After header

शिक्षकलाई कोरोना, स्कुल बन्द

काठमाडौँ — ललितपुर महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेकै दिन ललितपुरकै गोदावरी नगरपालिकास्थित नवज्योति माविले कक्षा सञ्चालन स्थगित गरेको छ । विद्यालयका अनुसार दुई जना शिक्षक कोरोना संक्रमित भएपछि सतर्कताका लागि पठनपाठन बन्द गरिएको हो ।

शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय पुनःसञ्चालन गर्न सक्ने व्यवस्था गरेपछि देशभर शैक्षिक संस्था खोल्ने लहर चलेको छ । कोरोनाबाट शिक्षक, विद्यार्थी र अभिभावक संक्रमित हुँदा कतिपय स्थानीय तह र विद्यालयले कक्षा सञ्चालन स्थगित गरेका र पुनः सुरु पनि गरिरहेका छन् । संक्रमणको जोखिम कायमै रहेका बेला विद्यालय खोल्न हुने/नहुनेमा सरोकारवालाहरू नै विभाजित छन् । शिक्षकहरू भने अनलाइन कक्षा प्रभावकारी नभएकाले विद्यार्थीलाई कक्षाकोठामै ल्याएर पठनपाठन गराउनु बाध्यता भएको सुनाउँछन् ।

काठमाडौं उपत्यकाका अधिकांश स्थानीय तहमा विद्यालय पुनःसञ्चालन हुन थालेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सिद्धिमंगल माविले बिहानदेखि बेलुकासम्म अनलाइन कक्षा सञ्चालन गरे पनि ‘फेस टु फेस’ कक्षा चलाएको छ । सबै विद्यार्थी अनलाइनलगायत वैकल्पिक सिकाइको पहुँचमा नभएकाले आलोपालो बोलाएर कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक मीनबहादुर अछामीले जनाए । ‘विद्यार्थीलाई दिन बिराएर स्कुलमा बोलाउँछौं, स्वास्थ्य सतर्कताको मापदण्ड पालना गरेर कक्षा चलाइरहेका छौं,’ उनले भने । अनलाइन शिक्षण विधिमा सबैको पहुँच सहज नभएको पाइएको उनले बताए ।

शिक्षा मन्त्रालयले विद्यालय पुनःसञ्चालन कार्यविधिमा संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारको अवस्था कक्षा सञ्चालनको विभिन्न ७ मोडालिटी र विकल्प पनि सिफारिस गरिएको छ । कतिपय स्थानीय तहले आफूअनुकूल कक्षा सञ्चालनको मोडालिटी तय गरेका छन् ।

एक पटक पढ्नुहोस