नमोबुद्ध । काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ११ भालुखर्कका स्थानीयले धेरैपटक एमालेलाई भोट हालेको तर बिकास निर्माणमा भालुखर्कलाई उपेक्षा गरेको बताएका छन् । धेरै पटक एमालेका उम्मेदवारलाई भोट हालेर जिताएको तर बिकास नगरेकाले यसपाली लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्ने बताएका हुन् । 
यो स्थान काभ्रे क्षेत्र नं. १ ख मा पर्छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका चन्द्र लामाले जितेका थिए । यसपाली पनि उही व्यक्ति चन्द्र लामाले दोहर्याउने दाउँमा उम्मेदवार बनेका छन् । तर यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका काभ्रे सभापति तथा संविधान सभासदस्य तिर्थ लामा उम्मेदवार बनेका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्यमान दोङ (लालध्वज) र प्रदेश सभासदस्यका उम्मेदवार तिर्थ लामाले भालुखर्क हुदै मतदाता भेटघाट कार्यक्रममा जानेक्रममा त्यहाँका स्थानीयले यस्तो बताएका हुन् । नमोबुद्ध नगरपालिकाभरीकै दुर्गम स्थानको रुपमा रहेको भालुखर्कबासी नगरबासी भएपनि नगरपालिकाको आभास नभएको उनीहरूको भनाई छ । ‘यस क्षेत्रबाट पटक पटक एमालेलाई भोट हालेर जिताएर पठायौँ तर जितेपछि फर्केर आएन ।’ नाम नबताउने सर्तमा उक्त व्यक्तिले भने, ‘अब एक पटक हामी कांग्रेस र माओवादीलाई भोट दिएर हेछौँ । हाम्रा लागि बिकास गर्छ की भन्ने आशा राख्छौँ ।’
सोमबार लोकतान्त्रिक वाम गठबन्धनको उम्मेदवारहरूले नमोबुद्ध नगरपालिका ११ मा मतदाता भेटघाट कार्यक्रम कुरु गाउँ आएर कोण सभा गरी सम्पन्न गरेको छ । उक्त कोण सभामा बोल्दै काभ्रे क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्यमान दोङ(लालध्वज)ले यस भेगको आवश्यकता अनुसार बिकास गर्ने बताए । भेटघाट कार्यक्रममा आफुहरूसँग विभिन्न क्षेत्रको व्यक्तिहरू पनि भएकाले यस क्षेत्रको सर्भेको रुपमा आएको अनुभव भएको बताए । आफूहरू विजयी भएमा यहाँका स्थानीयहरूसहित विज्ञ व्यक्तिहरूसहितको छलफल गरेर आवश्यकता अनुसार विकास गर्ने लालध्वजको भनाई छ ।
सोही कार्यक्रमा काभ्रे क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार तिर्थ लामाले सदरमुकाम नजिकै भएपनि बिकासले छलेको ठाउँ पाएकाले यस क्षेत्रको बिकासको लागि आफु कम्मर कसेर लाग्ने बताए । ‘जिल्लाको सदरमुकाम नजिकै पनि यस्तो बिकट छ भन्ने मैले सोचेको थिएन तर यस्तो नजिकै भएपनि यस्तो ठाउँ रहेछ ।’ प्रदेश सभासदस्यका उम्मेदवार तिर्थ लामाले भने, ‘यस भेगको बिकासको लागि पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नेछौँ ।
आगामी निर्वाचनमा विजयी भएमा पहिलो कामको रुपमा भालुखर्क कुरुगाउँ सडकको स्तरोन्नतीको काम गर्ने उनले बताए । त्यसपछि यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको काम क्रमश गर्ने उनले बताए । ‘म निर्वाचित भएपछि पहिलो कामको रुपमा भालुखर्क-कुरुगाउँ सडकको सके पिज गर्ने हैन भने स्तरोन्नती गर्नेछु ।’ नमोबुद्धको कसम खादै उनले भने, ‘त्यसपछि यस क्षेत्रको बिकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन बिकास लगायतको काम क्रमश गर्दै जानेछु ।’
