तथ्यांक विश्लेषण : मुटु, रक्तचाप र क्षयरोगका बिरामी कोरोनाको उच्च जोखिममा

वि.सं. २०४२ सालदेखि ४ वर्षसम्म जनकपुरमा मेयर बनेका कृष्ण गिरीको साउन २८ गते कोरोनाबाट मृत्यु भयो । जनकपुरमा आफ्नै निवासमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको थियो ।

तीन सातादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरीलाई एक सातादेखि भेन्टिलेटरमा उपचार गराउँदै आइएको थियो । उनी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए ।

त्यस्तै, साउन २८ गते नै धादिङका एक ३२ वर्षीय युवकको काठमाडौंको ह्याम्स अस्पतालमा निधन भयो । क्षयरोगका बिरामी धादिङको धुवाँकोटदेखि धादिङबेसीसम्म बोलेरो चलाउने गर्थे । उनलाई ज्वरो र रुघाखोकी लागेपछि नजिकैको स्वास्थ्य चौकी, जिल्ला अस्पताल हुँदै काठमाडौंसम्म आइसकेपछि उनको निधन भयो । पछि रिपोर्टले उनमा कोरोना संक्रमण देखायो ।

पेटको समस्या लिएर ओम अस्पताल पुगेकी ७२ वर्षीया एक महिलाको साउन २२ गते ज्यान गयो । धनुषा स्थायी घर भएकी ती महिलामा दम, हाइपोथाइरोडिजम र उच्च रक्तचापको समस्या थियो । ती मृतक महिलाको पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

जेठ ३ गते धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्युसँगै सुरु भएको कोरोनाबाट हुने मृत्युको आँकडाले साउनको अन्तिमसम्म आइपुग्दा १०० टेक्न लागिसकेको छ । अनियन्त्रित रूपमा भारतबाट आउने नेपाली र उद्धार उडानमार्फत ल्याइएका नेपालीबाट फैलिएको कोरोनाले यतिबेला भुसको आगो जसरी समुदायमा गाँजेको छ । बुधबार एकैदिन देशभर ११ जनाको ज्यान गयो । यो संख्या बिहीबार कम भयो । यद्यपि त्रास भने घटिसकेको छैन ।

विश्वमा कोरोना भाइरसको महामारी सुरु भएको झण्डै ५ महिनासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा शून्य थियो । पछिल्लो ३ महिनाको आँकडाअनुसार मृतकको संख्या १०० नजिक पुगेको छ ।

कोरोना भाइरसका कारण मृत्यु भएकी पहिलो महिलामा कुनै पनि दीर्घ रोगको समस्या थिएन । उनी सुत्केरी थिइन् र नियमित अस्पताल जाँदा आउँदा कोरोना संक्रमण भएको भन्ने आशंका गरिएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पु¥याइएकी उनको उपचारकै क्रममा मृत्यु भयो भने पछि उनमा कोरोना रहेको पुष्टि भयो ।

दोस्रा संक्रमित बाँकेको नरैनापुरको क्वारेन्टिनमा बसेका २५ वर्षीय युवक हुन् । उनी भारतबाट आएर नरैनापुरको क्वारेन्टिनमा बसे पनि श्वासप्रश्वासमा समस्या आएपछि समयमा उपचार नपाएर उनको निधन भएको थियो । उनमा पनि दीर्घ रोगको समस्या भने नभएको बताइएको छ ।

त्यस्तै, कोरोनाका तेस्रा संक्रमित गुल्मीका ४१ वर्षीय पुरुष हुन् । एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या रहेका उनलाई श्वासप्रश्वास र झाडावान्ताको समस्या भएपछि अस्पताल लगिएको थियो । उपचारको क्रममा साउन ८ गते उनको निधन भएको हो ।

प्राप्त तथ्यांकअनुसार कोरोनाबाट मृत्यु भएका मृतक संख्यालाई विश्लेषण गर्दा मुटु, मधुमेह र क्षयरोगका बिरामीहरू यसको मुख्य समस्यामा छन् । कोरोनाका कारण मृत्यु भएकामध्ये करिब आधा कोरोना संक्रमितमा दीर्घ रोग भए÷नभएको उल्लेख छैन । बिहीबारसम्मको कुल ९५ जना कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये ५३ जनामा दीर्घरोग भएको यकिन छैन ।

बाँकी दीर्घरोगबाट ग्रसितहरूमध्ये मृत्यु हुनेमा अधिकांशलाई मुटु, क्षयरोग र उच्च रक्तचापको समस्या देखिएको हो । यसबाहेक कोही मृगौलाका बिरामी त कोही सुत्केरी छन् ।

जेठ ३२ गते मृत्यु भएका ३६ वर्षीय पुरुषलाई कुनै पनि लक्षणविना नै उनको निधन भयो । उपल्लो तम्घासको आइसोलेसनमा बसेका उनी गुल्मी स्थायी घर भएका व्यक्ति हुन् । उनी आन्द्राको क्यान्सरबाट पीडित थिए ।

त्यस्तै, असार ६ गते निधन भएका गुल्मीकै ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखियो । उनलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थिएन । उनी प्यारालाइसिसका बिरामी हुन् भने उनी होम क्वारेन्टिनमा नै बस्दा उनको निधन भएको हो ।

साउन २३ गते मृत्यु भएकी रुपन्देहीकी ४१ वर्षीया महिला पाठेघरको क्यान्सरबाट पीडित थिइन् । उनलाई निमोनियाको समस्या देखिएपछि उपचारको लागि पाटन अस्पताल ललितपुरमा ल्याएपछि उनको उपचारको क्रममा निधन भएको हो ।

त्यस्तै, साउन २७ गते प्लाज्मा थेरापीबाट उपचार गरेका कीर्तिपुर ट्यांलाफाँटका एक वृद्धको पनि निधन भएको छ । यसरी नेपालमा मृत्य भएकामध्ये आधामा पहिचान भएको दीर्घरोगमध्ये पनि अधिकांश मुटु, मृगौला र उच्च रक्तचापका बिरामी रहेको पाइएको छ भने एकाध मान्छे मात्रै अन्य रोगले ग्रसितको मृत्यस भएको तथ्यांकले देखाएको छ ।

एक पटक पढ्नुहोस