काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच भेटघाट भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा भएको भेटवार्तामा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना आदान प्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्र संघीय मिसनमा सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताएका थिए ।
इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्र संघीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गरेका थिए ।भेटघाटको क्रममा उहाँहरू बिच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो ।
आइजीपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । आइजीपी कृष्ण मुर्ती समेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएको थियो ।
कृष्ण मुर्ती सहितको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।
