After header

दुई वर्षको प्रेम सम्बन्धले तोड्यो जातपात !

अब पनि यहाँ को के जातजाती?

शुकदेव थपलिया, काभ्रे ।

शनिवार दिउँसो १ बजे काभ्रेको धुलिखेल ९, देविस्थानमा हरिजवंश आचार्यले लेखेको गीत ‘ए कान्छा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का’ बोलको गीतमा जन्तीको एकटोली दुलहासहित ब्यान्ड–बाजा बजाउँदै दुलहीको घरतर्फ उक्लिँदै थिए । गाउँका सबैजसो विवाह हर्न लामबद्ध थिए । पारीबाट गाउँ राताम्य देखिन्थ्यो । अनुमान गर्न सकिन्थ्यो विवाह धुमधाम चल्दैछ । मंसिर महिना विवाहको लगन महिना मानिन्छ ।

बुवा श्याम बहादुर विसंखे, आमा जमुना बिसंखेकी कान्छी छोरी लक्ष्मी बिसंखेका तीन दाजुभाइ सरोज बिसंखे, जयराम बिसंखे र राजाराम विसंखेले शनिवार परिवारको कान्छी बहिनीलाई धुमधामका साथ अन्माए ।

परम्परागत रुपमा लक्ष्मीलाई माग्न दुलहापक्ष घरमै आएका थिए । दुलहा वैदेशिक रोजगारीमा पोर्चुगलमा रहँदा सामाजिक सञ्जाल मार्फत लक्ष्मीसँग भेट भएको थियो । दुई वर्षे प्रेमले अन्ततः पूर्णता पाएको हो । दुई अन्तरजातिय बिच विवाह सम्पन्न भएको हो । नेपाल उत्पीडित मुक्ति समाजको केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेशको सह–इन्चार्ज सागर मिजार भन्छन्– ‘जातिय विभेद बढ्दो क्रममा छ । यस्तोबेलामा यो विवाहले नयाँ सन्देश र समानता र छुवाछूतविरुद्ध लाग्नु पर्ने सन्देश दिएको छ ।’

विवाह समारोहमा संघीय सांसद रुक्मिणी बराइलीले दुलाहा–दुलहीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रगतिशील विवाहले समाजको समानता र मानवता ज्युँदो बनाउन सहयोग पुग्ने बताइन् । उनले यो आन्दोलन वर्तमान अवस्थामा समाजमा आवश्यकता रहेको बताइन् । विवाहको भिडमा भेटिएका ८० वर्षीय डल्ले मिजार भन्छन्– ‘यो धेरै राम्रो कुरा हो । यो हुनुपर्छ । ढिला भइसक्यो । संसार कहाँ पुगिसक्यो । मानिसहरु चन्द्रमामा आफ्नो अस्तित्व बचाउने कुरा गर्दैछन्, हामी अझै जातभातमा अल्झिरहेका छौँ ।’

रोजगारीको सिलसिलामा पोर्चुगल रहेका दुलहा उद्धव खतिवडाले आफ्नो दुईवर्ष अघिदेखिको प्रेम सम्बन्धलाई विवाह मार्फत पूर्णता दिने निर्णय पारिवारिक सहमतिमै भएको समेत बताएका छन् । उनले विवाह समारोहमा पत्रकारहरुसँग कुराकानी गर्दै भने– ‘हामी बीचको दुई वर्षको प्रेम सम्बन्धलाई जीवन्त दिन यो निर्णय गरेका हौँ । हामी यहाँ को के जात जाति हौँ र सिर्फ मानव जातजाति हौँ । यो कुरामा मेरो परिवार प्रस्ट छ । म प्रस्ट छु ।’

नुवाकोट बेलकोट नगरपालिका ६ का २७ वर्षीय उद्धव खतिवडा बुवा इन्द्र बहादुर खतिवडा र आमा सीता खतिवडाका कान्छो छोरा हुन् ।

शुद्द सनातन वैदिक विधि प्रणामी धर्म मान्ने गरेको सरोज विसुङ्खे बेहुलीका जेठो दाइ हुन् । आफ्नी २५ वर्षीय बहिनी लक्ष्मी बिसङ्खेको विवाहमा सबै जिम्मेवारी सम्हालेका उनी भन्छन्– ‘दुई जाती बाहेक अर्काे जाती हुँदैन, एक लोग्ने मान्छे र अर्काे छोरी मान्छे । यहाँ हामी सबै एकै ठाउँबाट आएका हौँ र जाने ठाउँ पनि एउटै हो । यो कुरा मेरो बहिनी र ज्वाईले बुझ्नु भयो र अन्ततः यो सम्बन्ध कायम हुन पुग्यो । हामी खुशी छौँ ।’

यो चेतनाको युद्ध पनि हो । एकदिन अवश्य विजयको झण्डा जहीतही फरफराउने छ ।

एक पटक पढ्नुहोस