१६ असोज, काठमाडौं । २९ अगष्टमा इन्डियन एक्सप्रेसमा प्रकाशित लेखमा भारतका चर्चित लेख सि. राजामोहनले भनेका छन्, ‘भारतले छिमेकमा आफ्नो प्रभाव गुमाउँदैछ भन्ने विचार दिल्लीका प्रभावशाली टिप्पणीकारहरुबीच विशेष चिन्ताको विषय बनेको छ । के यो चिन्ता वास्तवमा नै नयाँ हो ? दिल्लीको क्षेत्रीय कूटनीतिलाई अलि लामो दृष्टिकोणबाट हेर्दा दिल्लीले केही गुमाइ पनि रहेको र केही सफलता पाइरहेको पनि छ ।’
उनले सन् १९८० देखि भारतका हरेक सरकारले छिमेक नीतिलाई राम्रोसँग व्यवस्थापन गर्न नसकेको र कतिपय राजनीतिक दलले यसलाई चुनावी एजेण्डासमेत बनाएको दृष्टान्त दिएका छन् । साथै उनले छिमेकमा प्रभाव घट्दै जानुको मूल कारण र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा हुने गरेका बहसहरुको प्रसंग पनि उल्लेख गरेका छन् । उनले भारत स्वतन्त्र भएपछि छिमेकमा उसको प्रभाव कम हुँदै जानुका कारणहरु पनि केलाएका छन् ।

