After header

चाडपर्वमा यात्रुको सुरक्षामा काभ्रे प्रहरीको विशेष निगरानी

राजमार्गमा यात्रु सहायता कक्ष स्थापना, गस्ती र आकस्मिक चेकिङ तीव्र

काभ्रे । चाडपर्वको समयमा हुने यात्रुको बढ्दो चापसँगै हुनसक्ने दुर्घटना, ठगी, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्लाका प्रमुख राजमार्ग तथा यात्रुको बढी आवतजावत हुने क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गर्दै प्रहरीले सुरक्षा निगरानी र चेकजाँचलाई तीव्रता दिएको हो ।

चाडपर्वका बेला घर फर्किने तथा गन्तव्यतर्फ जाने यात्रुहरूलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउने उद्देश्यले जिल्लाका प्रमुख राजमार्गमा प्रहरी परिचालन गरिएको छ । यात्रुको गुनासो तथा समस्या तत्काल सम्बोधन गर्न सहायता कक्षमार्फत आवश्यक सहयोग र समन्वयको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ‘चाडपर्व कसैका लागि दशा नबनोस्’ भन्ने मूल मर्मका साथ राजमार्ग तथा संवेदनशील क्षेत्रमा नियमित सुरक्षा गस्ती बढाएको छ । सम्भावित आपराधिक गतिविधि, सवारी नियम उल्लङ्घन तथा यात्राका क्रममा देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभिन्न स्थानमा आकस्मिक चेकिङसमेत सञ्चालन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी रवीन कार्कीले चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रहरीको प्रयाससँगै आम नागरिक, यातायात व्यवसायी तथा सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताए । एसपी कार्कीले यात्राका क्रममा कुनै समस्या परेमा, असुरक्षित महसुस भएमा वा कुनै शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकैको यात्रु सहायता कक्ष वा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रहरीले चाडपर्वको अवधिभर यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गमा हुने गतिविधिमाथि निरन्तर निगरानी राख्ने जनाएको छ । विशेषगरी यात्रु चाप बढी हुने समय र स्थानमा प्रहरी परिचालन बढाउनुका साथै आवश्यकताअनुसार आकस्मिक चेकिङ र सुरक्षा गस्तीलाई थप प्रभावकारी बनाइने बताइएको छ । चाडपर्वको समयमा सुरक्षित यात्रा सुनिश्चित गर्न सवारी चालकले गति नियन्त्रण गर्ने, ट्राफिक नियम पालना गर्ने तथा यात्रुले पनि शङ्कास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउने प्रहरीले अनुरोध गरेको छ ।

एक पटक पढ्नुहोस