भारतमा प्याजको भाउ अकासिएपछि विकल्पको खोजी हुँदै

काठमाडौं, २० मङ्सिर- दैनिक उपभोग्य वस्तु तरकारीमा अधिकतम मात्रामा प्रयोग हुने प्याजको मूल्य अकासिएपछि अहिले उपभोक्ता मारमा परेका छन् । विगत केही सातादेखि बढ्दो क्रममा रहेको प्याजको बजार मूल्य गतवर्षभन्दा तेब्बरले वृद्धि भएको छ ।

गत कात्तिक महिनाको अन्त्यसम्म थोक मूल्य प्रतिकेजी ३१ रुपैयाँ रहेकोमा प्याजको मूल्य ह्वात्तै बढेर प्रतिकेजी ९५ देखि १ सय ५ रुपैयाँसम्म पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार गतवर्षको यस महिनामा प्याजको थोक मूल्य प्रतिकेजी ३० रुपैयाँ मात्रै रहेको थियो, राजधानी दैनिकमा खबर छापिएको  छ ।

भारतमै मूल्य बढेकोले नेपाली बजारमा पनि महँगिएको कालिमाटी तरकारी बजारका व्यवसायीले बताएका छन् । उत्पादन घटेर भारतमै प्याज अभाव हुन थालेपछि भारत सरकारले गत सातादेखि नै प्याजको न्यूनतम निर्यात मूल्य दर बढाएको छ । भारत सरकारले प्रतिमेट्रिकटन ८ सय ५० डलर(४६ हजार ४ सय ९२ रुपैयाँ) निर्यात दर कायम गरेको छ । तर यो व्यवस्था आगामी पुस समान्तसम्म मात्रै लागू हुनेछ । नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले नेपाललगायत खाडी मुलुकमा समेत भारतीय प्याज नै आपूर्ति हुने गरेकोले बढी मुनाफा लिनका लागि भारतले निर्यात मूल्य बढाएको हुन सक्ने बताए । भारतीय प्याज महँगो भएकोले विकल्पमा चिनियाँ प्याज आउन सक्ने पनि उनले बताएका छन् । उनका अनुसार चिनियाँ प्याज निकै सस्तो हुने भए पनि भारतीय जस्तो स्वादिलो हुँदैन ।

एक पटक पढ्नुहोस