After header

अवैध संरचना हटाउने तयारी गर्दै हेटौँडा उपमहानगरपालिका

रुपक कालिराज,

मकवानपुर /अवैधानिक रुपमा निर्माण भएका भवनहरुलाई हेटौँडा उपमहानगर पालिकाले हटाउने तयारी थालेको छ । सडक मिचेर, बिना नक्सा बनाईएका संरचनालाई नगरपालिकाले भत्काउने तयारी थालेको हो ।

सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण हेटौँडा बजार क्षेत्रमा पार्किङ समस्या बढेको, बाटो हिड्ने पैदलयात्रुहरुलाई समस्या परेको गुनासो आएपछि नगरपालिकाले हटाउने तयारी थालेको हेटौँडा उपमहानगरपालिकाका मेयर मिना लामाले बताउनु भयो । नगरपालिकाले केहि दिनमानै ३५ दिनको सूचना प्रकाशन गरेर त्यस्ता संरचनालाई आफै हटाउन निर्देशन दिने तयारी थालेको मेयर लामाले बताउनुभयो ।

उता काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नक्सा पास नगरि निर्माण गरिएका र पार्किङका लागि पास भएका स्थानमा पसल व्यवसायलाई भत्काउने कार्यलाई तिव्रता दिएसँगै हेटौँडाकी मेयर लामाले पनि यस कार्यलाई निरन्तरता दिन लागेको हो ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडामा लामो समयदेखी सडक विस्तारको विवाद रहदैं आएको भएता पनि अब छिटै नै सडक विस्तारले गति लिने बुझिएको छ ।

मेयर लामाले भन्नुभयो,‘अब छिटै नै ३५ दिने सुचना प्रकाशन गछौँ,नहटाइएको पाइएमा नगरले मेशिन प्रयोग गरि हटाउँछौँ ।’ पार्किङको लागि पास गरि घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा कानुनी कारवाही गरिनुका साथै पसललाई हटाउने समेत बताउनु भयो ।

यस्तै अब २५ मिटर सडक चौडा बनाउन अदालतसँग पनि समन्वय गरिसकेको मेयर लामाले बताउनु भयो । हेटौँडामा २०२१ सालमा नै सडकको दायाँ–बायाँ गरी २५ मिटर सडक खाली गर्ने व्यवस्था गरिएको थियो । तर, कार्यान्वयन ५८ वर्ष हुँदा समेत भएको छैन् । पटक—पटक प्रयास गर्दा पनि स्थानीयले मुआब्जा नपाएसम्म घर तथा संरचना भत्काउन नदिने बताइरहेका छन् । स्थानीय नेतादेखि ब्यापारी अजय सुमार्र्गीसम्मका घरहरु सडक क्षेत्र मिचेर बनाइएको छ ।

एक पटक पढ्नुहोस