्छ्यौ नि ?”
“मलाई त केही खानै मन छैन, तपाईँ खाएर आउनुस् न ।”
“होइन अलिकति त खानै पर्छ । शरीरमा बल नि त चाहिन्छ ।”
“उसोभए अलिकति जाउलो ल्याइदिनुस् न त ।”
सरक्क उठ्यो ऊ, हतारो थियो । जे जे भइरहेथ्यो त्यो आजभन्दा अघि कहिल्यै भएको थिएन । त्यसैले ऊ नितान्त नौलो तर रोमाञ्चक अनुभव गरिरहेको थियो ।
ऊ हतारिएर क्यान्टिनमा पुग्यो । आफ्नो लागि भात मगायो, स्वास्नीका लागि जाउलो मगायो । तर खुसी किलकिलेसम्म आइसकेको थियो त्यसैले भातले रुच्ने नामसम्म पनि लिइरहेको थिएन । ऊ जुठो मुखमात्रै गरेर उठ्यो र लगभग कुदेझैँ गरी वार्डतिर गयो । स्वास्नीचाहिँ सिलिङ ताकेर पल्टिरहेकी थिई ।
“ल उठ त, अहिले फेरि सेलाउँछ ।”
स्वास्नीचाहिँले उठ्ने प्रयत्न त गरी तर सकिन । उसले साहारा दिएर उसलाई उठायो र सिरानीको आडा लगाएर बसायो । स्वास्नीले जाउलोको कचौरातिर हात बढाई ।
“तिमी सक्दिनौ म खुवाइदिन्छु नि ।”
“होइन म आफैँ खाइहाल्छु नि ।”
“भो पर्दैन । ल आँ गर ।”
ऊ पहिलोपटक लोग्नेले भनेको मान्ने छाँटमा आई । उसले जाउलो चम्चामा उठायो । तर समस्या यो भयो कि हात काँपेर जाउलो ओढ्नेमा पोखियो । ऊ लाजले रातो भयो । स्वास्नीले हाँस्ने प्रयत्न गरेको देखियो । उसले आफूलाई बलियो पार्ने प्रयत्न गर्यो । सारा शरीर गर्माइरहेको थियो ।
“छिः कस्तो नजान्ने मान्छे । चम्चै मुखभित्र कोचियो ।”
स्वास्नीले जे भने तापनि उसले जाउलो खुवाउन पाएको अवसरको पूर्ण उपयोग गर्यो । त्यसमा ऊ सफल पनि देखियो । अनि पानीले उसको मुख पुछिदिन लाग्यो ।
दृश्य हिन्दी पारिवारिक सिनेमाको मिलनकै उत्कर्षमा पुग्न लागिसकेको थियो । ऊ यति भावुक बनेको थियो कि उसलाई स्वास्नीसँगै टाँसिएर सुतूँ र माया गरिरहूँ झैँ भइरहेको थियो । उसको ओढ्ने मिलाइदिने बेलासम्म त ऊ यति बिचलित भइसकेको थियो कि अब केही सेकेन्डमै आँखा बग्न तयार भइसकेका थिए । त्यसैले ऊ छिटोछिटो बाथरुमतिर लाग्यो । रुन मन लागेतापनि आँसु भने आएन ।
छोटकरीमा ऊ पारिवारिक सुखको प्रथमपटक राम्ररी उपयोग गरिरहेको थियो । ऊ पटकपटक ईश्वरलाई धन्यवाद दिइरहेको थियो । अनि बाह्रको अङ्कलाई सम्झदै थियो । बिहेको बाह्रौँ वर्ष टेक्दा नटेक्दै खोलो फर्कने तयारीमा मूल बेग्लै दिशातिर फुट्न लागिसकेको थियो त ऊ बेखुशी हुने किन ?
तर संशयहरु सबै सकिइसकेका भने थिएनन् । आफ्नो पारिवारिक सुख स्वास्नीको अस्वस्थताले ल्याएको हो भन्नेमा ऊ पूर्णतः विश्वस्त थियो । तर भयानक संशय अब यस्तो पनि थियो कि स्वास्नी पूर्ववत् रुप आकृति बोकेर प्रकट भइदिई भने ?
यस कुराले ऊ विचलित थियो र ईश्वरलाई सम्झिरहन बाध्य थियो । तर ईश्वरसँग स्वास्नीको रुप बिगारिदेऊ भन्नु एउटा लोग्नेको कर्तव्यभित्र पर्दैनथ्यो । त्यसैले तात्पर्य उही हुने गरी ईश्वरसँग स्वास्नीको पूर्ववत् स्वभावको अन्त्यको कामना गर्ने काममात्र उसले गर्यो । यसो गर्दा ईश्वर पनि झुक्किने र आफ्नो अभीष्ट पनि पूरा हुने ! यसमा ईश्वरलाई अविश्वास गर्नुपर्ने उस्तो कारण थिएन किनकि जो परिवर्तन उसले भोग्दै थियो उसको विचारमा त्यो ईश्वरकै देन थियो । ईश्वर आफूसँग अत्यन्तै खुशी रहेको पाएर ऊ धन्य भएको थियो । तैपनि स्वास्नीको पट्टि खोलेर ऊ ईश्वरको इमान्दारिताको परीक्षण गर्न चाहन्थ्यो ।
खुशीले गद्गद् भएर ऊ रातभरि स्वास्नीकै आसपास बसिरह्यो ।
त्यो समय आउनै थियो, आयो । भोलिपल्ट घाउ ड्रेसिङ गर्नका लागि त पट्टि खोल्नै पथ्र्यो । डाक्टरसहित नर्सहरु आए । अनि वरिपरि पर्दाले घेरेर पट्टि खोल्नतिर लागे । ऊ भित्तामा टाँसिएर उभिएको थियो तर स्वास्नीचाहिँको अनुहारतिर सिधा हेर्न भने सकिरहेको थिएन । तैपनि उसका आँखा पटक्कै झिम्किएका थिएनन्, बेला बेलामा भने त्यतातिर कर्के दृष्टि फ्याँक्थ्यो । स्वास्नीचाहिँ थोरै छट्पटाउँदै थिई । ऊ भने धेरै छट्पटाएको थियो त्यो पनि मनमनले । यतिखेर ऊ ईश्वरको परीक्षणभन्दा पनि आफ्नो भाग्यको परीक्षण गर्ने अग्निपरीक्षामा उत्रिएको थियो ।
पट्टी पूर्णतः खोलिसकिएको बुझियो । एक्कासि उसले आफ्नो सिङ्गो शरीर नै तातिएर आएको महसुस गर्यो । उसका गोडा लगलगी कामे, लडिएलाजस्तो भएर ऊ अझै भित्तामा लिपासियो । उसमा अनौठो डरमिश्रित खुल्दुली पैदा भइरहेको थियो । उसलाई स्वास्नीको अनुहार हेर्न मन लागिरहेको थियो तर आँट भने आइरहेको थिएन ।
अब नर्सहरु ड्रेसिङ गर्ने तयारीमा थिए । स्वास्नीको छट्पटी उसले प्रष्टै महसुस गर्यो ।
“दुख्यो ? एकैछिन हो, नआत्तिनुस् है ।” पातली नर्सको मधुरो बोली उसको कानमा आएर ठोकियो । उसको पतित्व जाग्यो, गएर स्वास्नीलाई ढाडस दिऊँ जस्तो पनि लाग्यो एक मन त । तर सकेन ।
त्यो काम पनि सकियो ।
अब नर्सहरु अर्को पट्टि बाँध्ने प्रयत्नमा थिए । यो देखेर ऊ अत्तालियो । यो अनुहार छोपेपछि फेरि हेर्न अर्को दिनसम्म पर्खनुपर्छ । उसको जिज्ञासा जागेर आइसकेको थियो । अनायास ऊ लम्केर स्वास्नीचाहिँको नजिकमा पुग्यो अनि पट्टि बाँध्दै गरेकी नर्सको हात हटाएर उसको अनुहार हेर्यो, विस्मित दृष्टिले निकैबेर गढेर हेरिरह्यो । अनि अन्त्यमा, सानो केटाले झैं हत्केलाले आफ्नो अनुहार छोपेर क्वाँ क्वाँ रुन थाल्यो ।
- (कथाकार विजय सापकोटाको अनावरण कथा संग्रह प्रकाशित छ । गाउँ खोज्दै जाँदा कविता संग्रह, उडान बाल उपन्यास, काभ्रेली नेपाली साहित्यको रुपरेखा, आमाको माया गरी पाँच पुस्तक प्रकाशित छन् ।)


