पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बुधबार उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलगायत ।तस्बिर ः प्रदिपराज वन्त / रासस
सेयर गर्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पु¥यागउनुपर्ने बताए ।
“स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री दाहालले भने । “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।”
स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए ।
सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री दाहालले भने,
“स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।”
प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उनको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए ।