After header

काठमाडौँ महानगरबाट १ करोड ८० लाख मूल्य बराबरका १५ वटा शववाहन हस्तान्तरण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ वटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एकसाथ हस्तान्तरण गरेको छ।

काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार ती शववाहनको साँचो हस्तान्तरण गरेका हुन्। साँचो हस्तान्तरणपछि सम्बोधन गर्दै प्रमुख शाक्यले यसअघि पनि सामुदायिक, सरकारी र निजी अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराए।

‘काठमाडौँ महानगरपालिका आफैँले शववाहन सञ्चालन गर्नुपर्छ भन्नेहरू पनि छन् तर काठमाडौँ महानगरलाई नाम भन्दा काम चाहिएको छ,’ प्रमुख शाक्यले भने, ‘हामीले सहकार्यको हात बढाउँदै आज शववाहन हस्तान्तरण गर्दै हाम्रो दायित्व पूरा गरेका छौँ। अब तपाईंहरूले महानगर र उपत्यकावासीको अपेक्षाअनुसार यी शववाहनको प्रयोग गर्नुहोला।’

काठमाडौँ महानगरपालिकाले बिहीबार एकै पटक क्षेत्रपाटी निःशुल्क चिकित्सालय, नेपाल एपीएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्यविनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शववाहन हस्तान्तरण गरेको हो।

महानगरपालिकाले दिएको जानकारीअनुसार ती प्रत्येक शववाहनको मूल्य करिब १२ लाख ४ हजार परेको छ। सम्झौताअनुसार ती शववाहनले उपत्यकाभित्र निःशुल्क सेवा प्रवाह गर्नुपर्ने छ। काठमाडौँ महानगरपालिकाले १५ शववाहनमध्ये नेपाल एपीएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई–दुई वटा हस्तान्तरण गरेको हो।

प्रमुख शाक्यले हस्तान्तरण गरेको शववाहनको साँचो ग्रहण गर्दै एपीएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले महानगरपालिकाले दिएका शववाहनको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

एक पटक पढ्नुहोस