काभ्रे ।
शनिबारको दिन असार महिनाले टेकेसँगै चर्काे घाममा एकाएक पनौति ५ स्थित खड्पुमा सयौँ यूवाहरु भेला भए । पुल नजिकैको बैङक्विटमा एकैपटक जिल्ला प्रहरी कार्यालय काभ्रेको भ्यान पनि आइपुग्छ । भ्यानबाट प्रहरी उपरिक्षक भागेन्द्रपुरुष ढकाल पनि निस्कन्छन् । प्रहरी देखिएपछि मानिसहरु सिधै हलमा प्रवेश गर्छन । मानिसहरुको एउटा ठूलो हुलमा भोजखानेझैँ गरी गोलमेच बनाएर बसेका थिए । यो दृश्य झलक्क हेर्दा कतै बिहेको पार्टी पो थियो की वा कुनै ठुलो दुर्घटनामा लागेको भीड झैँ भान हुन्छ ।
प्रसंग थियो जिल्ला युवा समिति काभ्रेले आयोजना गरेको लागुपदार्थ दुव्र्यसन तथा साइबर क्राइमबारे सचेतनात्मक कार्यक्रमको थियो । युवाहरु माझ एकाएक कार्यक्रम सुरु हुन्छ हल पुरै एकाग्रमा चकमन्न हुन्छ त्यही चकमन्न खचाखच हलभित्र आफूले विगतमा भोगेका कथा सुनाउँदै थिए नमोबुद्ध नगरपालिका वडा नम्बर २ का कविराज श्रेष्ठले । 
उनी भन्दै थिए कुनै समय आफू लागुपदार्थ दुव्र्यसनमा फसेको कुख्यात मान्छेको रुपमा समाजले चित्रण गर्थे । उनलाई धेरै मान्छेहरु र पटक पटक प्रहरीले समेत सम्झाएका थिए । तर उनलाई लागेको लत उनले त्यतिबेला छुटाउनै सकेनन् जतिबेला उनी लागुपदार्थ सेवन नगरी बाँच्ने कल्पना समेत गर्न सक्दैनथे । त्यो उनको जीवनको महत्वपूर्ण यूवा अवस्था थियो । उनी सम्झन्छन् र कार्यक्रमलाई सम्बोधन गर्दै भन्छन् ।– कोही पनि व्यक्ति स्वंम पर्फेक्ट छैनन । यो संसारमा धेरै कुरा सिक्दै र रमाइलोमा हुन्छ तर सबै सिकेका कुराले सकरात्मक प्रभाव पार्छ भन्ने नहुँदो रहेछ । हामी धेरै तिर बहकिन्छौँ कहिले कसैको लहैलहैमा त कहिले रमाइलो र आफूलाई परेको पीडा र खुशीमा रम्ने बाहानाको लागि हामीले आफैँलाई भुल्ने गर्दछौँ । हो मैले पनि त्यतिबेला आफैँलाई भुले परिवार र समाजलाई पनि भुले र साथी भाइदेखि सबै केबल नशामा मात्रै केन्द्रित रह्यो ।
उनी आफ्नो विगत कहाली लाग्दो र अहिले मोडिएर नगरपालिकाको र समाजकै एक अगुवा नेतृत्व गर्दै गरेका पदमा छु भन्दा निकै भावुक हुन्छन् । उनी यहाँ ०७९ को स्थानिय निर्वाचनमा नमोबुद्ध नगरपालिका २ नम्बर वडाका वडाध्यक्षमा निर्वाचित भए । आफू कसरी आइपुगेँ ? भन्ने सवालमा उनी भन्छन् – म होसमा हुँदा र बेहोसमा हुँदा पनि समाजको हित बाटो कुल कुलेसो धारा पानी र शिक्षा मेरो दिमागमा आइरहन्थ्यो । त्यही क्रममा मैले एक ८० बर्षिय बृद्ध बाको प्रवचन र व्यवहारबाट प्रभावित भएँ र प्रण गरेँ कि अब म कहिल्यै पनि लागुपदार्थ सेवन गर्दिन र म त्यो कहाली लाग्दो नर्कबाट फर्कन्छु भन्ने । हो उनले चाहे जसरी नै उनी आफू भित्रैबाट आत्मबल बडाएर मोडिएर निरन्तर सकरात्मक कुरा र बिषयहरुमा केन्द्रित मात्रै भैरहे उनी कहिल्यै फुर्सदमा हुँदैनन् अचेलभर उनले एउटा घोषण पनि गरेको कार्यक्रममा सुनाए उनले जनप्रतिनिधी भएर पाउने भत्ताको सेवा सुविधा सबै लागुपदार्थ दुव्र्यसन र एडिकमा फसेकाहरुको उद्धार गर्ने कार्यमा खर्च गर्ने । उनले जिल्लाभर हुने यस्ता हरेक प्राय सचेतनात्मक कार्यक्रममा यूवाहरुलाई आफ्नो कथा सुनाउँछन् । उनको प्रेरणाको कथा वाचनभर हल पूरै स्तब्धको शैलीमा उनलाई सुन्छ । कार्यक्रममा युवा समितिका अध्यक्ष प्रकाश थापाले स्वागत मन्तव्य र समापन गरेका थिए । कार्यक्रममा बिषयबस्तुमाथी प्रशिक्षकहरु प्रहरी उपरिक्षक भागेन्द्रपूरुष ढकाल, पत्रकार केशवराज पौडेलले प्रशिक्षण गरेका थिए । प्रशिक्षणको क्रममा प्रहरी उपरिक्षक ढकालले उदाहरण दिंदै भने, कुलतमा फसेको मेरो एकजना साथी जेलजीवन बिताइरहेको छ । तर म आफ्नो लक्ष्यप्रति केन्द्रित रहेकोले आज प्रहरी भएर देशको सेवा गरिरहेको छु । कलिलो उमेरमा बाटो बिराउने सम्भावना बढी हुने भएकोले सचेत हुनु आवश्यक छ ।” 
त्यसैगरी, पत्रकार केशवराज पौडेलले सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे प्रशिक्षण दिंदै भने, “मनोरञ्जनको नाममा सामाजिक सञ्जाल तथा इन्टरनेटमा उपलब्ध खेल आदिमा समयको दुरुपयोग गर्नुभन्दा बालबालिकाहरूले अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्छ ।” त्यसको लागि अभिभावकहरु सचेत हुनुपर्ने र बेलैमा सचेत नभए यसले अन्तिममा आत्महत्या र समाजविरोधी र कानुनले बर्जित गरेको गतिविधितिर लाग्ने सम्भावना भएको समेत प्रक्ष्ट्याएका थिए । त्यस प्रस्तुती माथी नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष महेश पौडेलले टिप्पणी गरेका थिए ।
कार्यक्रममा केही स्कुलका विद्यार्थीहरूलाई साइबर सेक्युरिटी र अपराधबारे समेत प्रशिक्षण दिइएको थियो । कार्यक्रम पछि आफ्नो बडाले सहकार्य गरेको र कार्यक्रमको प्रभावबारे पनौती नगरपालिका ५ का अध्यक्ष बिनोद खत्रीले यस खाले कार्यक्रमले समाजमा लागुपदार्थ दुव्र्यसन र साइबर अपराध लाई कम गर्ने बताएका छन् ।
