काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौ विश्वािद्यलाय (केयू)ले काठमाडौमा ‘हिमालयन यूनिभर्सिटी कन्सोर्टियम–रिट्रिट’ गर्ने भएको छ । बुधबार र विहीबार आयोजना गरिएको उक्त रिट्रिटमा हिन्दूकुश–हिमालयन क्षेत्रका विश्वविद्यालयहरुबीच समन्वय र संवादलाई सुदृढ बनाउने लक्ष्य लिइएको जनाइएको छ ।
आज केयूमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रममा ७०भन्दा बढी अन्तर्राष्ट्रिय अतिथि सहभागी हुने जानकारी दिइयो । जसमा ३० जना उपकुलपति तथा विभिन्न उच्च शिक्षण संस्थाका प्रमुख रहने विश्वविद्यालयमा प्रवक्ता डा उद्धव प्याकुरेलले जानकारी दिए । उनका अनुसार थाइल्यान्ड, म्यानमार, बङ्गलादेश, चीन, भारत र भुटानलगायतका देशका विश्वविद्यालयबाट सहभागीता रहने कार्यक्रममा दश देशका राजदूत तथा कूटनीतिज्ञकोसमेत उपस्थिति रहनेछ ।
कार्यक्रममा सहभागीले भविष्यका लागि मार्गचित्र तयार गर्न तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सन्दर्भमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन सुनिश्चित गर्ने विषयमा सहकार्य गर्ने जनाइएको छ ।कन्सोर्टियममा आवद्ध हुन इच्छुक शैक्षिक संस्थाका प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा सातवटा प्राविधिक सत्रमार्फत हिन्दुकुश–हिमालय क्षेत्रका प्रमुख मुद्दाहरूमा छलफल हुने केयूका उपकुलपति प्राडा अच्यूतप्रसाद वाग्लेले जानकारी दिए ।
जसमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन, बहुपक्षीय शैक्षिक तथा अनुसन्धान सहकार्य, हिमालयन युनिभर्सिटी कन्सोर्टियमको अन्तर्राष्ट्रिय पहिचान सुदृढीकरण, वार्षिक कार्ययोजना तथा क्षेत्रीय सहकार्यका लागि उपकुलपतिहरुको फोरम स्थापना जस्ता विषयहरू समावेश गरिएको वाग्लेले बताए ।
यसैगरि बाह्र विषयगत क्षेत्रमा केन्द्रित छलफलमा फुड–एनर्जी–वाटर नेक्सस, क्रायोस्फियर र समाज, विपद् जोखिम व्यवस्थापन, परम्परागत तथा आदिवासी ज्ञान प्रणाली, जलवायु परिवर्तन र कार्बन न्यूट्रालिटी, पर्वतीय कृषि, हरित अर्थतन्त्रलगायतका विषय समेटिएको जनाइएको छ ।
रिट्रिटमा छलफल हुने विषयहरूले विकासोन्मुख विश्वभर ज्ञानमा आधारित साझेदारी विस्तार गर्दै आगामी केही दशकमा शैक्षिक संस्थागत क्षेत्रले सामना गर्ने प्रमुख चुनौतीलाई सम्बोधन गर्ने विश्वास लिइएको वाग्लेले बताउनुभयो ।
कार्यक्रमको अन्तिम दिन ‘काठमाडौं घोषणापत्र’ निर्माण गरी कार्यक्रम समापन हुनेछ । सन् २००७ मा स्थापित हिमालयन युनिभर्सिटी कन्सोर्टियम हिन्दुकुश–हिमालय क्षेत्रका १०७ सदस्य विश्वविद्यालयको साझ मञ्च हो । कन्सोर्टियमको सचिवालय गत वर्षको डिसेम्बरमा केयूलाई हस्तान्तरण गरिएको थियो ।
