After header

एमाले स्थायी समिति बैठक बस्दै, के होला २२ नेतामाथिको कारवाही ?

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा गत साता स्पष्टीकरण सोधिएका १२ नेतालाई कारवाही गर्ने या नगर्ने भन्ने विषयमा समेत छलफल हुनसक्ने बताइएको छ । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकिएको छ।

सुदूरपश्चिमबाट १० जनामाथि कारबाहीको सिफारिस

यस्तै पार्टी निर्णय उल्लंघन गी माओवादीको सरकारलाई समर्थन गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १० जना सांसदमाथि कारबाहीको सिफारिस अगाडि बढाएको छ । सोमबार मात्र ६ मन्त्रीसहित ७ जनालाई कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको छ ।

माओवादी नेतृत्वको सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ ।

त्यस्तै सचेतक दुर्गा विकलाई पनि कारवाहीको सिफारिस गरिएको छ । यसअघि एमाले संसदीय दलका नेता प्रकाश शाह, निवर्तमान मन्त्री कृष्ण सुवेदी र माया भट्टलाई पार्टी सदस्य नै नरहने गरी निष्कासनका लागि केन्द्रमा सिफारिस गरिएको छ । उनीहरुमाथि पनि कारबाही गर्ने नगर्नेबारे आज बस्ने बैठकले निर्णय लिने छ ।

विवाद मिलाउने अझै प्रयास जारी

यद्यपि एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरु गृहकार्यमा जुटिरहेकोले त्यसबारे आजको बैठकले कुनै निर्णय भइहाल्ने सम्भावना कम रहेको ओली पक्षबाट वार्तामा जुटेका नेताहरुको भनाई छ । एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले एमालेलाई एकतावद्ध बनाउने विषयमा दुवैपक्षका नेताहरु सम्वादकै क्रममा रहेको बताए ।

‘पार्टी एकतावद्ध बनाउनुपर्छ भन्ने आम कार्यकर्ताको भावना हो । त्यो भावना समेट्न हामी लागिरहेका छौ । त्यही सिलसिलामा सोमबार पनि हामी बस्यौ, अझै प्रयास जारी राख्छौ’, नेता नेम्वाङले रातोपाटीसँग भने, ‘र,आशावादी पनि छौ ।’

उनले आफुहरुबीचको वार्ता र विषयवस्तुबारे शीर्ष नेताहरुलाई पनि जानकारी गराइरहेको बताए । ‘दुवैतर्फका नेताहरुले शीर्ष नेतालाई छलफलबारे ब्रिफिङ भइरहेको छ’, नेम्वाङको भनाइ छ ।

अर्का नेता सुरेन्द्र पाण्डेले पनि पार्टी एकता बच्नेमा आशा अझै कायमै रहेको बताए । नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने माधव पक्षको अडान छ । सोही अनुसार सहमति खोज्ने प्रयासमा ओली पक्षका नेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले र नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट लगातार छलफलमा जुटेका हुन् ।

एक पटक पढ्नुहोस