डढेलो जस्तो भित्र–भित्रै सल्कदैछ कोरोनाको संक्रमण ?

घटना १

खोटाङ्गका एक युवा ईटहरीमा एक्लै बस्थे । अर्थात उनी धेरै घुलमिल भएको वा जमघटमा गएका थिएनन् । स्वस्थ्यमा समस्या भएकाले मेडिकलमा औषधि खाए, एक्स रे पनि गरे । मेडिकलवालाले क्षयरोग होला भनी विपिकेआईएजएस धरान पठायो, जहाँ कोरोना भएको पुष्टि भयो । उनमा कोरोनाको संक्रमण कहाँबाट आयो थाहा भईसकेको छैन, हुने क्रममा छ ।

घटना २

भारतबाट आएका कारण गढि गाउपालिकाको क्वारेन्टाइनमा राखिएको एक युवकलाई कुनै समस्या नभई कोरोना परीक्षणका लागि ईनरुवा अस्पताल लगियो । समान्य हिसाबले उनको परीक्षण गरियो र सुरक्षित तरिकाले थ्रोट स्वाब निकालियो । निजमा कोरोना संक्रमण देखियो, अब निजलाई परिक्षण गर्ने डाक्टरको निद उड्यो । डाक्टर मात्र होइन डाक्टरका सम्पर्कमा आएका सबैमा त्रास बढ्यो ।

घटना ३

कपिलवस्तुमा कन्ट्याक्ट ट्रेसिङ्ग गरेर आएका चिकित्सकमा कोरोनाको संक्रमण भेटियो ।

डा. वालकृष्ण शाह

कसलाई, कसरी, कहाँ, कुन माध्यामबाट कोरोनाको संक्रमण भइरहेको छ भनेर भेउ पनि पाउन गाह्रो भइरहेको छ । अहिले एकपछि अर्को संक्रमितको दर बढ्दै जाँदा यसले निकै भयानक नतिजातर्फ संकेत गरिरहेको छ । यी घटनाहरुले मूलत तीन कुरा बताउँछ ।

१.  कोरोनाको संक्रमित यत्रतत्र छन् । हामीले परीक्षण नगरेकोले नदेखिएको मात्रै हो । परीक्षण गर्दै जाँदा धेरैलाई संक्रमण भएको हुन सक्छ ।

२.  थ्रोट स्वाब लिँदा सावधानी अपनाए पनि क्वारेन्टाइनका व्यक्तिहरुमा कोरोना हुन सक्छ र त्यसबाट जोगिन सुरक्षा सामग्री प्रयोग नगरेको र कोरानाको काममा पठाउँदा पनि स्वास्थ्यकर्मीहरुको सुरक्षा र सावधानीमा कमी ।

३.  शंकास्पद बिमारी कसरी पठाउने, बिमारीको स्क्रिनिङ कसरी गर्ने बारेमा उपयुक्त ज्ञानको कमी  ।

कोरोनाको संभावित संक्रमणबाट बच्न भन्दै हामीले लकडाउन ग¥यौं । यस क्रममा धेरैको रोजीरोटी गुम्यो । धेरै बेरोजगार भए । शहरमा बाँच्न नसक्ने भएपछि मजदुरहरु हिँड्दै गाउँ फर्किए । सर्वसाधरणले आफ्नो कामधन्दा छाडेर घरभित्रै बसे । सबैले आ आफ्नै हिसाबले कष्ट र अप्ठ्यारा झेलिरहेका छन् । तर, यत्तिका अवधि घरभित्रै बसेको वा लकडाउन गरेको के अर्थ छ ?

लकडाउनमा न सुरक्षा सामग्री भित्र्याउन सफल भयौ न त यस्ता संक्रमितको सम्भावना रहेकाहरुको स्क्रिनिङ र उपचारका लागि कुनै रणनीति नै तय गर्न सकियो । यसबीचमा फोहोरी राजनीतिक सर्कस जारी रह्यो । तर, जन स्वास्थ्यसँग जोडिएको र विश्व महामारीले छोप्दै गरेको अवस्थामा हामी त्यती सर्तक, सावधान र संवेदनशिल भएनौं, जति हुनुपर्ने थियो । हामीसँग भएका स्रोत र साधन एवं जनशक्तिको समुचित परिचालन गरेर कसरी यो महामारीबाट रक्षात्मक ठाउँमा उभिने भन्ने सोचिएन । यसले भोलिका दिनमा भयानक संकट पो झेल्नुपर्ने हो कि ? आशंका जन्माएको छ ।

अब के गर्न सकिन्छ ?

१. परिस्थिति असहज छ, हाम्रो श्रोत र साधन सीमित छ । एकातिर आवश्यक श्रोत जोगाउनु र जुटाउनुपर्नेछ, अर्कोतिर सुरक्षित ढंगले चुस्त सेवा दिनुपर्नेछ । यसका लागि विज्ञहरुसँग परामर्श गरेर यथासिघ्र रणनीति तय गर्नुपर्नेछ ।

२. स्क्रिनिङ र रिफरल पद्धतिमा व्यापक सुधार गर्नुपर्नेछ । यसमा एकरुपता हुनु पर्छ ।

३. उपचार केन्द्र बर्गिकरण गर्नुपर्छ । स्थान, क्षमता, सुबिधा र आवश्यक्ता अनुसार भएको उपचार केन्द्रहरु परिचालन गर्नु पर्छ । सबै अस्पताल एकै समयमा खुल्दा एकै पटक धेरै अस्पताल बन्द पनि हुन सक्छ । त्यसैले यसलाई आवश्यक छलफल र योजनाका साथ तयार गर्नुपर्ने हुन्छ ।

–यदि हामी सोच्छौं १५ दिनको वा १ महिनाको लकडाउन पछि कोरोना सकिन्छ भने हामी गलत छौ ।

–यदि हामी सोच्छौं क्वारेन्टाइनमा कोरोनालाई कैद गर्न सक्छौ भने हामी गलत छौ ।

– यदि हामीलाई लाग्दछ, हामी घर भित्र बस्न सक्यौं भने कोरोना भित्रिदैन यो पनि गलत साबित हुन सक्छ ।

–यदि हामीलाई लाग्छ हामी सुरक्षित छौ, यो पनि गलत हुन सक्छ ।

–सल्लाह गरौ, छलफल गरौ, निकास खोजौ । समझदारी अपनाउनु पर्नेछ, लकडाउनले मात्र समाधान हुँदैन ।

एक पटक पढ्नुहोस