काठमाडौं/ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपयाँ लुटपाट गरेको आरोपमा तीन जना युवाहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका–३ घर भई हाल काठमाडौंको कपन बस्ने ३० वर्षीय देव लामा र रामेछापको सुनपाती गाउँपालिका–१ घर भई कपन बस्दै आएका २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन् ।
भदौ २२ गते ११ः १० बजेको समयमा ठमेलमा सञ्चालित ओरियण्टल मनी एक्सचेन्ट बन्द गरी कोठा जाने क्रममा मोटरसाइकलमा आएका ५ जना अपरिचितले जबरजस्ती मोटरसाइकलमा राखेर म्हैपी, सोह्रखुट्टे, खुसीबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पु¥याइ साथमा भएको ३० लाख २३ हजार २०८ रुपैयाँ लुटेर लगेको पीडितले उजुरी दिएको प्रहरीको भनाई रहेको छ ।
पक्राउ परेका उनीहरुलाई अपहरण तथा डाँका चोरी कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको र घटनामा संलग्न थप दुई जनाको खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
