सभामुख अग्निप्रसाद सापकोटाले आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्ने बताएका छन् ।
सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेकोले केही प्रतिगामी पक्षको लागि आगामी निर्वाचन ठूलो अग्नि परीक्षा हुने सापकोटाको भनाइ छ ।
सोमबार चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले निर्वाचनबाट सक्षम, इमान्दार, जीवन जगतलाई परिवर्तन गर्न सक्ने प्रतिनिधि छान्न सक्नुपर्ने बताए । जस्तोसुकै कठिनाइमा सामान गर्ने सामर्थे भएको प्रतिनिधि छान्न आग्रहसमेत गरे ।
यस्तै सभामुख सापकोटाले आजै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने तिप्लीङ खोलाको पुलसमेत उद्घाटन गरेका छन् । २ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो पुल आज उद्घाटन गरिएको हो ।
पुल निर्माण भएपछि जिल्ला सदरमुकाम चौताराबाट कुविण्डे हुँदै बलेफी जाने यात्रुलाई सहज हुनेछ भने कुविण्डेका किसानलाई घर र खेत ओहोरदोहोर गर्नसमेत सजिलो हुनेछ ।
