After header

तराईः के पानीको सङ्‌कटतर्फ उन्मुख हुँदैछ

भूमिगत पानी अत्यधिक मात्रामा तान्ने बढ्दो प्रवृत्ति र चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको चरम दोहनका कारण तराईका जिल्लामा पानीको सतह कम हुन थालेको भूगर्भविद्‌हरूले बताएका छन्।

राज्यले समयमै आवश्यक कदम नचाले तराईमा भविष्यमा पानीको चरम अभाव हुन सक्नेतर्फ उनीहरूले सचेत पनि गराएका छन्।

कतिपय मानिसहरू आफ्नो घरको कल धारा सुक्न थालेपछि छरछिमेकीबाट खानेपानीको गर्जो टार्नुपर्ने बाध्यता रहेको बताउँछन्।

तराईका जिल्लामा कतिपयका कल धारा सुक्नुबाहेक पहिलाभन्दा दोबर अथवा तेबर गहिराइमा पाइप गाड्दा मात्रै पानी आउने समस्या देखिन थालेको छ।

समस्या

यो क्रम पछिल्ला वर्षमा बढ्दै गएको स्थानीयवासी बताउँछन्। तर भूगर्भविद्‌हरूका अनुसार यो समस्या रातारात सिर्जित भएको होइन।

भूगर्भविद्‌ डा. दण्डपाणि अधिकारीका अनुसार भूमिगत पानीको सतह तल जान थालेकोले यो समस्या देखिएको हो।

पानीको सतह तल जानुका दुई-तीनवटा कारण देखिएको डा. अधिकारी बताउँछन्।

“पहिला घरहरू कम थिए, पानीको प्रयोग पनि थोरै हुन्थ्यो। अहिले पानीको प्रयोग बढी छ र अर्को कुरा खेतीपातीका लागि मान्छेहरू भूमिगत पानीमा अत्यधिक निर्भर हुन थालेका छन्।”

अव्यवस्थित शहरीकरण र वन फडानीका कारण जमिनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर पठाउन नसक्नु पनि भूमिगत पानीको सतह तल हुँदै जानुको अर्को कारण रहेको भूगर्भविद्‌हरू बताउँछन्।

डा. अधिकारी थप्छन्, “कि आकाशबाट परेको पानी जमिनले सोसेर भित्र भण्डारण हुने हो कि ठूला नदीबाट बिस्तारै सोसेर भूमिगत पानी भण्डारण हुने हो। तर अहिले भण्डारण हुने पानीभन्दा प्रयोग हुने मात्रा बढी भयो।”

अर्का भूगर्भविद्‌ डा. रञ्जनकुमार दाहाल पनि जमिनमुनि भण्डारण हुने पानीभन्दा त्यसको प्रयोग बढी भएको तथ्यसँग सहमत देखिन्छन्।

पुनर्भरण

त्यसबाहेक दाहाल अर्को सम्भावित कारण पनि देख्छन्।

“नदीको बहावमा परिवर्तन आउनाले पनि हुन सक्छ। त्यो भनेको नदीमा पहिला कुन प्रकारको बहाव थियो र कसरी पानी रिचार्ज अर्थात्‌ पुनर्भरण हुन्थ्यो भन्ने कुरा हो। त्यसमा कुनै प्रकारको विचलन आइदियो भने पानीको सतह घट्दै जान्छ।”

यद्यपि नेपालमा यसबारे अध्ययन हुन बाँकी रहेको भूगर्भविद्‌ डा. दाहाल औँल्याउँछन्।

उनका अनुसार भूमिगत पानी तान्दा कल धारा अथवा बोरिङले प्वाल हुने ठाउँमा पानी ओइरिएर जाने भएपछि वरिपरि पानी घट्न पुग्छ।

“तर पर्याप्त पानी पुनर्भरण भए यो कुरा नगन्य हुन्छ,” डा. दाहाल थप्छन्।

बिबिसीबाट

एक पटक पढ्नुहोस