काभ्रे / निरन्तरको खबरदारीपछि महाभारत गाउँपालिकामा भएको ल्यापटप खरिद प्रकरणको छानविन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले छानविन समिति नै बनाएपछि न्याय पाउने आशा स्थानीय विद्यालयले गरेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले महाभारत गाउँपालिका कार्यालय शिक्षा शाखाद्वारा वितरण गरेको ल्यापटप प्रकरणमा अनिमिता भएको भन्दै छानविन समिति गठन गरेको छ ।
मिडिया दर्पण डटकमले महाभारत गापाको शिक्षा शाखाले विना टेण्डर लाखौंको मौखिक सम्झौता गरि ल्यापटप खरिद गरेर वितरण गरेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेपछि प्रशासन कार्यालयले छानविनको प्रकृया अघि बढाएको हो ।
लाखौंको घोटला र कमिशनको खेलमा गापाको शिक्षा शाखाबाट गरिएको मौखिक सम्झौतामा आधारमा ल्यापटप बाँडिएको थियो ।
त्यसरी बाँडिएको ल्यापटपको नक्कली बिल बनाई विद्यालयलाई दिएको भनि समाचार आएपछि समाचारको कटिङ र विलसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।उजुरी लगत्तै अख्तियार दुरुपयोग अनुशन्धानको समेत अधिकार पाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले छानविन समिति बनाएको हो ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले उजुरी लगत्तै कार्यालयको सहायक प्रशासकीय अधिकृत मिनराज थापाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको जानकारी दिए ।
उनका अनुसार छानविन समितिमा शिक्षा समन्वय इकाई र प्रहरीको प्रतिनिधि समेत रहेका छन् । तत्कालै सम्बन्धित कार्यालयमा नै पुगेर सो बिषयमा सत्य तथ्य बुझेर छिटोभन्दा चाडो छानबिन गरि यसका बारेमा प्रतिवेदन पेश गर्न निर्देशन दिईसकेका उल्लेख गरे ।
शिक्षा शाखा र सेन्ट्रल रिजन प्रालिको लेनदेन
कोभिडको समयमा विद्यार्थीलाई पठनपाठन गर्न सहजीकरण होस भनेर आएको अनुदान रकममा शिक्षा शाखाले बदमासी गरेको हो । बदमासी गर्न उसले काठमाडौको बागबजारमा रहेको सेन्ट्रल रिजन मल्टिप्रपोज प्रालिलाई रोज्यो । सहज रुपमा ल्यापटप उपलब्ध हुने भएपछि प्रालीले पनि मौखिक रुपमा सहमती गरेर ल्यापटप दिइहाल्यो ।
ल्यापटप खरिद गर्न मौखिक सम्झौता गरि विद्यालयको नाममा नक्कली बिल पेश गरेको छ । उक्त कम्पनीका प्रतिनिधि र शिक्षाशाखाका प्रतिनिधिको मिलोमतोमा विद्यालयको लाखौँ रकम हिनामिना भएको भन्दै प्रशासनमा उजुरी परेको हो । त्यसबारे मिडिया दर्पणले पटक–पटक प्रमाण सहित समाचार प्रकाशित गरिसकेको छ ।
गापाभरीका ५० वटा विद्यालयका लागि आएको अनुदान रकमबाट उक्त कम्पनीका प्रतिनिधि र शिक्षाशाखाका प्रतिनिधिले विद्यालयमा नपठाएको सामानको बिल पठाउदै प्रत्येक विद्यालयबाट ४१ हजारका दरले २० लाख भन्दा धेरै कमिसन खाएको पुष्टि हुन्छ । (सो बिल हामीसँग सुरक्षित छ) ।
सेन्ट्रल रिजन मल्टिप्रपोज प्रालीले आफ्नो कम्पनी भ्याटबिल काट्दै विद्यालयले नपाएको सामग्रीको ४१ हजार बढीको बिल बनाउदै उक्त कम्पनी र शिक्षा शाखाका प्रतिनिधिले लाखौं रकम खाएको बिलबाट स्पष्ट देखिन्छ ।विद्यालयलाई ८१ हजारको भरपाई र चेक लिई ल्यापटप मात्रै वितरण गरेर पछि बिल पेश गर्दा ल्यापटप सहित आठ प्रकारका सामानको बिल विद्यालयललाई दिएर लाखौंको भष्ट्रचार गरेको देखिन्छ ।
विद्यालयका प्रधानाध्यपकका अनुसार आफूहरुले एक थान मात्रै ल्यापटप पाएको तर पछि बिल माग्दा आठ थान सामग्रीको बिल दिएको बताए । ल्यापटप लगेको छ महिना सम्ममा पनि बिल माग्दा नदिएपछि अडिट गर्न सकिएन भनेपछि बल्ल शिक्ष ाशाखाबाट यस्तो सामाग्री नलगेको कम्पनीको बिल हामीले पाएको प्रअहरुको गुनासो छ ।
आफूले नलगेको र नपाएको सामानको बिल किन भन्दा उल्टै शिक्षाशाखाबाट धम्की आएको बताउदै आएका छन् । यसरी सामग्री एक थान र बिल आठ थानको आउँदा आफूहरु अचम्ममा परेको प्रअहरुको भनाई छ ।हामीले आफैले किन्ने भनेकोमा शिक्षा शाखामा कार्यरत जन्मराज शर्माले अन्त्य किन्न नपाउने भन्दै शाखाबाट नै ल्यापटप खरिद गर्नुपर्ने बाध्यता बनाएको प्रअहरुले बताए ।
हामीले कुनै कम्पनीको मान्छे चिन्दैन् पनि कम्पनीको मान्छे यहाँ आएको पनिछैन, सबै उहाँ शर्मासरले नै गरेको बताए । चेक पनि उहाँले नै भनेर हामीले सेन्ट्रल रिजन मल्टिप्रपोज प्रालीको नाममा ८१ हजारको चेक काटेको उनीहरुले बताए । कि त हामीलाई बिल अनुसार सामान चाहियो हैन भने हामीबाट असुलेको बिल भन्दा बढी ४१ हजार पैसा फिर्ता चाहियो भन्ने हाम्रो माग रहेको छ प्रअहरुले भने ।
