After header

नर्वेली उपमन्त्री र जनकल्याण माविका विद्यार्थीहरु बिच अन्तर्क्रिया

भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ स्थित जनकाल्याण माविमा नर्वेली उपमन्त्री र विद्यार्थीहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिका २ स्थित जनकल्याण माविका विद्यार्थीसँग अन्तरक्रिया पनि गरेकी छन् ।

उक्त विद्यालयको भ्रमण गर्दै उनले विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै कोभिड १९ को महामारीले पारेको प्रभावका बारेमा जिज्ञासा राखेकी थिइन् । उनले कोरोना महामारीको समयमा विद्यार्थीसँग कसरी पढ्नुभयो ? त्यसक्रममा कस्ता समस्या आए ? लगायतका प्रश्न गरेकी थिइन् । सो क्रममा विद्यार्थीहरुले अनलाइनमार्फत निरन्तर पढाई भएको बताउँदै इन्टरनेट र मोबाइलको समस्याका कारण कतिपय समयमा पढाईमा बाधा पुगेको पनि बताए ।

नर्वेली उपमन्त्री सान्कयोर, नेपालका लागि नर्वेली राजदूत तोरुन ड्राम्दाल लगायत नर्वेजियन राजदूतावासका उच्च अधिकारीहरुले जनकल्याण माविमा सञ्चालित दिवा खाजा कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रमअन्तरगत विद्यालयमा सञ्चालन गरिएको क्लिनिक तथा विद्यालयका कक्षाकोठाको अबलोकन गरेका थिए ।

उपमन्त्री सान्कयोरले नर्वेमा समेत विद्यालयमा यस्तो किसिमको क्लिनिक नभएको भन्दै विद्यालयमा सञ्चालित स्वास्थ्य सेवाको प्रशंसा गरिन् । यस्तै विद्यार्थीहरुका लागि सञ्चालित दिवा खाजा कार्यक्रम पनि प्रभावकारी र राम्रो रहेको बताउँदै उनले विद्यालय व्यवस्थापन समिति, नगरपालिका र स्थानीय समुदायबीचको साझेदारी र समन्वय प्रशंसनीय रहेको बताइन् ।

उनले जनकल्याण माविका विद्यार्थीहरु एकदमै अनुशासित रहेको भन्दै खुशी समेत व्यक्त गरेकी थिइन् ।नर्वेली उपमन्त्रीको टोलीले विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरुसँग पनि छलफल गरेको थियो ।

विद्यालयकी प्रधानाध्यापक लक्ष्मी अधिकारीले कोभिड १९ को महामारीको क्रममा अनलाइन मार्फत घरमै विद्यार्थीलाई पढाउनुपर्दा केही हदसम्म शैक्षिक गुणस्तरमा प्रभाव पारे पनि अहिले महामारी रोकिएसँगै गुणस्तरीय शिक्षा कायम गर्न, विद्यालयलाई शैक्षिक गुणस्तरमा नमुना विद्यालयको रुपमा विकास गर्न निरन्तर लागिरहेको जानकारी दिइन् ।

एक पटक पढ्नुहोस