After header

स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल हुन्छ : महामन्त्री शर्मा

काभ्रे — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा पार्टीले स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल गर्ने बताएका छन् । कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले तालमेल बाध्यकारी नभएको भन्दै स्थानीय आवश्यकता‚ स्थिति र भावनाका आधारमा तालमेल गर्ने बताएका हुन् ।

‘केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा तालमेल गर्न सकिने भनेको हो; यो बाध्यकारी छैन,’ उनले भने, ‘स्थानीय आवश्यकता, स्थिति र भावनाका आधारमा सम्बन्धित तहले निर्णय गर्न सक्नुहुन्छ ।’ गठबन्धन हुँदा साझा घोषणापत्र लगायत तयार हुनुपर्ने भन्दै उनले कांग्रेसलाई बहुसंख्यक स्थानमा जिताउने गरी तालमेल गर्न लागिएको दाबी गरे ।

भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्नुपर्ने तर्क आइरहेको भन्दै उनले कांग्रेस केन्द्रीय संसदीय बोर्डले यसबारे निर्णय लिने बताए । ‘अघिल्लो पटक माओवादी केन्द्रलाई सघाएको कारण यसपटक कांग्रेसलाई सघाउनुपर्छ भन्ने तर्क पनि छ; यसबारे साझा धारणा बनाएर माओवादी समेतलाई विश्वासमा लिएर अघि बढ्छौं‚’ उनले भने ।

अघिल्लो स्थानीय तहमा पराजित भएका १ सय ५५ स्थानीय तहमा १० प्रतिशत र ८४ स्थानीय तहमा ५ प्रतिशत मत बढाउँदा कांग्रेस विजयी हुन सक्ने तथ्यांक रहेको भन्दै उनले एमाले प्रचार गरिएको जस्तो ‘बलियो’ नभएको तर्क गरे ।

कांग्रेस जिल्ला सभापति तीर्थ लामाले जिल्लाका सबै स्थानीय तहमा विजय हुने गरी कांग्रेस संगठन विस्तार लगायत अभियानमा लागेको बताए ।

 

एक पटक पढ्नुहोस