काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा आज अहिले बिहीबार अपरान्ह साढे ४ बजे बोलाईएको छ । केन्द्रीय सदस्य दीपक बोहराका अनुसार अहिले साढे ४ बजे पार्टी केन्द्रिय कार्यालयमा बैठक बोलाईएको उनले जानकारी दिए । अहिलेको अवस्थामा सरकारमा जाने की नजाने र सरकार गठन हुदाँको सझौताका विषयमा छलफल गर्ने बोहराले जानकारी दिए ।
उक्त बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् । नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएका छन् ।
सभापति लामिछानेले आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहेका छन् । तर प्रधानमन्त्रीले नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवाद पनि रहेकाले गृह मन्त्रालय दिन नसक्ने सन्देश रविलाई दिएका छन् ।
तर रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूहरुलाई दिनुपर्ने अडान राखेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत रास्वपाले दिएको छ ।
