किन रुखो, आक्रमक र लाचार हुन्छन् सरकारी कर्मचारी ?

न्यूयोर्कबाट प्रकाशित हुने फच्र्युन म्यागाजिनले सरकारी कर्मचारीहरु धेरै अल्छि र कम सिर्जनशील हुन्छन् भन्ने विषयमा केही समय अघि एउटा अध्ययन गरेको थियो । सो अध्ययनले विभिन्न कारणहरु पत्ता लाग्यो जसले कर्मचारीहरुको जाँगर मारिरहेको छ ।

सो म्यागाजिनको अध्ययन अनुसार सबैभन्दा पहिले अचानक र बारम्बार नेतृत्व परिवर्तन हुनु नै मूल समस्याको जड हो । यसमा नेतृत्व भनेर दुई किसिमका नेतृत्वहरुलाई उल्लेख गरिएको छ । एउटा त कर्मचारीहरुको नेतृत्व गर्ने राजनीति नेतृत्व ५/५ वर्षमा परिवर्तन हुन्छ । उनीहरुको आधा कार्यकाल सम्बन्धित विषयको अध्ययन गर्दैमा जान्छ । पहिलेदेखि नै त्यो क्षेत्रको जानकारी लिँदा अर्कै क्षेत्रको जिम्मेवारी पाउने भय पनि त्यस्तै हुन्छ । त्यसैले तत्काल र बारम्बार हुने अव्यवस्थित सरुवा सरकारी कर्मचारीको लागि घातक साबित भएको छ ।

दोस्रो समस्या हो उचित मूल्यांकनको अभाव हुनु । कर्मचारीहरु सबै कामचोर पनि छैनन् र सबै जाँगरिला पनि छैनन् । परिश्रम गर्ने र कम परिश्रम गर्नेलाई एउटै बास्केटमा राखेर मूल्यांकन हुनु नै निराशाको कारण हो ।

यस बाहेक म्यागाजिन अध्ययनले देखेको समस्यामा उमेर पुगिसकेका कर्मचारीहरु, कडा किसिमको सार्वजनिक सेवा नियम र कर्मचारीको सुरक्षाको सवाल, वित्तीय प्रोत्साहनको प्रयोगमा सीमितता आउनु पनि कर्मचारीको निस्कृयताको कारण हो । कर्मचारी ट्रेड युनियनको दबदबा हुँदा पनि कर्मचारीहरुले राम्रोसँग कार्यसम्पादन गर्दैनन् । सो म्यागाजिनले मूल समस्याको रुपमा पहिचान गरेको छ ।

कर्मचारी आफैं डिप्रेसनमा

मानसिक अस्पतालका प्रमुख मोहनराज श्रेष्ठ (लाखे) डिप्रेसनको चरम रुपमा पुगेकाहरु आत्महत्या गर्न बढी प्रयासरत हुने बताउँछन् । त्यसैले कुनैपनि व्यक्ति डिप्रेसनको चरम विन्दूमा पुगेको छ भने उसले जतिसुकै बेलापनि आत्महत्या गर्नसक्छ ।

पछिल्लो एक वर्षयता भ्रष्टाचारको मुद्दामा आरोपित भएका सहित ४ जना कर्मचारीहरुले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । गत साउन १२ गते एक कर्मचारीले बालाजु माछापोखरीको सपिङ कम्प्लेक्सबाट हामफालेर आत्महत्या गरे । बालुवारटार जग्गा प्रकरणमा ती मृतकको समेत नाम जोडिएको थियो । उनी सुब्बा थिए ।

त्यस्तै, मालपोत कार्यालयका अर्का कर्मचारीले पनि त्रियुगा नगरपालिकामा साउन महिनामा नै झुण्डिएर आत्महत्या गरे । उनले आफ्नो सुसाइड नोटमा ‘अख्तियार प्रमुख नवीन घिमिरे दुई सय वर्ष बाचून्’ भन्दै आफूले कुनैपनि हालतमा भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

एकातिर कुनैपनि सेवाग्राहीहरु सरकारी कार्यालयबाट सन्तुष्ट भएर फर्किन सक्दैन भने अर्काेतर्फ सरकारी कर्मचारी समेत आफ्नो पेशाप्रति सन्तुष्ट छैनन् । यसैको परिणाम हो सेवाग्राहीहरु सिंगो सरकारी संयन्त्रप्रति रुष्ट हुन्छन् भने कर्मचारीमा पनि आफ्नो पेशा प्रतिपनि निराशा भाव झल्किने गरेको छ ।

सूचना प्रविधिको विकासका कारण सरकारी कर्मचारीहरुमा केही प्रक्रियागत सुधार भने नभएका होइनन् । पछिल्लो समय युवाहरुको निजामती सेवामा भएको प्रवेश र प्रविधिको विकासले गर्दा नियमित कार्यालयमा उपस्थित हुने, समयमा नै कार्यालय आउने जस्ता व्यवहारमा सुधार भइसकेको छन् । तर, प्रक्रियागत झण्झटका कारण पनि कार्यसम्पादन क्षमता भने अझै सुधि्रन सकेको छैन ।

नेपाल निजामती किताबखानाकी महानिर्देशक गीता कुमारी होमागाईं कर्मचारी मानसिक अवस्थाको बारेमा पनि सरकारले ध्यान दिनुपर्ने तर्क गर्छिन् । अहिले सरकारले निजामती किताबखानामा कर्मचारीको कारबाहीको विषयमा लिखत राख्नेगर्छ । तर, कार्यक्षेत्रमा कर्मचारीहरुले कस्ता मानसिक समस्या भोग्नुपरेको छ ? कर्मचारीको सिर्जनशीलता पहिलेभन्दा कम छ कि बढी छ ? भन्ने विषयमा सरकारले चासो दिने गरेको छैन ।

नेपालमा कर्मचारी प्रशासनका समस्याहरु

प्रक्रियागत झण्झट देखाएर काम अल्झाउने, तत्कालै कार्यान्वयन गर्न सकिने कामलाई समेत हप्तौंसम्म झुलाएर दुःख दिने आरोप लाग्ने गरेको छ ।

सरकारले हरेक वर्ष निजामती सेवा दिवसको अवसरमा दिने सर्वाेत्कृष्ठ कर्मचारी पुरस्कार पछिल्ला केही वर्षमा दिएको छैन । के कर्मचारीहरु सर्वाेत्कृष्ठ बन्ने व्यक्ति नै नभएका हुन् त ? कर्मचारीहरुमा इगोभावले गर्दा पनि सर्वाेत्कृष्ठ कर्मचारी छनोट नभएको या त आज त्यही कर्मचारीले पछि नराम्रो काम गर्छन् र बदनाम भइन्छ कि ? भन्ने भयका कारण यस्ता कर्मचारीको छनोट नगरिएको जानकारहरु बताउँछन् ।

पछिल्लो पटक सर्वाेत्कृष्ठ निजामती कर्मचारीको उपाधि हाँसिल गरेका पूर्वप्रशासक शान्तराज सुवेदी कर्मचारीको कार्यक्षमतामा विभिन्न तत्वहरुले असर गरिरहेको बताउँछन् ।

उनी भन्छन् ‘बाहिर आरोप लाग्ने गरेजस्तो सबै निजामती कर्मचारीहरु कामचोर, अल्छि र कम सिर्जनशील पनि छैनन् । जो अलिक अल्छि हुने गरेका छन् । उनीहरुको पनि आ-आफ्नै समस्या हुन सक्छ ।

सुवेदीको विचारमा निजामती सेवामा कर्मचारीहरुको वृत्तिविकास, मनोविज्ञान, उनीहरुको निष्पक्ष कार्य सम्पादन जस्ता विषयहरुलाई ध्यान दिन नसक्दा कर्मचारीहरुबाट सोचेजस्तो कार्यसम्पादन हुन सकेको छैन । पछिल्लो समय प्रविधिले कर्मचारीलाई एउटा नियममा बाँध्ने काम गरेको  ।

आखिर के हो त यसको समस्याहरु ? सुवेदीले नेपालमा निजामती कर्मचारीले राम्रोसँग सेवाग्राहीलाई सेवा दिन नसक्नुका विभिन्न कारणहरु बताएका छन् । तीन निम्नानुसार छन् ।

सही मान्छे सही ठाउँमा

निजामती कर्मचारीलाई चुस्त राख्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो ‘राइट मेन इन राइट प्लेस’ । सही कर्मचारीलाई सही निकायमा राख्नुको साँटो राजनीतिक पहुँच र शक्तिको आधारमा धेरै काम हुने अड्डामा त्यो विषय नजानेका कर्मचारीहरु राख्ने गरिन्छ । त्यसले गर्दा कुन काम कसरी गर्न सकिन्छ ? भन्ने समेत उनीहरुलाई ज्ञान हुँदैन । त्यसपछि राय सुझाव जस्ता प्रक्रियागत व्यवस्थापनमा नै धेरै समय जाने गर्छ । त्यसैले विषय बुझेको व्यक्ति भएमा मात्रै त्यसले काममा छरितोपना आउने गर्छ ।

दण्ड र पुरस्कारको अभाव

सरकारले वर्षको एकपटक उत्कृष्ठ कर्मचारी अवार्ड दिने गरेको छ । तर, त्यसमा पनि पारदर्शिताको अभाव छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने परिपाटीको विकास भएको छैन । कर्मचारीहरुमा नराम्रो काम गर्दा सजाय पाउने र राम्रो काम गर्दा पुरस्कृत हुने परिपाटीको विकास नभएको कारण पनि कर्मचारीमा कम सक्रियता देखिएको हुनसक्छ । अहिले सरकारी कर्मचारीहरुले उत्तरदायित्व बहन गर्नुपर्ने देखिँदैन । कार्यालय प्रमुख र सरकारप्रति उत्तरदायी हुनु पर्दैन र कामको अनुगमनको पनि राम्रो व्यवस्था छैन । त्यसैले कर्मचारीहरुले सेवाग्राहीलाई समस्या गराएको या नगराएको भन्ने बारे यकीन गर्न सकिने अवस्था छैन ।

यति भन्दैमा निराश हुनुपर्ने अवस्था पनि छैन । प्रविधिको विस्तारसँगै हाम्रा कमजोरीहरु सुधारिँदै गएका छन् । अहिले हाम्रो कर्मचारी प्रशासन पुरानो छ तर नयाँ बनाउने प्रयास पनि चलिरहेको छ । हामी जे कामको लागि पनि प्रक्रियामुखी हुन्छौं । प्रक्रिया पूरा नहुँदा विभिन्न निकायबाट झमेला हुने भएकोले प्रक्रिया पूरा नभई कर्मचारीहरु केही पनि काम गर्ने जोखिम लिन मान्दैनन् । यसमा केवल कर्मचारीको मात्रै गल्ती नभई सिंगो पद्धतिकै समस्या हो यो ।

व्यवस्थित कर्मचारीको सरुवा प्रणाली

अर्काे समस्या भनेको कर्मचारीहरुको सरुवा प्रणाली हो । सरुवा प्रणाली अनुमान योग्य छैनन् । आफू यति समयपछि यो कार्यालयमा सरुवा हुन्छु भन्ने थाहा नभएपछि त्यो कर्मचारीहरुले थप सिर्जनशीलताका कामहरु गर्ने गर्दैन । यसले पनि उनीहरुलाई अल्छि बनाउने गर्छ ।

यसका बाहेक सरकारी कर्मचारीको तलब भत्ता पनि नेपालको दक्षिण एशियामा नै सबैभन्दा कम छ । जसका कारण कर्मचारीहरु मूल आम्दानीभन्दा पनि सहायक किसिमका आम्दानीको लागि बाँकी समय खर्च गर्छन् । त्यसले उनीहरुको सिर्जनशीलता कम भएको हुनसक्छ । इमानको सवाल नभएकाहरु भ्रष्टाचार गर्छन् भने इमान्दारहरु समेत बिहानबेलुका अरु काम गर्न जान्छन् । त्यसैले कर्मचारीको सिर्जनशीलता कम हुनुको अर्काे कारण कमजोर आर्थिक हैसियत पनि हो ।

एक पटक पढ्नुहोस