After header

काभ्रे काग्रेस किन सुस्तायो ?

बनेपा/

स्थानीय निर्वाचनको लागि अब एघारौं दिन पछि उम्मेद्वारी मनोनयन दर्ता छ । एक महिना अघि देखि घर–घर जाऔं काग्रेस जिताऔं अभियान सञ्चालन सञ्चालन गरेको काग्रेस आन्तरीक विवादका साथै तालमेलको कुराले सुस्ताएको छ । चुनावको मिति जति नजिकियो पार्टी भित्र त्यति नै असन्तुष्टि बढ्न थालेको छ । काग्रेसले यो पटक कम्युनिष्टलाई माथ खुवाउने गरि प्रत्येक वडाको टोलटोल सम्म संगठन विस्तार र परिचालन गरेको थियो । काभ्रे काग्रेस संगठन विस्तार र परिचालनमा जति आक्रमक ढंगले अघि बढेको छ उमेद्वार छनौट प्रक्रिया शुरु भए संगै आन्तरीक विवाद त्यतिनै चुलिदै गएको छ ।

flag congress

स्थानीय निर्वाचन नजिकिए संगै प्रमुख सत्ताधारी दल नेपाली काग्रेस भित्र उमेद्वार को हुने भन्ने बारेमा चर्चा शुरु हुन थालेको छ । १३ पालिका रहेको काभ्रेमा अघिल्लो निर्वाचन काग्रेसले चार पालिकामा मात्र नेतृत्व लिन सफल भएको थियो । काभ्रेमा दुई पालिकामा माओबादीको नेतृत्व छ भने सात पालिकामा एमालेले जितेको थियो । आफुले जितेको सात पालिका मध्य एक पालिकाका प्रमुख माधवकुमार नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीमा गएका छन् । बीस हजार भन्दा बढी क्रियाशिल सदस्य रहेको काभ्रेमा अधिवेशन लगत्तै निर्वाचन केन्द्रित रणनीति र गतिविधिका साथ काग्रेस वडा तहमा केन्द्रित भएको थियो । जिल्लामा चुनाव लक्षित गतिविधि तिव्रताका साथ अघि बढाइरहेको दावी गरेको काभ्रे काग्रेसमा अहिले कुन पालीकामा को उमेद्वार होलान भन्ने आम चासो छ ।
पालिका प्रमुखको रुपमा चर्चामा रहेका तीन दर्जन भन्दा बढी नेताहरुमा महिलाको चर्चा भेटिएन । गत निर्वाचनमा पनि महिलालाई उपप्रमुखमा मात्र उठाएको काग्रेसले यो पटक पनि महिलालाई प्रमुख पदमा उमेद्वार बनाउने सम्भावना भने न्युन देखिएको छ । जिल्लाको व्यापारिक केन्द्र समेत रहेको बनेपा नगरपालिकामा प्रमुखको रुपमा सुरकृष्ण वैद्य, महेश कर्माचार्य, शान्तिरत्न शाक्य, राम जोशी लगाएतको नेताहरुको चर्चा रहेको छ । जोशी अघिल्लो निर्वाचनमा पनि प्रत्यासी थिए । अघिल्लो निर्वाचनमा एमाले संग १ हजार ७ सय ५० कमले पराजित भएको जोशीको यो पटक पनि चर्चामा रहेपनि वैद्य र शाक्य आफ्नो नाममा टिकट ल्याउन लागिपरेका छन् ।
धुलिखेल नगरपालिकामा रमेश प्रसाद हुमागाईं, जितकृष्ण घिनाञ्जु र विदुर बस्नेतको नाम चर्चामा आइरहेको छ । अघिल्लो निर्वाचनको मतपरिणाम अनुसार दुईहजार मत कम रहेको काग्रेसले यो पटक वडा नं ८ का एमालेबाट निर्वाचित वडा अध्यक्ष निराजन जंगमलाई काग्रेस प्रवेश गराएको छ भने एमालेको प्रदेश समिति सदस्य समेत रहेका रामकृष्ण हुमागाई लगाएत माथिल्लो तहका नेताहरुलाई पार्टी प्रवेश गराएको छ । धुलिखेमा गत निर्वाचनका प्रत्यासी हुमागाई दुई पटक क्षेत्रीय सभापति भैसकेका व्यक्ति हुन भने हाल जिल्ला उपसभापति छन् । धुलिखेललाई केन्द्र बनाएर लामो समय देखि कानुन व्यवसाय गर्दै आएका हुमागाईले यस पटक पनि टिकट ल्याउने सम्भावना छ ।
काभ्र्रेको एतिहासिक नगर पनौति नगरपालिकामा काग्रेसबाट नगरसभापति रामशरण भण्डारी, प्रदिप बोगटी र भोला थापाको नाम चर्चामा रहेको छ । गत निर्वाचनको मत परिणाम अनुसार तीनहजार भन्दा बढी मत अन्तरले पराजित काग्रेसले यो पटक तीन महिना अघि देखि नै निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको नगर सभापति भण्डारीले वताएका छन् । यस पटक काग्रेसबाट तिन जना मेयरको दावी रहेकाले पनौतीमामा कस्ले टिकट ल्याउछ त्यो भने भन्न सकिने अवस्था नरहेको देखिन्छ ।
यसअघि काग्रेसले चुनाव जितेको पाचखाल नगरपालिकामा पनि काग्रेसका आकाक्षि थुप्रै देखिएका छन् । पाचखालमा प्रमुखको लागि नगरसभापति सञ्जय लामाको चर्चा चुलिरहेको बेला नगरप्रमुख महेश खरेलले पनि पुन उमेद्वारी दिने चर्चा चलिरहेको छ । अघिल्लो निर्वाचनमा ५ सय ५६ मत अन्तरले विजयी भएको काग्रेसले एमाले भित्रको अन्र्तघातको फाइदा उठाएको थियो । काभ्रेको नमोवुद्ध नगरपालिकामा भने फेरी कुन्साङ लामाले नै टिकट ल्याउने सम्भावना देखिन्छ । नगरसभापति लामाको विकल्प नभएको भन्दै नमोवुद्धमा प्रमुखको दाबेदारको रुपमा अन्य आकाक्षीको नाम खासै चर्चामा रहेको पाइदैन ।
काभ्रेको मण्डन देउपुर नगरपालिकामा काग्रेसका अच्युत पौडेल, माधव ढकाल, रामहरी सापकोटा र कस्यप पौडेलको नाम चर्चामा आएको छ । एमालेबाट निर्वाचित मण्डनदेउपुरका प्रमुख टोकवहादुर वाइवा माधवनेपालले नेतृत्व गरेको एकिकृत समाजवादीमा गए संगै एमाले कमजोर भएको काग्रेसको आकलन छ । यो नगरपालिकामा चर्चा धेरैको भएपनि माधव ढकाल र कस्यप पौडेल मध्य एकले टिकट ल्याउन काग्रेस भित्र चर्चा छ । अघिल्लो निर्वाचनमा करिब १ हजार तीन सय मत अनतरले काग्रेस पराजित भएको थियो ।
जिल्लाको भुम्लु गाउपालिकामा काग्रेसबाट तस्वीर लामा र दावा लामाको चर्चा रहेको छ । भुम्लुमा यस अघि काग्रेस करिब ६ सय मत अन्तरले पराजित भएको थियो । यता माओबादीले जितेको चौरी देउराली गाउपालिका प्रमुखमा काग्रेसबाट विक्रमराज गौतम, शेरवहादुर तामाङ, आश्विन चौलागाई लगाएतको चर्चा छ । अघिल्लो निर्वाचनमा नौसय मत अन्तरले पराजित भएको काग्रेसले यो गाउपालिकामा गौतम र तामाङ मध्य एकले टिकट पाउने बताइन्छ ।
यता काग्रेस जितेको बेथानचोक गाउपालिकामा यस पटक भगवान अधिकारी र प्रेम वहादुर तिमल्सिनाकै नाम बढी चर्चामा रहेको छ । यस अघि काग्रेसले नै जितेको तेमाल गाउपालिकामा वर्तमान प्रमुख सलामसिंह लामा, गुमान सिंह लामा, जोगलाल लामा लगाएतको नाम चर्चामा छ । यी मध्य गुमान सिंह प्रदेशसभा सदस्य र जिल्ला सभापति तिर्थ लामा निकट भएकोले उहाले टिकल ल्याउने दाबी काग्रेस कार्यकर्ताहरुको रहेको छ ।

यस अघि काग्रेसले जितेको चार पालिका मध्य रोशी गाउपालिकामा संस्थापन पक्षका गुणराज मोत्तानको नाम चर्चामा छ । यो गाउपालिकामा वर्तमान प्रमुख दल वहादुर लामा तथा क्षेत्रीय सभापति दिनेश लामाको नाम चर्चामा रहेपनि मोक्तानले नै टिकट ल्याउन दाबी गरिएको छ । रोशी गाउपालिकामा अघिल्लो निर्वाचनमा काग्रेस ४ हजार ३ सय ७२ मत आएको थियो भने प्रतिपक्षको २ हजार ९ सय ५७ मत आएको थियो । अघिल्लो निर्वाचनमा थोरै मतले माओबादी संग पराजित भएको महाभारत गाउपालिकामा युवा माझ लोकप्रिय सागर लामाको नाम चर्चामा छ । यो पालिकामा रकम सिंह घलान पनि सक्रिय छन । चर्चामा रहेका दुवै संस्थापन पक्षको नभएको बताइन्छ ।
एमालेले जितेको खानीखोला गाउपालिका प्रमुखमा पालिका सभापति दोर्जेमान जिम्बाको नाम चर्चामा आइरहेको छ । यो गाउपालिकामा हस्तवहादुर ध्यावा र रेशम वल पनि प्रमुखका दाबेदार छन् । काग्रेस जिल्ला नेताहरुका अनुसार खानीखोला गाउपालिका प्रमुखमा काग्रेसबाट रेशम र दोर्जेमान मध्य एकले टिकट ल्याउने देखिएको छ ।

एक पटक पढ्नुहोस