काठमाडौं । दोस्रो संविधानसभामा नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य भएकी कौसर साह सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएकी छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालले शनिबार दिउँसो २ बजे साह नेकपा प्रवेश गर्न लागि जानकारी दिएको छ ।
प्रचण्डको सचिवालयका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा साहलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । यता काँग्रेसका मुस्लिम नेताहरुले संवैधानिक आयोगमा नियुक्तिको लोभमा साहको नेकपा प्रवेश गर्न लागेकी आरोप लगाएका छन्।
संवैधानिक परिषदको बैठकको पूर्वसन्ध्यामा साह नेकपा प्रवेश गर्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक निकायमा अध्यक्ष तथा सदस्यको नियुक्तिका सन्दर्भमा छलफल गर्न संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
को हुन् साह ?
नेपाल विद्यार्थी सङ्घ पद्यकन्या क्याम्पसबाट नेविसङ्घको आबद्ध भएकी कौसर साह, २०५८ सालबाट नेपाली काँग्रेसमा सक्रिय रुपमा लागेकी थिइन् । काठमाडौँ महानगरपालिकाको नेपाली काँग्रेसको नगर सदस्य, काठमाडौँ क्षेत्र नं ६ को कोषाध्यक्ष, मुस्लिम सङ्घको केन्द्रीय उपाध्यक्ष भएकी थिइन् । २०६२/०६३ आन्दोलनमा मा चार पटक हिरासद र रिले अनसन समेत बसेकी थिइन् ।
पछि उनी २०६४ मा काँग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली काँग्रेसको मुस्लिम कोटाबाट संविधानसभा सदस्य भएकी थिइन्। काठममाडौं निवासी साह काँग्रेसको १३ औं महाधिवेशनमा मुस्लिम कोटाबाट महाधिवेशन प्रतिनिधिसमेत रहेकी थिइन् ।
